१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

आर्मी सिमरा गोल्डकपको फाइनलमा

तस्बिर : उपेन्द्र/नागरिक

बारा - त्रिभुवन आर्मी क्लब  सिमरामा जारी रुस्लान दशौं सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा बुधबार भएको खेलमा आयोजक नवजनजागृति युवा क्लबलाई १–० ले स्तब्ध बनाउँदै आर्मी फाइनल प्रवेश गरेको हो।

आर्मीका लागि खेलको ५०औं मिनेटमा कप्तान भरत खवासले गरेको एक गोल नै जितका लागि निर्णायक बन्यो। दोस्रो हाफको सुुरुआतमा सेसाङ लिम्बुको पासलाई सदुपयोग गर्दै भरतले गोलमा परिणत गरेका थिए। त्यसअघि पहिलो हाफको शुरुआतमा आर्मीविरुद्ध आक्रामक रूपमा प्रस्तुत भएको आयोजक सिमराका खेलाडीले अन्तिमसम्म पनि आर्मीलाई पूर्णरूपमा खेलमा हावी हुन दिएका थिएनन्। खेलको १२औँ मिनेटमा आयोजकले आर्मीविरुद्ध अग्रता लिने सुन्दर अवसर गुमायो।

सुरज ठकुरीले २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिक आर्मीका टंक बस्नेतले गोल लाइनबाट क्लियर गर्दा आयोजक अग्रता लिनबाट बन्चित भएको थियो।  १६औं मिनेटमा पेनाल्टीबक्स बाहिरबाट प्रज्वल थापामगरको प्रहार विकेश कुथुले पञ्च गर्दै क्रसबार बाहिर पठाए।

२४औं मिनटमा आर्मीका भरत खवासले सुन्दर अवसर गुमाएका थिए। टंक बस्नेतले डिबक्सभित्रै निकालेको पासलाई भरतले फितलो प्रहार गर्दा आयोजकका गोलरक्षक टेकेन्द्र थापाले सहजै बचाए। पहिलो हाफ गोलरहित बराबरीमा रोकेको आयोजकविरुद्ध आर्मीले दोस्रो हाफको शुरुआतमै अग्रता बनायो। ५५औं मिनेटमा आयोजकका निरज थापामगरले बराबरी गोलगर्ने अवसर चुकाए।

‘१० दिनमा ५ वटा प्रतियोगिता खेल्यौं। त्यसैले केहि खेलाडी घाइते हुँदा अनुभवी खेलाडीले भरिएको आर्मीकासँग जित निकाल्न सकेनौं। हाम्रो फिनिसिङ राम्रो नहुनु पनि हारको कारण रह्यो।’ आयोजकका प्रशिक्षक सोनु क्षेत्री

प्रज्वल थापामगरको पासमा निरजले वन भर्सेस वनको स्थिती खेर फाले। पेनाल्टीबक्स भित्रैबाट उनले गरेको प्रहारले गोलपोस्टको दिशा लिन नसकेपछि गोल गर्ने अवसरबाट चुकेको थिए। खेलको ६०औं मिनेटमा आर्मीका भरत खवासले अर्को अवसर गुमाए। सेन्टरलाइनबाट एकल प्रयासमा बल अघि बढाएका खवासको फिनिसिङ फितलो बन्दा आयोजकका गोलरक्षकले सहजै बचाउ गरे।

खेलको ७०औं मिनेटमा आयोजकका निरज थापाको क्रसमा सुनील खड्काको अर्को प्रहार विफल भयो। सुनीलको प्रहार आर्मीका जितेन्द्र कार्कीले हेडिङमार्फत क्लिएर  गरेका थिए। आयोजकविरुद्धको खेलमा आर्मीका डिफेन्डर विमल पाण्डे म्यान अफ दि म्याच घोषित हुँदै १० हजार नगदसहित ट्रफि हात पारे।

बिहीबार प्रतियोगिताको अन्तिम सेमिफाइनलमा दोस्रो संस्करणको उपाधि विजेता हिमालयन शेर्पाले गत वर्षको उपविजेता थ्रीस्टार क्लबको सामना गर्दै छ। हारपछि नव जनजागृतिका प्रशिक्षक सोनु क्षेत्रीले लगातारको प्रतियोगितापछि खेलाडीहरु थाकेकाले सोचे अनुसारको प्रदर्शन गर्न नसकेको बताए। ‘१० दिनमा ५ वटा प्रतियोगिता खेलेका छौं,’ आयोजकका प्रशिक्षक क्षत्रीले भने,‘केहि खेलाडी घाइते पनि थिए। साथै आर्मीका अनुभवी खेलाडीसँगको प्रतिस्पर्धामा फिनिसिङ राम्रो नहुनु पनि हारको कारण रह्यो।’

आयोजकसँग १–० को संघर्षपूर्ण जितपछि आर्मीका प्रशिक्षक नवीन न्यौपानेले आयोजकका यूवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरेको बताए। ‘वीरगञ्ज र सिमरामा हामीले नव जनजागृतिसँग खेल्यौं। यूवा भाईहरुको प्रदर्शन अत्यन्त राम्रो छ’ प्रशिक्षक न्यौपानेले भने,‘दोस्रो हाफमा पाएका केही अवसरलाई सदुपयोग गर्न नसक्दा जितका लागि अन्तिमसम्म संघर्ष गर्नुपर्यो।’ सेमीफाइनलमा स्कोरभन्दा जित महत्वपूर्ण रहेको भन्दै प्रशिक्षक न्यौपानेले जितबाट सन्तुष्ट रहेको प्रतिकृया दिए।

दिनेश हेम्जन, नवयूग श्रेष्ठ जस्ता खेलाडीबिना मैदान उत्रिएको आर्मीले वीरगञ्जमा सम्पन्न दोस्रो विशाल मेमोरियल गोल्डकपमा पनि सिमराको नव जनजागृतिलाई ३–० ले पराजित गरेको थियो। लिगपछि आराम गरिरहेका उनिहरु आगामी आहा–रारा गोल्ड कपबाट टिममा फर्कने आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए।

जितसँगै आर्मी क्लब चौथोपटक सिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। सिमरा रंगशालामा तीन पटक फाइनल खेलिसकेको आर्मीले छैटौं र नवौं संस्करणको उपाधि जितेको थियो भने आठौं संस्करणमा संकटासँग पराजित हुँदै उपविजेतामा सीमित भएको थियो।

आगामी शनिबार हुने उपाधि भिडन्तमा आर्मीले थ्रीस्टार र हिमालयन शेर्पाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। प्रतियोगिताको विजेताले ६ लाख तथा उपविजेताले ३ लाख रुपैयाँ नगदसहित ट्रफि प्राप्त गर्नेछन्।

प्रकाशित: ९ माघ २०७५ १३:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App