१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

पूर्वमा आत्मीय होमस्टे

घाम बादलभित्र लुक्ने तर्खरमा थियो। सिरसिर चिसो वतास चल्दै थियो। हामी कन्याम चियाबगान घुमिवरी सिद्धीखोलबाट करिब ९ किमि हिँडेर ३ बजेतिर पुग्यौं इलामको श्री अन्तुडाँडा (१,७०० मिटर)। चिटिक्क घर, सफा आँगन, आँगनभरि ढकमक्क फूल। पुग्ने वित्तिकै घरभेटी दिदीले खादा ओढाइदिनु भयो। निधारमा रातो टिका र हातमा फूलका गुच्छा दिएर न्यानो स्वागत गर्नुभयो। अनि गोलाकारमा हामी सबैलाई बस्न लगाउनु भयो र छिनमै तातो पानी पिउन दिनुभयो। चिसो भएको मन र शरीरलाई अन्तु होमस्टेको आतिथ्यताले न्यानो बनाइदियो। होमस्टेमा यस्तै माया, आत्मीयता र सत्कार पाइन्छ।  

त्यसो त यो मेरो पहिलो होमस्टे पर्यटनको अनुभव होइन, सिरुबारी, घलेगाउँ, भुजुङ, काभ्रेको कामीडाँडा जस्ता होमस्टेमा बास बसिसकेकी छु। स्याङ्जाको सिरुबारी गाउँबाट सुरु भएको होमस्टे पर्यटनको अभ्यास आज चारैतिर गरिंदैछ। यसले आन्तरिक पर्यटन विकासमा टेवा पुर्‍याउनुका साथै रोजगारीको अबसर सृजना गरेर गाउँलाई आर्थिक रुपमा सबल बनाउन मद्धत पुर्‍याएको देखिन्छ।  

ग्रामीण पर्यटन विकासको एउटा आधारस्तम्भ हो होमस्टे। नेपालमा ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङको परिकल्पना एवं अगुवाईमा होमस्टे सहितको गाउँ पर्यटन सुरु भएको इतिहास छ। भारतीय सेनाका रिटायर्ड क्याप्टेन गुरुङले विसं २०२५ सालतिरै ग्रामीण पर्यटनको सपना देखेका थिए। उनी सेनाबाट रिटायर्ड भएर गाउँ फर्केको केही वर्षपछि विसं २०५४ असोजदेखि सिरुबारीमा होमस्टे सुविधासहित गाउँ पर्यटनको औपचारिक सुरुवात गरिएको थियो।

ग्रामीण पर्यटनका पिता क्याप्टेन रुद्रमान गुरुङले स्याङ्जाको सिरुबारीबाट शुभारम्भ गरेको होमस्टे पर्यटनको लहर देशभर छाएको छ । पूर्वी नेपालको इलाम र ताप्लेजुङका होमस्टे पनि आत्मीय वातावरण र मिठो खानाका कारण प्रख्यात छन् । 

होमस्टेमा पाहुनालाई परिवारकै सदस्यजस्तै गरी राखिन्छ। आफ्नै चुलोमा पाकेका खानेकुरा खुवाइन्छ। विशेषतः अर्गानिक खाना र खाजामा जोड दिइन्छ। घरमा गाउँले संस्कृति र जीवनशैले हेर्दै बस्न पाइन्छ। अर्को कुरा होटलमा भन्दा सस्तोमा खाना र बास सुविधा पाइन्छ। त्यतिमात्र होइन, आत्मीयता र प्रेमपूर्ण व्यवहार पनि होमस्टेका प्रमुख विशेषता हुन्।  पारिवारिक वातावरण, आत्मीय व्यवहार र मिठो मुस्कानले सहरका ठूल–ठूला होटलमा भन्दा गाउँका होमस्टेमा पर्यटक खुसी हुन्छन्। साथै होमस्टेमा गाउँले जीवनशैली, परम्परा र संस्कृतिको ज्ञान मिल्छ। लोकल परिकारमा रमाउन सकिन्छ।

हामीले अन्तुडाँडा होमस्टेमा पनि यस्तै आत्मीयता र माया पायौं। विशेषतः चियाबगान र सूर्योदय हेर्न आन्तरिक र वाह्य पर्यटक अन्तुमा पुग्छन्। त्यसो त इलाम सम्झनेवित्तिकै आँखामा चिया बगान नाच्न थाल्छ। हरेक बर्ष चिया बगान हेर्न हजारौं पर्यटक इलाम पुग्छन्। भिरालो जमिनमा चियाका बुटा आकर्षक देखिन्छन्। हरिया बगान, आकर्षक सूर्योदय, भुप्पाझुप्पा अलैची, अम्रिसो। नीलो आकाश र झलमल्ल हिमालको सौन्दर्यले मोहित तुल्याउँछ।
इलाम ७ ‘अ’ का कारण प्रख्यात छ–आलु, ओलन (दूध), अम्रिसो, अलैंची, अर्थोडक्स चिया, अदुवा र अकबरे खुर्सानी।
झापाको चारआलीदेखि उकालो नलाग्दै चिया बगान देखिन थाल्छ। कन्यामको बगान पनि चित्ताकर्षक देखिन्छ। बगानको बीचबाट नागबेली सडक छ। त्यहाँ पुग्नेवित्तिकै यात्रुहरु चियाबारीमा फोटा खिच्न हतारिन्छन्।

