१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

चोभारका चराहरु

काशीराज भण्डारी
शनिबार त्यसै त बिदाको दिन, त्यो पनि कठ्याङग्रिने जाडो, बिहानै बर्ड कन्जरभेशन नेपाल (बिसिएन)ले चोभारदेखि टौदहसम्म हिउंँदे जलचराको गन्ति गर्न निमन्त्रणा गरेको थियो। चोभारस्थित जलविनायक  दर्शन गरेर गल्छीबाट दक्षिणतिर ३६ जनाको समूह बाग्मतीको तिरैतिर लाग्यौं। बिसिएनका अध्यक्ष राजेन्द्र गुरुङ, वरिष्ठ चरा विज्ञहरु विमल थापा, रमेश चौधरी र वन विज्ञानका विद्यार्थीहरु, बोर्डका सहकर्मी कविन्द्र लगायत हामी बाग्मतीको फोहर र गन्ध परवाह नगरि अघि बढ्यौं। नदीको पानी महानगरको घाउबाट निस्के जस्तै थियो, जैबिक, रासायनिक फोहर मिसिएको। त्यसैले कागको संख्या धेरै रहेछ।

जानकारहरु भन्छन, ‘धेरै कागको उपस्थिति प्रदुषणको द्योतक हो तर पनि एक जोडी चंचले संडसुंडे बाग्मतीको हरियो पानीमा नुहाइ रहेका थिए भने सेतो टिकटिके  पुच्छर तलमाथि गर्दै हामी नगरबासीले उत्सर्जन गरेको फोहरका डंगुर र लेदोमा जीवन खोज्न बाध्य थिए। मंगोलियाबाट जाडो छल्न आएको एउटा फिरन्ते गोमाँयु महाचील किनारको नांगो रुखमा टुक्रुक्क बसेको थियो र एउटा काग उक्त आगन्तुकलाई सताइरहेको थियो। नजिकैको ठुटामा एउटा कालो चील पनि बसेको थियो, राजेन्द्रजीले भन्नुभयो, ‘यसले गुँड बनाउन छेस्का जम्मा पार्दैछ, यसको ब्रिडिङ सिजन हो यो।’

दुरबिनबाट चरा नियाल्दै र गन्दै हामी अघि बढदै थियौ, अर्काे गोमाँयु महाचील विद्युत ट्रान्समिशनका लागि ठड्याइएको ठुलो पोलमा बसेको थियो तर यसलाई पनि एउटा कागले छाडेको थिएन। उड्दै गरेका बकुल्ला, नदी किनारको सुकेको डाँठमा माटिकोरे, साना रुखको हाँगामा जुरेली, झाडीमा झ्याप्सी, चुइंया  र अलि पर पुगेपछि तोप चराको बथान फेला पर्‍यो।  

जव हामी स्वतन्त्रताको कल्पना गर्छौं, तव खुला आकाशमा उडने चराको विम्ब दिमागमा तैरिन्छ । त्यसैले होला मनका उन्मुक्त भाव पोख्दा सर्जकहरु पनि प्रतिकका रुपमा चराकै सहारा लिन्छन् ।

चराको ब्यवहार र उनीहरुका रङ्गीविरङ्गी प्वाख, चुच्चोको बनाबट, पोथी आर्कषण गर्न भालेले गर्ने प्रर्दशनहरु पंक्षीका पारखीका लागि होस वा सामान्य अवलोकनकर्ताका लागि औधि रोचक विषय हुन्। भाले तोप चरामा ब्रिडिङ्ग सिजन शुरु भएपछि राम्रो, बलियो र आर्कषक गुँड बनाउने प्रतिस्पर्धा हुन्छ। जुन भालेले सर्वाेत्तम गुंँड बनाउँछ पोथी उसैसँग बस्छे। कुनैकुनै पोथीले त नराम्रो गुँड रहेछ भने भत्काई पनि दिन्छे। भाले मयुरले आफ्ना रंगिन प्वाँख फिँजाएर पोथीको अगाडि नाचेर उसलाई आर्कषित गर्छ। हामी यस्तै चराका रमाइला आनीबानी बारेमा चराको खोजमा रमाउने विज्ञका कुरा सुन्दै थियौं, हाम्रो अगाडिबाट एउटा सुन्दर झालेमाले चरा उडेर बाग्मती किनारको पाखो बारीको सानो बुटामा बस्यो। दुरबिनको लेन्स घुमाएर हेर्दा सेता र काला पँखेटा र पुच्छर भएको, पंखाजस्तै कल्की भएको सुन्दर फ्राप्रे चरा रहेछ। पाखाकै अर्काे रुखमा एक हुल तामे ढुकुर रहेछन्। एकजनाले ‘ऊ भद्राई’ भनेर दुरबिन सोझ्याए। मैले पनि राजेन्द्रजीसंग दुरबिन मागेर त्यतै सोझ्याएँ, तर सानो चरा भएकाले र रुख र पातको रंगसँग यसको रंग मिल्ने भएकाले धेरै मेहनत पछि मात्र मेरो दुरबीनको लेन्समा भद्राई कैद भयो। अन्य चराको नक्कल गर्न पोख्त र सिपालु भद्राईको चुच्चोले बच्चाहरुलाई खाना ख्वाएमा बच्चा टाठाबाठा हुन्छन भन्ने विश्वासले नेपालका केही भागमा यसको चुच्चोले भात खुवाउने चलन थियो।

