राष्ट्रवादको सत्यार्थ

शुक्रबार, ११ माघ २०७५, १० : ०९ नागरिक

महाथिर महमद र लि–क्वान यु मलेसिया तथा सिंगापुुरलाई सुदृढ, स्वाभिमानी, सक्षम तथा ऐश्वर्यमय बनाउने राष्ट्रनायक ठहरिए। राष्ट्रबाट केही फाइदा लिने होइन, सकेजति राष्ट्रलाई नै दिनुपर्छ भन्ने प्रवल राष्ट्रवादी चेतना जागृत गराए उनीहरूले। ‘अप्प दीपो भवः’ (आफैँ दीपक बन) भनेका छन् भगवान बुद्धले। असल मानिसहरू निस्वार्थ, उदार, इमानदार तथा निर्माता बनेर राष्ट्रलाई बाटो देखाउँछन्। आफैँ ज्योति बन्छन्।

महाथिरको ‘द मले डाइलेमा’ पुस्तकमा कम्बोडियाका राजा नरोदम सिंहानुकको ‘माइ वार विथ द सिआइए’ (सिआइएसँग मेरो लडाईँ) पुस्तकमा झैँ मौन चित्कार, आर्तनाद, छट्पटी, पीडा र राष्ट्र बचाउने मार्गचित्रसहितको उत्कट तथा अदम्य अभिलाषा पाइन्छ। मलेसिया शब्द ‘मले’ बाट बनेको हो। हजारौँ वर्ष पुरानो मले संस्कृति विदेशी हस्तक्षेपका कारण क्षतविक्षत बनेको र राष्ट्रिय एकता धुलिसात भएको देखे महाथिरले। मले र आप्रवासी चिनियाँहरूको लामो द्वन्द्व पनि देखे। त्यसले उनलाई बेचैन बनायो।

ब्रिटेनबाट स्वाधीन भएपछि गैरमले समुदाय र रैथाने मलेहरू बाझ्न थाले। ‘मलाया’ जाने नेपालका थुप्रै लाहुरे अहिले वृद्ध भइसकेका छन्। उनीहरू भन्छन्– कहिले ब्रिटिसको शासन, कहिले जापानको दमन, कहिले चिनियाँको दादागिरी, कहिले आन्तरिक कचिंगल सबै भोगे मलेहरूले। भारतबाट अंग्रेज (ब्रिटिस) शासन अन्त्य हुँदा उनीहरूले भारतलाई दुई टुक्रा बनाएर गए। भारत–पाकिस्तानको सम्बन्ध २००४ साल (सन् १९४७) पछि आजसम्म पनि कटुतापूर्ण छ। संघीयता नामको विष रोपेर गए, ब्रिटिस शासकले। धर्मका आधारमा देश टुक्राउँदा हिन्दु–मुसलमानको ठूलो लडाइँ भयो। ३८ लाख मान्छे मारिए। घर–घरमा बालबालिका, युवा र वृद्ध मारिए। सीमान्त क्षेत्र (फ्रन्टियर) अशान्त हुँदा प्रायः सेनाको लडाइँ त्यहीँ सीमित हुन्छ तर जात, धर्म र सम्प्रदायको आगो लाग्यो भने त्यो हरेक घर–घरमा फैलिन्छ। हुतु र तुत्सीले अफ्रिकाका रुआन्डा, बुरुन्डी र कंगोमा त्यस्तै आगो बाले। दक्षिण अफ्रिकामा श्वेत–अश्वेतको द्वन्द्व त्यस्तै थियो। चीनमा उइगुर र तिब्बतीलाई त्यसरी नै प्रयोग गर्न खोजेका छन् पश्चिमाले।