आँखाले भ्याएसम्म चियाबारी। हाम्रो करेसाबारीमा हरियो सागसब्जी देख्न सकिन्छ तर, अचम्म इलामको घरआँगनदेखि करेसाबारीसम्मै चियाकै बुटा देखिन्छन्। हेर्दै रमाइलो ! इलामबाट चिया कोशेली त छँदैछ, त्यसका अलावा ललिपप, बम्बैसन, छुर्पी र अकवरे खुर्सानी ल्याउन सकिन्छ। पछिल्लो समय इलामका विभिन्न गाउँमा होमस्टे सुविधा सञ्चालनमा छन्। गाउँलेको मिठो मुस्कान र प्रेमपूर्ण वातावरण पाउँदा पर्यटक रमाउँछन्। जाँगरिला इलामेली होमस्टेबाट आय आर्जन गर्दैछन्। यहाँ पूर्वका केही होमस्टेको चर्चा गरिएको छ।  

अन्तु डाँडा
सुन्दर हिलस्टेशन हो अन्तुडाँडा। सूर्योदय र सूर्यास्त हेर्न  कहलिएको डाँडाको भ्यू टावरबाट मनमोहक दृश्य देखिन्छ। सूर्योदय हेर्न बिहानै डाँडामा चढ्नु पर्छ। सल्लाका रुखहरु बीचको बाटोमा टर्च लाइटको सहारामा हिँड्नु पर्छ। प्रायः युवा कलिलो सूर्यको स्वागत गर्न डाँडामा पुग्छन्। सूर्योदय नहुन्जेल व्यग्र प्रतिक्षामा हुन्छन्। भ्यू टावर चढ्न टिकट काट्नु पर्छ, एउटाको २५ रुपैयाँ। डाँडामा बिहान अस्थायी खाजा पसल खुल्छन्।

भ्यू टावरबाट चारैतिर राम्रो दृष्यावलोकन गर्न सकिन्छ। त्यहाँबाट मेचीदेखि टिष्टा नदीसम्म, तराईका फाँटदेखि सिलगढीसम्म देखिन्छ। अन्तु डाँडामा होमस्टे सुविधा छ। मिश्रित जातजातिको बसोबास भएको गाउँमा तामाङ, मगर, क्षेत्री, बाहुन, प्रधान आदिका गरी ४४ घरमा पाहुनालाई राखिन्छ। दश वर्ष भयो होमस्टे संचालन भएको। रातो टीका, फूलका गुच्छा र खादा ओढाएर पर्यटकको स्वागत गरिन्छ। बिदाईका बेला पनि टीका लगाइदिएर बिदाई गर्छन्।
मिजासिला छन् गाउँले। अर्गानिक लोकल खाना र खाजा खुवाउँछन्। होमस्टेमा सादा खानाको १५० रपैयाँ पर्छ भने तीन वटा बेड भएको कोठाको हजार रुपैयाँ। बेलुकी पर्यटकको माग अनुसार सांस्कृतिक कार्यक्रम देखाइन्छ। त्यसमा मगर, तामाङ र लेप्चाको संस्कृति पस्किइन्छ।

अन्तु डाँडाबाट इलाम, सन्दकपुर, मिरिक जान सकिन्छ। त्यसैगरी माइपोखरी पनि जान सकिन्छ। माइपोखरीमा पनि बास बस्न र खाना राम्रो सुविधा छ भने गाउँमै घुम्न चियाबगान, गाउँघर, गुफा, पाताल, पुूलखेली लगायत सम्पदा छन्। अन्तुबाट ३ किमीमा रहेको अन्तुपोखरी पनि घुम्न लायक छ। पोखरीमा डुँगा चढ्ने सुविधा छ। पोखरीमा सेता पानी हाँस डुबुल्कि मारेको हेर्दै चिया बगान घुम्न सकिन्छ। पोखरी वरपर खाजा पसल छन्। गाउँको मुख्य कोसेली चिया। त्यसबाहेक कोदो, फापर, मकै, गुन्द्रुक आदि किन्न पाइन्छ।

