१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सुपथ पसलले दैनिक उपभोग्य वस्तु सस्तियो

काठमाडौं- सूपथ मूल्य पसलमा सस्तो मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री भएपछि खुला बजारमा केही सामानको भाउ सस्तिएको छ। सरकारी स्वामित्वका साल्ट ट्रेडिङ कर्पोरेसन (एसटिसी)ले चिनी, दाल, पिठो, तेललगायत दैनिक उपभोग्य वस्तु सस्तोमा बेचेपछि ती सामानको भाउ बजारमा केही सस्तो भएको छ।

यस क्रममा खुला बजारमा व्यापारीले किलोमै ७० रुपैयाँ नाफा खाएर सामान बेचेको तथ्य पनि बाहिर आएको छ। बजारमा २ सय ७० रुपैयाँ किलोमा बिक्री भएको रहरको दाल एसटिसीले २ सय रुपैयाँमै बिक्री गरेपछि व्यापारीले मूल्य घटाएर २ सय रुपैयाँ किलोमा झारेका छन्। बजारमा सरकारी नियन्त्रण नहुँदा व्यापारीले किलोमै ७० रुपैयाँ नाफा खाएर बिक्री गर्दै आएको रहस्य खुलेको छ।

सीमित व्यापारीले कार्टेलिङ गर्दै दालको मूल्य बढाएका थिए। दसैंतिहारमा उपभोक्तालाई सहुलियत दिन दाल खरिद गरेर बिक्री गर्ने व्यवस्था मिलाएको एसटिसीका विभागीय प्रबन्धक ब्रजेशकुमार झाले बताए। 'दाल, चिनीलगायत अन्य दैनिक उपभोग्य वस्तुमा छुट दिँदा तुलनात्मक रुपमा बजार नियन्त्रणमा आएको छ,' झाले भने, 'असन्तुलित बजारमा मूल्यवृद्धि रोक्न सहयोग पुगेको छ।'

एसटिसीले १ सय २० रुपैयाँको पिठो ८६ रुपैयाँमा बिक्री गर्न थालेको छ। सरकारको निर्देशनअनुसार चिनीमा प्रतिकिलो ५, नुनमा २ रुपैयाँ छुट दिने घोषणा गरेको एसटिसीले दैनिक उपभोग्य वस्तुमा छुट दिएपछि सुपथ मूल्य पसलबाट उपभोक्ताले राहत पाएका छन्।

एसटिसीले उपत्यकाका ११ स्थान र घुम्ती पसल सञ्चालन गरेर सामान बेच्दै आएको छ। असोज १ गतेदेखि सञ्चालन गरेको सूपथ मूल्य पसलमा दैनिक २० लाखको दैनिक उपभोग्य सामग्री बिक्री भएको एसटिसीकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठले बताइन्। 'चिनीलगायत दैनिक उपयोग्य वस्तुबाट सर्वसाधारणले फाइदा लिएका छन्,' श्रेष्ठले भनिन्, 'सरकारी स्वामित्वको संस्था भएकाले उपभोक्तालाई राहत दिन निकै थोरै नाफा राखेर बिक्री गरिरहेका छौं।' यस अवधिमा करिब ३ करोड ४० लाख रुपैयाँको सामान बिक्री भएको छ।

सरकारले अनुदान दिने भएपछि चिनी प्रतिकिलो ५ रुपैयाँ छुटमा ७९ रुपैयाँ किलो, नुन २ रुपैयाँ छुटसहित १६ रुपैयाँ किलोमा बिक्री गर्दै आएको छ। एसटिसीले ७९ रुपैयाँ किलोमा बिक्री गरिरहे पनि खुला बजारमा भने ८५ रुपैयाँ किलोमा बिक्री भइरहेको छ। खुला बजारमा पनि चिनी सस्तो होस भनेर एसटिसीको ५ हजार बोरा चिनी खुद्रा व्यापार संघमार्फत उपभोक्तासम्म पुर्‍याउने सरकारी तयारी छ। सोमध्ये १ हजार बोरा चिनी बजारमा गइसकेको छ।

असोज १ गतेदेखि उपत्यकाको रामशाहपथ, थापाथली, नक्खु, जावालाखेल, बल्खु, टेकु, कोटेश्वर, भक्तपुर सूर्यविनायक, बूढानीलकण्ठ नारायणस्थान, बौद्ध, सतुंगल, नयाँ बानेश्वर, कालीमाटीमा सुपथ मूल्य पसल सञ्चालित छन्। उपत्यका बाहिर काभ्रेपलाञ्चोक, झापा, विराटनगर, सुनसरी, सिरहा, मकवानपुर, चितवन, कास्की, बागलुङ, रुपन्देही, कैलाली, कपिलवस्तु, दाङ, सुर्खेत, नेपालगन्ज, धनगढी, महेन्द्रनगर, डोटी, डडेलधुरा, कञ्चनपुर, नुवाकोटमा पनि सम्बन्धित जिल्ला प्रशासन कार्यालयको सहयोगमा सुपथ मूल्य पसल सञ्चालन भएका छन्।

यता खुद्रा व्यापार संघले पनि सस्तोमा सामान बिक्री गर्न पहल भइरहेको जनाएको छ। यो वर्षको दसैंतिहारमा मूल्य वृद्धि नहुने संघका अध्यक्ष पवित्रकुमार बज्राचार्यले दाबी गरे। 'सूपथ मूल्य पसलले सकारात्मक सन्देश दिएको छ,' उनले भने, 'हाम्रै सक्रियतामा सकेसम्म सस्तोमा दैनिक उपभोग्य वस्तु उपलब्ध गराउन प्रयत्नशील छौं।' खाने तेलमा पनि १० रुपैयाँ मूल्य घटाएको उनले बताए।

कालोबजारी गरे कारबाही : आपूर्ति मन्त्रीबोहोरा

चाडवाडको बेला दैनिक उपभोग्य वस्तुमा चर्को मूल्य लिएर कालोबजारी गरे कारबाही गर्ने आपूर्ति मन्त्री दीपक बोहोराले चेतावनी दिएका छन्। सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा बोहोराले कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने गरी नयाँ कानुन ल्याउन लागेको बताए।

'उपभोक्ता लुट्ने, अनियमितता गर्ने र लाभको लागि अखाद्य वस्तु बेच्नेलाई हदैसम्मको कारबाही हुन्छ,' बोहोराले भने, 'उपभोक्ताको जीवनमा खेलबाड गर्नेलाई आर्थिक दण्ड गर्ने र ५ देखि २० वर्षसम्म जेल चलान गर्नेसम्मको नयाँ कानुन बन्दैछ।'

अहिलेको कानुन संशोधन गर्न लागेको उनले बताए। सरकारले बजार अनुगमनलाई तीव्रता दिएकाले दसैं–तिहारमा चामल, दाल, चिनी, नुन, तेललगायत अत्यावश्यक वस्तुको मूल्य वृद्धि नहुने बताए। 'दैनिक उपभोग्य वस्तुको भाउ बढ्न दिँदैनौं,' उनले भने, 'उपभोक्ता पनि सचेत हुन जरुरी छ।' सरकारले अखाद्य वस्तु नष्ट गर्ने अभियानमा पछिल्लो समय ३ करोड मूल्य बराबरको म्याद नाघेका वस्तु नष्ट गरिसकेकाले सरकार यो अभियानबाट पछि नहट्ने मन्त्री बोहोराले बताए।

प्रकाशित: १८ आश्विन २०७३ ०६:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App