१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

झगडा गर्ने किताब–कापी

बिष्णुमाया सिग्देल 

वैशाखको ४ गते। शनिबारको दिन। रीता आइतबारदेखि दुई कक्षामा जाँदैथिइन्। रीताले दुई कक्षाको नयाँ किताब र कापी पनि पाइसकेकी थिइन्। नयाँ किताब, कापी पाएपछि उनी फुरुङ्ग थिईन्। छिमेकका साथीलाई बोलाएर नयाँ किताब देखाउँथिन्। रीताको खुसीको सीमा थिएन। चित्र हेर्दै अनि कथा कविताका शीर्षक भन्दै रमाउँथिन् रीता। अनि कथा पल्टाएर जानीनजानी आफैं पढ्ने कोसिस गर्दैथिइन्। छोरी रमाउँदा उसका आमाबाबा निक्कै खुसी थिए।  

छोरीले उसका साथीहरूसँग आफ्ना कुरा राम्रोसँग भनेको सुनेर उनका बाबुआमाले रीता निकै चलाख छ भन्नुहुन्थ्यो। ‘एक कक्षा चढ्दा पनि कति धेरै खुसी छे है हाम्री छोरी !’ आमाले रीतालाई काखमा लिँदै भन्नुभयो। 

‘नानी तिमी त निक्कै ज्ञानी छौ। किताबकापी जतन गर्नुपर्छ है ?’ भन्दै आमाले रीतालाई सम्झाउनुभयो। अनि आमा आफैंले रीताको नयाँ किताब र कापीमा गाता हालिदिनुभयो। अनि किताबको गातामा स्पाइडर–म्यानको स्टिकर पनि टाँसिदिनुभयो। अनि राम्रा अक्षरमा रीताको नाम पनि लेखिदिनुभयो।

हिजो मात्र किनेको नयाँ स्पाइडर–म्यानको झोलामा किताब, कापी, कलम, इरेजर लगायत सबै सामान राखेर रीता साथीहरूसँग खेल्न गइन्। साथीहरूसँग केहीबेर खेलिन्। खेलिसकेपछि रीताले साथीहरूसँग भनिन्, ‘भोलि कति बेला स्कुल जाने होला ? के खाजा लैजाने होला ?’ यति भनेर रीता दौडिँदै घर आइन्। छिटोछिटो हातगोडा धोएर आफैं पढ्ने कोठामा गइन्।

‘आमा म त फेरि पढ्छु।’ भन्दै फेरि मन परेको झोला खोल्न लागिन्। झोला खोल्नै लाग्दा एक्कासी कुराकानी गरेको पो आवाज आयो। 
‘कताबाट आवाज आयो ?’ भन्दै रीताले यताउता हेरिन्। तर त्यहाँ त कोही पनि थिएन। केहीबेरमा त फेरि चर्काे आवाजमा कराएको आवाज आयो। अहिले त उनले आफ्नै झोलाबाट आवाज आएको थाहा पाइन्।  उनी छक्क परिन्। अनि अलिअलि डराइन् पनि। 

‘कताबाट आवाज आयो ?’ भन्दै रीताले यताउता हेरिन्। तर त्यहाँ त कोही पनि थिएन। केहीबेरमा त फेरि चर्काे आवाजमा कराएको आवाज आयो।

किताब पनि आफै बोल्छ त ? किताब त  लिभिङ थिङ्स होईन। कसरी बोल्यो त किताब ? भन्दै सोच्दै थिइन्। यसो झोला खोलेर हेरेको त झोलाभित्रका किताब र कापी पो बोलेका रहेछन्। रीता छक्क परिन्। किताब र कापी ‘को ठूलो ?’ भन्दै झगडा पो गर्दै रहेछन्। रीता सतर्क भइन्। केहीबेर नबोलीकन उनीहरूको झगडा सुनिरहिन्। 

‘मभित्र त चित्र हुन्छ। मलाई धेरै पढेका मान्छेले लेख्छन् अनि किताब पढ्ने मान्छे ज्ञानी बन्छ।’ भन्दै आफ्नो तारिफ आफैं गर्दै थियो किताब। त्यसपछि कापीले बोल्यो, ‘किताबमा लेख्नै मिल्दैन, आफूले जानेका कुरा कापीमा लेख्छन्। त्यसैले तँभन्दा त मै ठूलो हुँ।’

नबोल्ने किताब बोलेकोमाभन्दा पनि अब किताब र कापीको कुरा सुनेर रीताले मनमनै सोचिन्, ‘साँच्चिकै को ठूलो होला है ?’ यत्तिकैमा झोलाभित्रकै पेन्सिललाई पनि अगाडि बढेर बोल्न मन लाग्यो। पेन्सिलले भन्यो, ‘तिमी दुईभन्दा त म नै ठूलो हुँ, तिमीहरूलाई मान्छेले च्यातेर फाल्छन् तर मलाई कसैले च्यात्न सक्दैन।’ 

