१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाँदरले खेत बाँझो

बाँदरले अन्न सखाप पारेपछि बाँझो छोडिएको खेत । तस्बिरः नागरिक

बैतडी – दशरथचन्द नगरपालिका–५ नौहाटका सुदर्शन लेखकको खेतबारी पाँच वर्षदेखि बाँझै छ। खेतमा गहुँ, बारीमा सुन्तला, जुनार, अमिलोलगायत फलफूल थिए, तर  बाँदरले नष्ट गर्न थालेपछि खेत बाँझो राख्न बाध्य छन्। लेखक मात्र होइन सदरमुकाम वरपरका धेरै किसानले खेत बाँझो छोड्न बाध्य भएका छन्।

पाँच वर्षयता दशरथचन्द नगरपालिकाका विभिन्न वडामा बाँदरले बालीनाली नष्ट गर्न थालेपछि स्थानीयले खेत बाँझै छाडेका हुन्। ‘घरपरिवारका लागि पुग्ने अन्न, बारीको ताजा तरकारी र फलफूल प्रशस्त मात्रामा फल्थ्यो,’ उनले भने, ‘अहिले दैनिक उपभोग्य सामानका लागि बजारको भर पर्नुपरेको छ।’ बाँदरका कारण बारीमा तरकारीसमेत लगाउन छाडेको स्थानीय लक्ष्मी भट्टले बताइन्। मिहिनेत गरेर लगाएको अन्न र तरकारी बाँदरले सखाप पारेपछि खेत बाँझै छोडन थालेको उनको भनाइ छ।

दशरथचन्द नगरपालिकाका वडा नं. ४, ५, ६, ८, १०,  र ११ मा बाँदरले बालीनाली र तरकारी सखाप गर्ने गरेको छ। बाँदरले घरभित्रै पसेर नोक्सानी गर्ने गरेको स्थानीय नारायणप्रसाद भट्टले बताए। काम विशेषले घरका मानिस बाहिर भएका बेला बाँदर झ्यालबाट पसेर सामान नष्ट गरिदिने गरेको उनले सुनाए। बाँदरले आतंक फैलाउन थालेपछि अधिकांश किसानले खेत बाँझै छाडेका हुन्।

‘फूल फुल्ने बित्तिकै सबै फूल टिपेर बाँदरले खाइदिन्छ अनि कहाँबाट फल लाग्नु ? बाँदरकै कारण बालीनाली लगाउन छाडेका हौं’, स्थानीय माया भट्टले भनिन्। गत वर्ष दशरथचन्द नगरपालिका–५ ले बाँदर नियन्त्रणका लागि डेढ लाख बजेट विनियोजनसमेत गरेको थियो। गाउँका सबै मिलेर बाँदर धपाए पनि फेरि गाउँमै आउने गरेको दशरथचन्द नगरपालिका–५ का वडाध्यक्ष नारायणप्रसाद भट्टले बताए। उनले भने, ‘हामीले बाँदर विशेषज्ञ बोलाएर नियन्त्रणको प्रयास गर्यौं तर सफल हुन सकेनौं।’

दशरथचन्द नगरपालिकाले तयार पारेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन योजनामा बाँदर आतंक मुख्य छ। ‘हामीले स्थानीयसँग छलफल गर्दा धेरैजसो वडामा बाँदर आतंक आएको छ’, योजना निर्माणमा सहभागी रेडक्रस बैतडीका कार्यक्रम संयोजक तेजप्रसाद पाण्डेयले भने, बाँदरकै कारण खेत बाँझो छोडनुका साथै धेरैले घरबार छाडेर अन्यत्र बसाइँ सरेका छन्। बाँदरकै कारण खेतीयोग्य जमिन बाँझो बन्नुका साथै खेतबारीमा झ्याङ र बोटबिरुवा उम्रन थालेका छन्।

प्रकाशित: १० माघ २०७५ १०:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App