१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

'क्षेत्रीय सहकार्यमा नेपालको जोड'

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको बताएका छन्। विश्व आर्थिक मञ्चको वार्षिक बैठकमा सहभागी हुन स्विट्जरल्यान्डको दाभोस पुगेका प्रधानमन्त्री ओलीले मंगलबार ‘स्टार्टेजिक आउटलुक अन साउथ एसिया’ कार्यक्रममा नेपालले क्षेत्रीय सहयोग र सहकार्यमा जोड दिएको बताएका हुन्।

‘नेपाल नयाँ युगमा प्रवेश गरेको छ। विकास र परिवर्तन निकै द्रुत गतिमा हुँदैछ, आर्थिक र राजनीतिक हिसाबले छिमेकी र क्षेत्रीय संगठनसँग पनि सहकार्य गर्दैछौं,’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने। नेपाल नयाँ संविधान जारी गरेर संघीय गणतन्त्रमा प्रवेश गरिसकेको र हाल संविधानअनुसार संरचनागत परिवर्तनको चरणमा रहेको उनले बताए। नेपाल सरकारले सुशासनमा जोड दिएको भन्दै उनले थपे, ‘सरकार सुखी नेपाली समृद्ध नेपालको नारा लिएर अघि बढिरहेको छ।’
नेपाल आर्थिक, सामाजिकलगायतका सबै क्षेत्रमा परिवर्तको चरणमा रहेको भन्दै उनले न्याय, समानता, महिला सशक्तीकरण, विपन्नको अवस्था सुधारका प्रक्रियामा सरकार लागिरहेको उल्लेख गरे। ‘हामी नयाँ परिस्थितिमा प्रवेश गरेका छौं र आशावादी पनि छौं,’ उनले भने। नेपालले आफ्नो भूमिकालाई क्षेत्रीय तथा अन्तर्राष्ट्रिय रुपमा पनि वृद्धि गरिहेकोे उनले बताए। ‘हामीले क्षेत्रीय सहयोग र सहकार्यमा पनि जोड दिएका छौं’, उनले भने। दक्षिण एसियाको सभ्यताको प्रशंसा गर्दै उनले दक्षिण एसियामा विश्वको उच्च शिखर सगरमाथादेखि बंगालको खाडीसम्मको उत्कृष्ट विविधता रहेको बताए।

नेपालले क्षेत्रीय विकास र क्षेत्रीय व्यापारका बारेमा सोचिरहेको भन्दै ओलीले सबैका लागि समानता, न्याय र ‘विनविन’ अवस्था निर्माण गर्न चाहिरहेको स्पष्ट पारे। ‘हामी लगानी भिœयाउन चाहन्छौं, प्रविधिको प्रयोग र स्थानान्तरण चाहन्छौं, आसियान मुलुकसँग व्यापार र सम्बन्ध पनि विकास गर्न चाहन्छौं,’ प्रधानमन्त्री ओलीले भने। नेपालले बिम्स्टेक सम्मेलन आयोजना गरेको र यसबाट सार्कसँग मात्र नभएर थाइल्यान्ड र म्यानमारजस्ता मुलुकसँग पनि जोडिएको उनले बताए। उनले नेपाल स्थलमार्ग र जलमार्गका लागि पनि खुला रहेको बताए।

प्रकाशित: ९ माघ २०७५ ०२:४४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App