‘किताबमा होस् वा कापीमा म नभई कसले लेखिदिन्छ र ? म नभई हुँदैन।’ कलमले घमण्ड गर्दै भन्यो। उनीहरूको कुरामा फेरि इरेजरले असहमति जनाउँदै भन्यो ‘हैन हैन, तिमीहरू कोही पनि ठूला छैनौ। धेरै फूर्ति नगरओ।’ इरेजरले अगाडि सरेर भन्यो, ‘मैले त तिमीहरूले कापीमा राम्रा अक्षर पारेर लेखेका शब्दहरू सबै मेटाउन सक्छु।’ उसको कुरा सकिन नपाउँदै किताबले सबैलाई ठेल्दै अगाडि सरेर भन्यो ‘ल ल त्यसो भए मेरो अक्षर मेटाएर त देखाऊ न।’ त्यसपछि इरेजर लुसुक्क परेर बस्यो। 

फेरि कलमले हाहा गरेर ठुलो स्वरमा इरेजरलाई भन्यो ‘ल ल मैले मानेँ, तिमीले कापीमा लेखेका अक्षर त मेटाउन सक्छौ तर किताबका अक्षर त मेटाउन सक्दैनौँ नि। त्यसैले तिमीभन्दा त मै ठूलो हुँ नि।’

उसको कुरा सकिननपाउँदै फेरि कापीले भन्यो ‘कलम, इरेजर तिमीहरूलाई लेख्न तथा मेटाउन त मेरै आवश्यकता पर्छ हैन र ? मबिना तिमीहरूको के काम ?’ कापीले फुर्किँदै भन्यो। यसरी उनीहरूको झगडा निकै लम्बिन गयो। कहिले उनीहरू थाक्लान् र मेरो कुरा भनुँला भनेर रीताले कुरेर कसैलाई पनि केही नभनी बसेकी थिइन्। तर उनीहरूको झगडा सकिने कुनै लक्षण नदेखेपछि रीताले डराउँदै आमाबाबालाई यो कुरा सुनाउन गइन्। तर बाबाआमा घरमा हुनुहुँदैनथियो। उनी फर्केर आइन् र बिस्तारै झोला खोलेर किताब, कापी, कलम, इरेजर सबैलाई झोलाबाट बाहिर निकालेर भुईँमा राखिन्। अनि भनिन्, ‘हेर तिमीहरू सबै जना आआफ्नो ठाउँमा ठूला छौ। तिमीहरू थप झगडा नगर। मिलेर बस।’

‘तिमीहरूलाई जतन गर्ने काम, किताब पढ्ने अनि लेख्ने काम त मेरो हो। म तिमीहरू सबैलाई माया गर्छु अनि जतन पनि गर्छु।’ रीताले सम्झाइन्। रीताले चारै जनालाई हात मिलाउन लगाइन् र भनिन्, ‘तिमीहरू सबै मेरा साथी हौ र म तिमीहरूकी साथी हुँँ।’ तिमीहरूकै सहयोगले मानिस ठूला र असल मान्छे बनेका छन्। यदि तिमीहरूले मलाई पनि सहयोग ग¥यौ भने म पनि पछि ठूलो मान्छे बन्नेछु। यसरी तिमीहरूले झगडा गरेर मलाई सहयोग गरेनौ भने त म ठूलो मान्छे बन्न सक्दिनँ। त्यसैले तिमीहरू झगडा नगरेर मानिसलाई सहयोग गर्ने गर। तिमीहरूलाई सबै मानिसले  सम्मान गर्नेछन्।’

उनको यो भनाइ सुनेपछि सबै जनाले एकआपसमा हेराहेर गरे । रीताको कुरामा राजी पनि भए। अनि रीताले किताब, कापी, पेन्सिल, इरेजर सबैलाई झोलामा राखिन्। यत्तिकैमा रीताको आमाले बोलाउनुभयो, ‘रीता, खाना खाने बेला भयो। बाबालाई पनि बोलाएर खाना खान आऊ।’ बाबाआमासँग खाना खाइन् रीताले। अनि भोलिपल्ट स्कुल जानुपर्छ भन्दै चाँडै सुत्न गइन्। रीता ओछ्यानमा पल्टेर भोलि साथीहरूलाई ‘बिदामा पोखरा घुम्न गएको कुरा पनि सुनाउँछु’ भन्ने सोच्दासोच्दै भुसुक्कै निदाइन्।

प्रकाशित: १२ माघ २०७५ ०६:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App