मलेसियाबाट लण्डन फर्किने बेलामा ब्रिटिसहरूले त्यहाँका पुराना (रैथाने) मले जातिसरह चिनियाँ र भारतीयले पनि ‘सामान अधिकार’ पाउनुपर्छ भन्दै समानुपातिक ‘मलायन युनियन’ बनाइदिए। अंग्रेजको चाकडी गरेर धनी र शक्तिशाली बनेका केही मले, चिनियाँ र भारतीयलाई प्रलोभन दिएर त्यस्तो युनियन खोलिएको थियो। दातो ओन जस्ता नेताले प्रजातन्त्र, राष्ट्रियता र प्रगतिका नाममा विदेशी मूलका नागरिकलाई समान हक दिनुपर्ने प्रस्ताव ल्याए। सुन्दा प्रिय लागे पनि त्यो राष्ट्रघाती कदम थियो। ‘हामी’ भन्नुपर्नेमा जात–जातका आधारमा जनता विभक्त हुन थाले। नेपालको संविधानले पनि राष्ट्रिय एकतालाई चुनौती दिँदै विभिन्न जातको परिभाषा गर्दै आरक्षणको परिकल्पना गरेको छ। यसले कालान्तरसम्म हामीलाई सताइरहनेछ।

एउटा विन्दुमा पुगेर मले र चिनियाँहरू नजिक भए तर भित्रभित्रै द्वन्द्व थियो, भुसको आगो जस्तो। संयुक्त सरकार गठन गर्दा नै राष्ट्रवादीहरूलाई वैचारिकरूपमै सिध्याउने योजना बनाए अंग्रेजले। ब्रिटेनको झन्डाको सट्टामा मलेसियाको झन्डा फर्फराइए पनि ब्रिटिसकै योजना र विचार प्रवल भयो, राजनीतिमा। दलबीच दुश्मनी बढायो जातीय विभाजनले। त्यस्तै प्रयोग गरिँदैछ नेपालमा।

महाथिर बिन महमदले पुस्तकमा लेखेका छन्– ‘युएमएनओ अर्थात युनाइटेड मले नेसनल अर्गनाइजेसन पार्टीका कारण विदेशी विचार प्रवल भयो।’ त्यसका नेताले मले तथा विदेशीलाई बराबरी हक दिनुपर्ने प्रस्ताव ल्याउँदा पार्टीबाट ती नेतालाई निष्काशन त गरियो तर विषाक्त विचारको बीजारोपण भइसकेको थियो। देशमा गृहयुद्धको कालो बादल देखिन थाल्यो।

राष्ट्रवादको धरातलबाट उठेका हुन्, महाथिर महमद र लि–क्वान–यु। सन् १९६५ मा ब्रिटेनबाट स्वाधीन भए पनि सिंगापुर (पुरानो नाम सिंहपुर) दरिद्र थियो। सानो टापु सिंगापुर सहर आज समुन्नत राष्ट्र बनेको छ, राष्ट्रवादको बाटोमा हिँड्दा। कम्युनिस्ट र साम्राज्यवादीको नक्कल गरेन सिंगापुरले। आफ्नो माटो, अवस्था र धरातलीय यथार्थ बुझेर मूलनीति बनायो। बाइस वर्ष प्रधानमन्त्री बनेर घरमै बसेका स्वप्नद्रष्टा राजनेता महाथिरलाई नब्बे वर्षको उमेरमा पुनः राष्ट्र सुम्पेका छन् मलेसियाका जनताले। उनन्तीस वर्ष प्रधानमन्त्री भएका लि–क्वान–यु राष्ट्र निर्माताकारूपमा आज पनि उदाहरणीय र आदरणीय मानिन्छन्। जहाँ राष्ट्रवाद र राष्ट्रवादी नेताको सम्मान हुन्छ, त्यहाँ राष्ट्रको उन्नयन हुन्छ भन्ने देखियो।

