१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

सगरमाथा सपना

वर्ष दिन अगाडि माघमा हरि बुढा मगरलाई ललितपुरस्थित उनकै घरमा भेट्दा अनुहार उदास थियो।  दुबै खुट्टा गुमे पनि सगरमाथा चुचुरो चुम्ने उनको सपना सरकारी नियमका कारण अन्यौलमा थियो।  सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०५९ संशोधन गरी दुई हात वा खुट्टा नभएको वा दुवै आँखाले देख्न नसक्नेलाई आरोहण अनुमतिमा रोक लगाएका कारण सन् २०१९ मा सगरमाथा चढ्ने योजना ‘पोष्टपोन्ड’ गर्दे उनी बेलायत लागेका थिए। 

यसपाली माघको पहिलो साता उनलाई जोरपाटीमा भेट्दा उनको अनुहार खुसीले धपक्कै बलेको थियो। सरकारले पर्वतारोहण सम्बन्धी नियमावली २०१८ को मार्च महिनामा  संशोधन गरेका कारण सगरमाथा चढ्ने उनको सपना अव पुरा हुने भएको छ। सरकारले नियम संसोधन गरेर बाटो खुला गरिदिएको समाचार उनले बेलायतमा थाहा पाएका थिए। लगत्तै उनी सन २०२० मा सगरमाथा चुम्ने योजनाका साथ तयारी गर्दे छन्।  ‘अव नयाँ उत्साहका साथ अभियानमा लागेको छु,’ उनले भने, ‘आवश्यक अभ्यास गरिरहेको छु।’ यहि क्रममा डिसम्बर अन्तिम साता १० दिन उनले लाङटाङ क्षेत्रमा बिताएर आएको सुनाए। त्यस क्रममा ५ हजार १ सय मिटरको जङला पासमा पुगेको उनले बताए। 

‘अप्रिलमा सगरमाथा बेस क्याम्पको योजना छ,’  उनले तयारी सुनाए, ‘जुन–जुलाईतिर यूरोपमा रहेका ४ हजार ८ सय १० मिटर अग्लो मन्ट ब्लक हिमाल चढ्ने योजना छ।’ त्यसैगरी सेप्टेम्बरमा नेपालमै ७ हजार मिटर अग्लो हिमाल चढ्ने योजना सुनाए उनले।  ‘सगरमाथा चढ्नु अघि आवश्यक पर्ने थुप्रै तयारी गरेको छु,’ उनले भने, ‘म खतरा मोल्न हैन सगरमाथा अपाङगता भएका मानिसले पनि चढ्न सक्छन भन्ने सन्देश दिन चढ्दै  छु।’ 

१९ वर्षको उमेरमा ब्रिटिस गोर्खा सेनामा भर्ती भएका उनले विभिन्न देशमा युद्धमा खटिनेक्रममा ३२ वर्षको उमेरमा  दुवै खुट्टा गुमाएका हुन्। सन् २०१० मा अफगानिस्तानमा विद्युतीय धरापमा परेपछि दुवै खुट्टा गुमाए।  कीर्तिमान राख्ने भन्दै हिमाल आरोहण गर्नेको संख्या बढ्न थालेपछि सुरक्षालाई ध्यानमा राखेर सरकारले ०७४ पुस दोस्रो साता मन्त्रिपरिषद् बैठकले शारीरिक अशक्तलाई हिमाल आरोहणमा बन्देज लगाउने निर्णय गर्‍यो। यही निर्णय त्यति बेला हरिका सामुन्ने  ‘विभेदको सगरमाथा’ बनेर तेर्सिएको थियो। तर  सरोकारवालासंग विभिन्न तहमा कुराकानी भएपछि सरकारले त्यो नियम संसोधन गर्‍यो। ‘अवरोधको एउटा सगरमाथा पार गरेको छु,’ उनले सुनाए, ‘अझै थुप्रै सगरमाथा पार गर्नु छ।’ 

‘म खतरा मोल्न हैन, अपाङगता भएका मानिसले पनि सगरमाथा चढ्न सक्छन् भन्ने सञ्देश दिन सगरमाथा आरोहण गर्ने योजनामा छु।’  –हरि बुढा मगर 