हामी बागमती किनारैकिनार हिँड्दै थियौं, राजेन्द्रजीले इशाराले मलाई साउती गर्दै बोलाउनु भयो। दुरबिनबाट हेर्दा पारी किनारको बगरमा एउटा बेल्चाठुँडे हाँस एक्लै बसिरहेको देखियो। उत्तर एशियाको बर्फिलो हिउँद छल्न फिरन्ते चरा सयौको झुण्डमा दक्षिण एशियातिर बसाँई सर्छन्। यसरी आउने क्रममा यो चरा आफ्नो समूहबाट छुटेर टौदहमा आउन पुगेको हो। तर टौदह वरपर दिनभर अलि मानिसको चहलपहल भएकाले आफुलाई सुरक्षित लाग्ने यस स्थानमा बसेको छ र संभवत रातमा टौदहतिरै लाग्छ। गर्मी शुरु भएपछि फेरि उत्तरतिरै लाग्छ।  

हामी यस्तै गफ गर्दै चरा नियाल्दै तिरतिरै तलतिर लाग्यौं। चंचले संडसुंडे, माटिकोरे, हुटिट्याउँ चरा हेर्दै। अलि तल एउटा झोलुङ्गेपुल कटेपछि रमेश चौधरीले यहाँ दुर्लभ चरा राजपुत्रिका कहिलेकाँही देख्न सकिन्छ भनेकाले हामी आ–आफ्नो दुरबिन सोझ्याउँदै काठमाडौं महानगरको रछ्यान्रुपि बगर नियाल्दै अघि बढ्यौं। पारी बगरमा सुंडसुंडेसंगै एउटा फिस्टे राजपुत्रिका चर्दै रहेछ। राजेन्द्रजीको शक्तिशाली र महँगो स्वारोस्कि दुरबिनले हेर्दा पनि देख्न मुश्किल सेतो छाती भएको राजपुत्रिका चरा एकदम दुर्लभ मानिंदो रहेछ। खोयाहाँस र राजपुत्रिका चरा देख्न पाएकोमा सबै चरा पारखी दंग थिए नै म पनि चराको चरिचुच्चे ‘च’ नबुझ्ने मान्छे पुसको चिसो बिहानीमा मख्ख थिएँ।

राजपुत्रिकाको दर्शन पछि हामी बाग्मती किनार छाडेर टौदहतर्फ उक्लियौं। हिउँद छल्न न्यानो भुभागतिर बसाँई सर्ने फिरन्ते चराले विगतमा ढाकिने टौदहमा केही हाँस प्रजातिका चरा तैरिरहेका थिए। जलेवा डुबुल्कि मार्दै माछा खोजिरहेका थिए। यहाँ पनि हामीले माटिकोरे र जुरेली देख्यौं। तर अन्यत्र देखिने गाढा रंगको नभै खैरो। साथीहरुले हामीलाई सबै चराको नाम भन्दै गए। केहि वर्ष अगाडीसम्म दुई हजारसम्मको संख्यामा टौदहमा पोखरी नै ढाक्ने गरि जलपंक्षी पाइन्थे तर अचेल ५० वटा जति मात्र देखिन्छ।

टौदह वरिपरि स्टिलको रेलिङ र ढुंगा छापिएको छ। आन्तरिक पर्यटकका लागि यो स्थल राम्रो गन्तव्य बनेको छ। विमलजी र अन्य सहभागीको गन्तिले चोभारदेखि टौदहसम्म ३ किमि दूरीमा ६६ प्रजातीका फिरन्ते र रैथाने गरि ६५० भन्दा बढी संख्यामा चरा पाइयो। केहि वर्ष अघि गरिएको यस्तै चरा गणनाले प्रजातिको संख्या १५० भन्दा बढी देखाएको थियो। हामी मानिस ‘चरा जस्तै स्वच्छन्द हुन पाए, चरा जस्तै खुला आकाशमा उडन पाए’ आदि कल्पना गछौं। तर, जानेर या नजानेर किन यिनै प्रकृतिका सुन्दर सृजनाको बासस्थानमा धावा बोलिरहेका छौं ?

हुन त आर्थिक विकास र प्रकृतिको विनास बीचमा तादम्यता मिलाउने सहज विषय हैन र यसका लागि विश्वभर अनगिन्ती बहस र अनुसन्धान भइरहन्छन्। तथापि चोभार र टौदहका चराको हविगत हेर्दा भने स्थिती कहाली लाग्दो रहेछ। चरा लगायत अन्य जनावर र वातावरण संरक्षणमा स्थानीयको भूमिका बढी हुन्छ। जवसम्म हाम्रो जिविकोपार्जन र संरक्षण वास्तविक र पारस्परिक रुपमा जोडिँदैनन् तबसम्म संरक्षण कागजी, सभा, सम्मलेन, चर्का भाषण र आडम्बरे अभियानमा सिमित हुन्छन्। चेतनाको कमिले सानो छँदा साथीभाईसँग गुलेली लिएर डाँडापाखाका रुख र झाडी चहारेर ढुकुर, जुरेली, मलेवा, तित्रा मार्दै हिंडेकामा म अहिले पश्चाताप् गर्दैछु। चरा लोप हुँदै गइरहेको चुनौति कम गर्न अबको पिंढीलाई सचेत बनाउनै पर्छ। चोभारदेखि टौदहसम्म हिउँदे चराको गन्ति गर्न गएको हाम्रो टोलीले यही निष्कर्ष निकाल्यो।

प्रकाशित: १२ माघ २०७५ ०६:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App