नेपालमा सृष्टिको सूर्योदयदेखि यही माटोको तिलक लगाएर हुर्केका नेपालीलाई मात्र यो राष्ट्रको माया छ। ‘नेपाली तिमी रहन्छौ कहाँ नेपालै नरहे’ वा ‘करोडौँ मुटुको एउटै धुक्धुकी नेपाल’ भन्ने जस्ता राष्ट्रिय गीत सुन्दा हामी भावविभोर बन्छौँ। चन्द्रसूर्य अंकित राष्ट्रिय झण्डा देख्दा हामी गर्वोन्मत्त र खुशी हुन्छौँ। मन पुलकित बन्छ। हाम्रो प्राचीन धर्म–संस्कृति बचाउनुपर्छ भन्ने चेतना युवा वर्गमा जागृत भइरहेको छ। ‘नेपाल नेपालीको मात्रै हो, अरुको होइन’ भन्ने युवा वर्गको आवाज सुनिन्छ। तसर्थ, नेपालीसरह विदेशीलाई नागरिकता, अधिकार र समान स्वतन्त्रता दिनुपर्छ भन्नेहरू राष्ट्रघाती हुन् भन्छन् युवा वर्ग। राष्ट्रवादी र राष्ट्रघाती चिन्ने सरल उपाय यही हो। २०६२÷६३ सालपछि ‘नेपाली’ आवरणमा विभिन्न दलमा बसेका विदेशीका दूतहरू निर्वस्त्र बनिरहेका छन्। महाकाली, टनकपुर, कोशी, गण्डकलगायतका सम्झौतामा पटकपटक राष्ट्रघात भएको छ। देश लुटिएको छ। २०६२÷६३ सालपछि तीस लाखभन्दा बढी विदेशीले नेपालको नागरिकता पाएकामा सर्वत्र विरोध भएको छ। स्वदेशी र विदेशीलाई बराबर हक हुनुपर्छ भन्ने दातो–ओनजस्ता राष्ट्रघातीहरू शक्तिशाली हुँदा राष्ट्र कमजोर बन्छ। राष्ट्रवादको सम्मान भएमात्र राष्ट्र सुदृढ सक्षम, मर्यादित र समुन्नत बन्छ।

राष्ट्रवादको सोझो अर्थ हो– मन, वचन तथा कर्मले राष्ट्रप्रतिको समर्पण। राष्ट्रिय स्वाभिमानप्रतिको संचेतना हो, राष्ट्रवाद। राष्ट्रको धर्म, संस्कृति, सभ्यता, समृद्धि र शान्ति जोगाउन राष्ट्रिय एकताको भावधारामा ऐक्यबद्ध हुने निष्ठाको प्रतीक हो, राष्ट्रवाद। जसरी ‘आमा’ शब्द हाम्रा निम्ति श्रद्धाको विम्ब हो त्यसैगरी राष्ट्रवाद एउटा पवित्र शब्द हो। राष्ट्रवादमा विश्वास नगर्नेहरू राष्ट्रवादको अपव्याख्या गर्छन्। जसरी असल सन्तानले आमालाई अपमान गर्दैनन्, त्यस्तै असल नागरिक राष्ट्रवाद विरोधी हुनै सक्दैनन्।

राष्ट्रवादको धरातलमा राजनीतिक, आर्थिक, सामाजिक र राष्ट्रलाई बल पुग्ने यावत मार्गचित्र निर्माण गर्न सकिन्छ। यसका निम्ति चाहिन्छ प्रवल राष्ट्रवादी सरकार। राष्ट्रिय पहिचान महŒवपूर्ण हुन्छ, राष्ट्रवादमा। मेरो राष्ट्र म बलियो बनाउँछु भन्ने भीष्म प्रतिज्ञा र भगीरथ प्रयत्न सिकाउँछ राष्ट्रवादले। विदेशीको खटनपटन चल्दैन, राष्ट्रवादी राष्ट्रनायक र राजनेता भएका स्वाभिमानी राष्ट्रमा। राष्ट्रवादमा राष्ट्र सदैव सर्वोच्च हुन्छ। व्यक्ति, दल वा विदेशबाट आयात गरिएका विचारभन्दा धेरै माथि हुन्छ, राष्ट्रवाद। त्यसैले राष्ट्रलाई साँच्चै माया गर्नेहरू राष्ट्रवादी हुन्छन्। व्यक्ति होइन, विचार सर्वोपरि रहन्छ राष्ट्रवादमा। राष्ट्रवादले माओवाद, माक्र्सवाद, स्टालिनवाद, लेनिनवाद चिन्दैन।