डाँडामा पिकनिक खान आउनेको पनि भिड लाग्छ। मेची राजमार्गको फिक्कलबाट पूर्व १४ किमीमा पर्ने अन्तु गाउँसम्म गाडी पुग्छ। तर पदयात्रा गर्दै जाँदा धेरै कुराको ज्ञान पाउन सकिन्छ।

बालन गाउँ
इलाम बजारबाट १५ मिनेट पदयात्रामै पश्चिमपट्टिको बालन गाउँमा पुग्न सकिन्छ। होमस्टेमा पर्यटकलाई फूलमालाले स्वागत गरिन्छ। पर्यटकहरु गाउँलेको जाँगर, आतिथ्यता र सत्कार देखेर दंग पर्छन्। होमस्टेका उपाध्यक्ष ध्रुब श्रेष्ठका अनुसार गाउँमा नेवार र लिम्बु समुदायको बसोबास छ। सय घर धुरी भएको गाउँमा नेवार र लिम्बुका दश–दश घरमा होमस्टे सुविधा छ। एकै पटकमा सय जनासम्म पर्यटक बस्न सक्छन्।
होमस्टेमा गाउँकै लोकल खानेकुरा पस्किन्छन् गाउँले। बालन गाउँको मेनु अनुसार सादा खानाको ११० रुपैयाँ, नास्ता (मकै, भट्मास र गुन्द्रुक, फापरको रोटी)को ६० रुपैयाँ र बेडेका १५० रुपैयाँ पर्छ।
गाउँको मुख्य आकर्षण चियाबारी नै हो। त्यहाँ सेतिदेवी  मन्दिर र भालु ढुंगा हेर्न सकिन्छ। भालुढुंगामा वनभोज खाने सुविधा छ। गाउँको मुख्य कोशेलीमा पराल र मकैको चोयाले बुनेको ढकी, चिया र गुन्द्रुक, मकै, कोदो लगायत खाद्यान्न पर्छन्।

गुम्बा डाँडा
स–साना चिटिक्क घरहरु, घरको टुँडालमा मकैका माला झुन्डाइएका, आँगनमा रंगविरंगका फूल। ताप्लेजुङको सदरमुकाम फुङलिङ बजारबाट ४ किमी पूर्वमा पर्ने गुम्बाडाँडा सुन्दर छ। गाउँमा रहेको गुम्बाकै नामले समग्र गाउँको नाम गुम्बाडाँडा रहेको हो। प्रख्यात धार्मिक पर्यटकीयस्थल पाथीभराको फेदमा पर्ने गाउँ प्राकृतिक हिसाबले समेत सुन्दर छ। गाउँमा गुरुङ समुदायको बसोबास छ।

होमस्टेकी अध्यक्ष पूर्णकुमारी गुरुङका अनुसार ६ बर्ष भयो गाउँमा होमस्टे सञ्चालन भएको। गुरुङका १० घरमा होमस्टे सुविधा छ। आमा समूहको पहलमा खोलिएको होम स्टेमा पर्यटक आउने वित्तिकै गाउँका घरमा बाँडेर राखिन्छ। उनीहरु टीका र फूलले पर्यटकको स्वागत गर्छन्। जाने बेलामा माला लगाएर बिदाई गर्छन्। गाउँ आफैंमा सुन्दर छ। अझ उनीहरुको मुस्कान र निस्वार्थ प्रेमले भावुक बनाउँछ। सहरका तारे होटलमा कहाँ पाइन्छ र यस्तो माया ?  

गाउँ (१७००मिटर)मा स्वच्छ वातावरण छ। गुरुङ रहनसहन, संस्कृति अवलोकन गर्न सकिन्छ। त्यहाँ एउटा गुरुङ संग्रहालय पनि छ जहाँ उनीहरुका भेषभुषा, भाँडावर्तन, हतियार आदि संग्रहित छन्। पाथीभरा जाने मुख्य बाटोमा र कञ्चनजंघा पदमार्ग नजिकै पर्ने गुम्बाडाँडाको राम्रो प्रचार भैसकेको छैन। यसलाई अझ व्यवस्थित बनाएर राम्रो मार्केटिङ गर्न सके गाउँमा चहलपहल बढाउन सकिन्छ।

गाउँबाट ४ किमि माथि पाथीभराको प्रबेशद्धार सुकेटार छ। त्यहाँ विमानस्थल पनि छ जुन हाल चल्दैन। गुम्बाडाँडामा घुम्नका लागि महादेव थान, खुल्ला खेतबाली, सुकेटार विमानस्थल र म्युजियम छन्। गाउँको कोसेलीमा भेडाको उनबाट बुनिएका राडीपाखी, मौसम अनुसारका फलहरु, सागसव्जी, गुन्द्रुक आदि हुन्। मोटर बाटो गाउँसम्मै खुृलेको छ।