ताालिवान र अलकायदा विरुद्धको कारबाहीमा अमेरिका नेतृत्वको उत्तर एटलान्टिक सैनिक संगठन (नेटो) सैनिकका रुपमा सन् २०१० को अप्रिलमा अफगानिस्तान पुगेका बेला धरापमा परेर दुवै खुट्टा गुमाउँदा पनि जीवनप्रति निराश नदेखिएका उनी समस्या जीवनमा आउने जाने सुनाउँछन्।  ‘धेरै मान्छे दुर्घटनामा परे पनि जीवन सकिएको ठानेर उदास हुने गर्छन,’ उनले भने, ‘त्यसपछि पनि जीवन बाँकी छ भन्ने सन्देश दिन म सगरमाथा अभियानमा लागेको हुँ।’ 

सगरमाथा चढेरै सवै समस्या समाधान हुने नभए पनि यो प्रतिकका रुपमा संसारभरका आफुजस्ता मान्छेको  हौसला बढाउने काम हुने उनको बुझाई छ। सरकारले भनेजस्तै उनलाई पनि आफ्नो सुरक्षाको चिन्ता छ। हिमाल आरोहणका लागि सुरक्षा उपाय  अपनाउनुपर्नेमा उनी पनि सहमत छन् तर खुट्टा नभएकै कारण मात्र देखाएर आरोहणमा रोक लगाउनु त्यति बेला दुर्भाग्य भएको उनी बताउँछन्। 

जिन्दगीमा सजिलो त केही पनि नभएको ठान्ने उनले अप्ठेरालाई आफूअनुकूल ढाल्ने प्रयास गर्नुपर्ने उनले बताए। 
‘खुट्टा नभएकोमा अप्ठेरो त मलाई नै छ,’ उनले भने, ‘तर पनि हिमालको उकालो सजिलो भएको अनुभव मैले पनि गरेको छु।’ सगरमाथा चढेर परिवारसँगै बस्ने उनको योजना छ। उनले त्यसका लागि चाहिने आवश्यक सुरक्षाको तयारी पूरा गरिसकेको सुनाए।  आफूले लगाउने कृत्रिम खुट्टा नाम चलेको अन्तर्राष्ट्रिय कम्पनीले अघिल्लो बर्षनै निर्माण गरिसकेको जानकारी गराउँदै ढुक्कसाथ सगरमाथा चढ्न सक्षम रहेको सुनाए। 

सगरमाथा आरोहण गर्न ६ हजार मिटर अग्लो हिमाल चढ्नुपर्ने नियम पनि उनले अघिल्लो बर्षनै पुरा गरिसकेका छन्। कृष्ण थापा मगरको नेतृत्वमा सन् २०१७ को जनवरीमा स्कटल्याण्डमा सगरमाथा आरोहणका लागि थप तालिम लिएका उनले १९ सेप्टेम्बरमा ६ हजार ४ सय ७४ मिटर अग्लो म्यारापिक हिमाल सफल आरोहण गरिसकेका छन्।‘म्यारापिक हिमाल यात्रा निकै रोमाञ्चक थियो। त्यो हिमालको टुप्पोबाट मैले सपनाको सगरमाथा नजिकै भेटाइसकेको छु, म यसलाई फुत्कन दिनेछैन।’ 

त्यसबाहेक  सन् २०१६ मा गोसाइकुण्डमा रक क्लाइम्बिङ, आइस क्लाइम्बिङ र पिक क्लाइम्बिङ सफलतापूर्वक सम्पन्न गरेको उनले सुनाए। वसन्तमा सगरमाथा चढ्ने योजना बनाएका उनले अघिल्लो बर्ष राजधानी आएको समयमा हरिल े‘सरकारी निर्णयका कारण केही पर सर्नसक्ने बताएका थिए। ‘सरकारले मेरो सपनालाई लम्ब्याउन सक्छ,’त्यति बेला उनले भनेका थिए  ‘तर  सगरमाथा चढ्ने उत्साह घटाउन सक्दैन।’  सन २०१९को बसन्तमा सगरमाथा चढ्न्े उनको योजना एक बर्ष लम्बियो। तर सन २०२० को बसन्तमा भने सगरमाथामा खुसीको फूल फुलाउने उनको योजना भने संभवत पछि नसर्ने हरिबुढाको विश्वास छ । 

प्रकाशित: १२ माघ २०७५ ०३:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App