स्विट्जरल्यान्डमा फ्रेन्च, इटालियन र जर्मन भाषा बोल्नेहरू मिलेर बसेका छन्। युरोपेली संस्कृति अंगालोका छन्। राष्ट्रिय एकतामा प्रगाढ आस्था राख्छन् उनीहरू। राष्ट्र कमजोर भयो भने हामी सबैको पतन हुन्छ भन्ने बुझेका छन्। राष्ट्रवादको झण्डा राष्ट्रिय एकतामा मात्र फर्फराउँछ। राष्ट्रवाद पुष्पित–पल्लवित हुँदा राष्ट्र मुसुक्क हाँस्छ। हामीले खोजेको पनि त्यही हो। ‘पश्चिमा राष्ट्रको धर्म, परम्परा र संस्कृतिमात्र राम्रो, बाँकी सबै निम्नकोटीको’ भन्ने म्याकालियन शिक्षा पद्धतिले हजाराँै वर्ष पुरानो हाम्रो मौलिक संस्कृतिमाथि प्रहार गरिरहेको छ। ‘अहिले बिदा पाऊँ’ भन्ने अर्थमा प्रयोग हुने ब्रिटिसको अभिवादन ‘टाटा’ र अमेरिकीहरूले प्रयोग गर्ने ‘बाई–बाई’ शब्द सिकेपछि तोते बोल्ने छोराछोरीले अंग्रेजी बुझेछन् भनेर प्रशन्न हुने अभिभावकलाई घरबाटै ‘नमस्ते’ (नमस्कार) हराएकोमा पश्चाताप छैन। उर्दुभाषीले खुदा हाफिस, जापानीले सायोनारा, चिनियाँले जाइ–जिआन वा इजरायलीले लेइत्रावत् भनेर बिदा माग्छन्। अरबहरू ‘मा–सलामा’ भन्छन्। आफ्नोपनमा गर्व गर्छन्।

अरुको भाषामा निपूर्ण हुनु राम्रो हो तर आफ्नो प्वाँख फ्याँकेर अरुको प्वाँख टाँसेझैँ वा नीलो रंगले रंगिएर छट्टु स्यालले छुट्टै पहिचान देखाउन खोजेझँै राष्ट्रियताको अपमान गरेर जातीय वा क्षेत्रीय पहिचान देखाउन खोज्नु मूर्खता हुन्छ। भाडाका सिपाही (मर्सिनरी) हतियारबाहक मात्र हुँदैनन्, विदेशी विचार बोकेर हिँड्ने पनि हुन्छन्। ती अन्तरध्वंश (सेबोटेज) गर्न र गराउन प्रयुक्त हुन्छन्। छद्मयुद्ध .(प्रोक्सी वार) जस्ता खेलमा प्रयोग गरिन्छ, मर्सिनरी। नेपालमा कतिपय दल त्यसरी नै प्रयोग भए।

