१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

सुत्केरी गाईभैंसीलाई भत्ता

नुवाकोट - झन्झटिलो मानेर पछिल्लो समय गाउँघरतिर पशुपालन गर्न बिस्तारै कम हुँदै गएको छ। यसले गर्दा पशुजन्य पदार्थको आयात पनि वृद्धि हुँदै गएको छ। यही तथ्यलाई ध्यान दिँदै नुवाकोटको किस्पाङ गाउँपालिकाले स्थानीय बासिन्दालाई पशुपालनमा आकर्षित गर्ने योजना बनाएको छ।

योजनाअन्तर्गत गाउँपालिकाले पशुपालन र दुग्ध व्यवसायलाई प्रोत्साहन गर्न गाईभैंसीलाई सुत्केरी भत्ता दिने व्यवस्था गरेको छ। गाईंभैसीलाई पहिलोपटक सुत्केरी हुँदा पाँच हजार र दोस्रोपटकमा तीन हजार रुपैयाँ भत्ताबापत उपलब्ध गराइने गाउँपालिकाले जनाएको छ। किसानले गाईभैंसीका बाच्छाबाच्छी र पाडापाडी नबेचून् बरु तिनलाई घरमै पालेर व्यावसायिक पशुपालततर्फ लागून् भनी गाउँपालिकाले प्रोत्साहन भत्ताको व्यवस्था गरेको अध्यक्ष छत्रबहादुर लामाले बताए। ‘गाउँमा पराम्परागत रूपमा मात्रै गाईंभैसी पालिन्छ। पशुपालन निर्वाहमुखी छ। व्यावसायिक रूपमा पशुपालन तथा दुग्ध व्यवसाय सञ्चालन गर्ने किसानहरू गाउँपालिकाभरि छैनन्,’ उनले भने, ‘पशुपालनलाई व्यवसायकै रूपमा रूपान्तरण गरी दूध बिक्री गरेर किसानलाई आत्मनिर्भर बनाउन गाइभैंसीलाई सुत्केरी भत्ता दिन थालेका हौं।’

गाउँमा सरकार आएको महसुस गराउनुका साथै युवाहरूलाई पशुपालन व्यवसायमा लाग्न प्रेरणा दिनु गाउँपालिकाको उद्देश्य रहेको उनको भनाइ छ। गाउँपालिका क्षेत्रभित्र गाईभंैसी सुत्केरी भएको अवस्थामा किसान आफैं उपस्थित भई गाउँपालिका कार्यालयमा निवेदन दिने र पशु शाखाका कर्मचारीको स्थलगत अनुगमनपछि मात्र रकम उपलब्ध गराउने व्यवस्था गरिएको अध्यक्ष लामाले जानकारी दिए। बिमा गराइएका गाईभैंसीलाई मात्र सुत्केरी भत्ता दिइने भएकाले किसानले अनिवार्य रूपमा गाइभैंसीको बिमा गराउनुपर्ने जनाइएको छ। गाउँपालिकाले गाईभंैसीका बच्चाको जन्मदर्ता गराउने व्यवस्थासमेत गरेको छ।

गाउँपालिका क्षेत्रभित्र गाईभंैसी सुत्केरी भएको अवस्थामा किसान आफैं उपस्थित भई गाउँपालिका कार्यालयमा निवेदन दिने र पशु शाखाका कर्मचारीको स्थलगत अनुगमनपछि मात्र रकम उपलब्ध गराउने व्यवस्था गरिएको छ।

सुत्केरी भत्ता पाउन योग्य गाईभैंसीका लागि निवेदन दिन किसानलाई आह्वान गरिएको गाउँपालिका पशु शाखाका इन्चार्ज श्रीकृष्ण बजगार्इंले बताए। उनका अनुसार अहिलेसम्म सातजना किसानले निवेदन दिइसकेका छन्। गाउँमा उत्पादित दूधलाई बजार अभाव भएको गुनासो आएपछि डेरी सञ्चालन गर्न इच्छुकलाई समेत सहयोग गर्ने योजना गाउँपालिकाले बनाएको छ। किसानलाई प्रोत्साहित गर्न सञ्चालन गरिएका यस्ता योजनाले व्यावसायिक कृषिको विकास हुने अपेक्षा गरिएको गाउँपालिकाका अध्यक्ष लामाले बताए। यसबाट किसानको जीवनस्तरसमेत उकासिई समग्रमा सिंगै गाउँपालिकाको आर्थिक स्तर उँभो लाग्ने अपेक्षा गरिएका लामाले सुनाए।

प्रकाशित: ११ माघ २०७५ ०१:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App