१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टुटल भ्याट प्रकरण : राजस्वको छानबिन सुरु

काठमाडौं – राइड–सेयरिङ एप टुटल सञ्चालन गरिरहेको हाइपर लुक्स नेपालले भ्याटमा दर्ता नभई उपभोक्ताबाट मूल्य अभिवृद्धि कर (भ्याट) उठाएको विषयमा आन्तरिक राजस्व विभागले अनुसन्धान सुरु गरेको छ। हाइपरले आफू भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको समाचार बुधबार प्रकाशित भएपछि विभागले अनुसन्धान सुरु गरेको हो।

राजस्व सचिव लालशंकर घिमिरेले टुटलको भ्याट प्रकरणमा आन्तरिक राजस्व विभागलगायत आफू मातहतका निकायले अध्ययन सुरु गरेको बताएका छन्। ‘मेरो मातहतका निकायलाई यसबारे खोजबिन गर्न निर्देशन दिइसकेको छु,’ राजस्व सचिव घिमिरेले बुधबार नागरिकसँग भने, ‘अध्ययन सुरु भइसकेको छ।’

विभागका प्रवक्ता यज्ञ ढुंगेलले पनि यसबारे अध्ययन सुरु गरिसकेको जानकारी गराए। ‘हाइपरले प्रयोग गरिरहेको प्यान नम्बर खोजेर उक्त कम्पनीबारे विस्तृत अध्ययन सुरु गरिसकेका छौं,’ ढुंगेलले भने। विभागले आफ्नो मातहतका कार्यालयलाई भ्याट छलीको विषयमा अध्ययन, खोजबिन गर्न परिचालन गरेको बताए।

‘हामीले यसबारे गम्भीर अनुसन्धान गर्छौं,’ ढुंगेलले भने, ‘अनुसन्धानपछि के नतिजा निस्किन्छ त्यसै अनुसार कारबाही अगाडि बढाउने छौं।’ अनुसन्धानको क्रममा कम्पनीले दर्ता नभई भ्याट उठाएर छली गरेको भेटिए उसलाई ऐन, नियम अनुसार कारबाही गर्ने उनले बताए। भ्याट छली भएको भेटिए कम्पनीले उठाएको भ्याट रकममा ७० प्रतिशतसम्म (समय अनुसार) जरिवाना हुन सक्ने कानुनी व्यवस्था छ।    

टुटलका नाममा मोटरसाइकलमा यात्रु बोक्ने सेवा व्यापार गरिरहेको हाइपर लुक्सले मूल्य अभिवृद्धि कर (भ्याट) मा दर्ता नभई सेवाग्राहीबाट भ्याट असुलेको खुलासा भएको थियो। मुलुकको कानुनअनुसार कुनै पनि कम्पनी वा संघ–संस्था भ्याटमा दर्ता भएर आधिकारिक नम्बर नलिएसम्म भ्याट असुली गर्न पाइँदैन। उक्त कम्पनीले भ्याटमा दर्ता नभई मोटरसाइकलको सेवा लिने यात्रुबाट कुल भाडामा १३ प्रतिशत भ्याट जोडेर रकम लिने गरेको पाइएको छ।

उसले सन् २०१७ जनवरीदेखि २०१८ जुलाइसम्म करिब १९ महिनासम्म भ्याट शीर्षकमा उपभोक्ताबाट रकम उठाएको थियो। हाइपरका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिक्षित भट्टले भ्याट उठाउने विषयमा पर्याप्त जानकारी नहुँदा उक्त शीर्षक राखिएको नागरिकसँग बताएका थिए। भट्टले जानकारी नभएको बताए पनि कुनै पनि कम्पनीको लेखा प्रतिवेदन तयार गर्ने व्यक्ति यसबारेमा पूर्ण जानकार हुन्छ।

कम्पनीको वासलात तयार गर्ने व्यक्ति चार्टर्ड एकाउन्टेन्ट वा अन्य लेखा व्यवसायी हुन्। यी व्यक्तिलाई भ्याटबारे थाहा छैन भन्नु घाम लाग्दा उज्यालो हुँदैन भन्नु बराबर हो। अध्यक्ष भट्टलाई भ्याटबारे थाहा नभए पनि उनको कम्पनीको वासलात तयार गर्नेलाई यसबारेमा पूर्ण जानकारी थियो। यसैले हाइपरको वासलात तयार गर्दा भ्याट लुकाइनुले कम्पनीले कर छल्ने नियत राखेको प्रस्ट हुन्छ।

टुटल मोटरसाइकलमा यात्रु बोक्ने सेवा हो, जुन कम्पनी रजिस्ट्रारको कार्यालयमा हाइपर लुक्स नेपाल कम्पनी प्रालिका नाममा दर्ता छ। दुई वर्षअघि सेवा सुरु गरेको टुटलसँग हाल १२ हजारभन्दा धेरै राइडर छन्। पूर्णकालीन मोटरसाइकल चालकले मासिक ५० देखि ६० हजार रुपैयाँसम्म कमाइरहेको कम्पनीले जानकारी गराएको छ।

मोटरसाइकलमा यात्रु बोक्ने काम यातायात व्यवस्था ऐन विपरीत भएको भन्दै ट्राफिक प्रहरीले रोकेपछि यो सेवाबारे सर्वत्र चर्चा भएको थियो। प्रहरीले रोकेकै भोलिपल्ट प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि अवरोध नगर्न आदेश दिएसँगै यो सेवा निरन्तर चलिरहेको छ।

प्रकाशित: १० माघ २०७५ ०६:५० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App