सुन्दा वा पढ्दा अनौठो लाग्न सक्छ साम्यवादीलाई। राष्ट्रवादको बीउ मास्न साम्राज्यवादीले धेरै राष्ट्रमा उग्रवादी, आतंकवादी, क्रान्तिकारी, परिवर्तनकारी आदि बनाएर कम्युनिस्टलाई नै प्रयोग गरे। कतिपय राष्ट्रमा सैनिक तानाशाहलाई समेत पश्चिमा राष्ट्रले उकासेका उदाहरण छन्। जर्ज बुस सिआइएका प्रमुख हुँदा चिलीमा सैनिक तानाशाह अगस्टो पिनोचेलाई शक्तिशाली बनाइएको प्रसंग यहाँ उल्लेखनीय हुन आउँछ।  कम्युनिस्ट राष्ट्र सोभियत संघले कैयन् राष्ट्रमा ‘प्रोक्सी वार’ (छद्मयुद्ध) चलायो भने धेरै राष्ट्रमा अमेरिकाले हतियार र विचार दुवै निर्यात गरेको कुरा ‘वार ट्रेडर्स’ तथा ‘ब्ल्याक बुक अफ कम्युनिज्म’ पुस्तकमा उल्लेख छ। आज पनि तिब्बतमा परोपकार नीति लिएको छ अमेरिकाले। तर त्यसका पछाडि चीनको राष्ट्रवादलाई कमजोर बनाउने खेल रहेको बुझिन्छ।

भारत र अमेरिकाबीच अदृश्य प्रेम बढ्दैछ। भारतका प्रसिद्ध लेखक तथा सम्पादक गिरिलाल जैनले झण्डै पचास वर्ष पहिले एउटा पुस्तक लेखेका थिए– ‘इन्डिया मिटस् चाइना इन नेपाल’ त्यो दिन नजिक आउँदैछ। त्यसैले नेपालमा कुनै पनि बेला ठूलो विपत्ति आयो भने त्यो अप्रत्याशित हुने छैन। दक्षिण अफ्रिकी नेता नेल्सन मन्डेलाले भनेका छन्– ‘राष्ट्रवाद कसैको शत्रु र प्रतिपक्षी होइन। यसले त सबैलाई एकीकृत गराउँछ।’ नेपालमा पनि राष्ट्रवादको धरातलमा सबैले मिलेर राष्ट्रिय मूल नीति बनाउने र सोहीअनुसार आचरण गर्ने हो भने विभिन्न अन्तर्राष्ट्रिय सैनिक गुट र षड्यन्त्रबाट हामी मुक्त हुन सक्छौंँ।  





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ?

इन्डक्सन कि ग्यास - उचित कुन ? ...

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोनमा ९ दिनसम्म बस्छ कोरोनाभाइरस - यसरी सफा गर्नुहोस् !

स्मार्टफोन डिस्प्लेलाई भाइरस र किटाणु मुक्त बनाउनुहोस् ! ...

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

सबैभन्दा फास्ट ल्यापटप प्रोसेसर - AMD Ryzen 9

प्रोसेसरको दौडमा Intel झन् धेरै पछि पर्दै - AMD ले ल्यापटपमा पनि जित्यो ! ...

5G भएको बजेट स्मार्टफोन

5G भएको बजेट स्मार्टफोन

साओमीले हालै साओमी मि १० सिरिजका नयाँ स्मार्टफोनहरू सार्वजनिक गरेको छ ...

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

फेसबुकमा एउटै मेसेज यति पटकभन्दा धेरै सेयर र फरवार्ड गर्न नमिल्ने !

निकट भविष्यमा यो फिचर फेसबुकको मेसेन्जरमा आउने भएको छ ! ...

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

स्मार्टफोनको मागमा इतिहास कै सबैभन्दा ठूलो गिरावट

कोरोनाभाइरसका कारणले स्मार्टफोन बजारमा इतिहास कै सबैभन्दा ठूलो गिरावट आएको छ ...

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

२० हजार मुनिका उत्कृष्ट एन्ड्रोइड स्मार्टफोनहरू

नेपाली बजारमा उपलब्ध भएका र लगभग २० हजारमा पाइने केही स्मार्टफोनबारे तल चर्चा गरिएको छ ...

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलको बजेट म्याकबुक र नयाँ आइप्याड - मूल्य कति?

एप्पलले नयाँ म्याकबुक एयर र आइप्याड प्रोलाई अनलाइन नै सार्वजनिक गरिएको छ ...

Ncell Footer Ad