यसबाहेक इलाममा अरु होमस्टे पनि छन्। चोयाटारमा सामुदायिक वनले रेड पान्डा होमस्टे सञ्चालन गरिरहेको छ। त्यहाँका १० घरमा होमस्टे गराइन्छ। त्यस्तै समालबुङ गाउँमा लोपोन्मुख लेप्चा समुदायमा पनि होमस्टे सुविधा छ।
होमस्टेले गाउँलेलाई स्वरोजगार बनाउन, आफ्नै देशमा मिहिनेत गर्न सघाउ पुर्‍याउँछन्। स्थानीय परम्परा, संस्कृति, प्रकृति र जीवनशैली बुझ्न एवं भुगोलको जानकारी लिन होमस्टे उपयोगी छन्।  हाम्रो देश सानो भए पनि प्राकृतिक सौन्दर्यको खानी हो। प्रकृतिको यहि सौन्दर्य पस्केर पर्यटन विकास गर्ने लहर चलेको छ। पर्यटन विकास हुनु राम्रो हो। तर पर्यटनसँगै विकृति, व्यथिति र विसंगति भित्रिनु हुँदैन। पर्यटन स्वास्थ्यसँग जोडिएको हुनाले स्वस्थ पर्यटनको विकास गर्न सके गाउँ र पर्यटक दुबैका लागि लाभ हुन्छ।

पदयात्रा भनेकै स्वास्थ्यका लागि हिँड्नु हो। नयाँ ठाउँ घुम्नु र नयाँ नयाँ कुरा सिक्नु हो। मनपर्दो खाएर, मनपर्दो रुपमा हिँड्दा स्वास्थ्य लाभ पनि हुँदैन। त्यसैले पदयात्रा गर्दा सकेसम्म स्वास्थ्यबर्दक गाउँकै अर्गानिक खानेकुरा खाँदा स्वास्थ्यलाई पनि लाभ हुन्छ भने गाउँलेलाई पनि आर्थिक सहयोग पुग्छ। घुमफिरमा निस्कँदा गाउँको परम्परा र मौलिकतालाई ध्यान दिनु पर्छ। हामी हाम्रो पदयात्रामा स्वास्थ्यबर्दक खानेकुरा खान्छौ र अरुलाई पनि स्वास्थ्य ज्ञान बाँड्दै हिँड्छौं। यही क्रममा गएको कात्तिकमा हामी पूर्वको पाथीभरा पदयात्रामा निस्केका थियौं। हामी त बस्यौं पूर्वका होमस्टेहरुमा। पूर्वेलीहरु पाहुनाहरुलाई स्वागत गर्न तत्पर भएर बसेका छन्। जाने होइन त न्यानो आतिथ्यता ग्रहण गर्न ?

होमस्टेमा ध्यान दिऔं  
१. होमस्टे भनेकै एउटै घरमा परिवारझैं मिलेर बस्नु हो। त्यसैले आफ्नै परिवारमा जस्तै अनुशासित र मर्यादित भएर बस्ने।
२. ठिक समयमा सुत्ने र ठिक समयमा उठ्ने। आफ्नो  कृयाकलापले अरुलाई अप्ठेरो हुने काम नगर्ने।
३. सांस्कृतिक कार्यक्रम हेर्ने निहुँमा बेलुकी अबेरसम्म नबस्ने, नशाजन्य पदार्थ पिएर होहल्ला नगर्ने र गाउँलेलाई समस्या हुने कुनै काम नगर्ने।
४. आफु बसेको कोठा र बेड सफा राख्ने। फोहरहरु यत्र तत्र नफाल्ने।
५. होस्ट परिवारलाई भान्छाको काममा सहयोग गर्ने। गाउँको बारेमा कुरा गर्ने जसले गर्दा आत्मीयता बढाउँछ।
६. गाउँका पर्यटकीय सम्पदा घुम्ने। कुनै पनि कुरामा बादविबाद नगर्ने।
७. गाउँले परम्परा, कला र संस्कृतिको सम्मान गर्ने। मेनुमा उपलब्ध नभएका खानेकुरा डिमाण्ड नगर्ने।
८. फर्कदा गाउँमा जे पाइन्छ, कोसेली किनेर ल्याउने। यसले गर्दा गाउँको अर्थतन्त्रमा टेवा पुग्छ।
९. जुनसुकै होमस्टेमा जानु आगाडि खबर गरेर मात्र जाने। सकेसम्म घाम नडुब्दै गन्तव्यमा पुग्ने। खबर नगरी गएमा गाउँलेलाई समस्या पर्न सक्छ।

प्रकाशित: १२ माघ २०७५ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App