१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

चिकित्सा विधेयक पारित गर्ने सत्तापक्षको प्रयत्न विफल

काठमाडौं - प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले मंगलबार प्रतिनिधिसभा बैठक अवरुद्ध गरिरहेका बेला सत्तापक्ष नेकपाका सांसद पनि रोस्ट्रम अघि पुगे। कांग्रेस सांसदले आफ्नो पार्टीका नेताहरू गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा रहेका अस्पताललाई सरकारले संघीय सरकार मातहत नराखेर खारेजीको प्रक्रिया अघि बढाएको विरोधमा बैठक चल्न नदिने बताउँदै रोस्ट्रम घेराउ गरिरहेका बेला सत्तापक्षका सांसदले शिक्षामन्त्रीलाई घेरामा राखेर रोस्ट्रममा पुर्‍याउन खोजेपछि तनाव बढेको थियो।

प्रतिनिधिसभा पहिलो बैठक कांग्रेसकै अवरोधका कारण स्थगित भएको थियो। स्थगनको १५ मिनेटपछि सुरु भएको दोस्रो बैठकमा सभामुख कृष्णबहादुर महराले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई चिकित्सा शिक्षा विधेयक पेस गर्न समय दिए। कांग्रेस सांसदले दोस्रो बैठक पनि स्थगन गर्न माग राखेर अवरोध जारी राखेका थिए। सभामुखले मन्त्रीलाई विधेयक पेस गर्न समय दिएपछि सत्तापक्षका सांसद एकाएक सिटबाट उठे। उनीहरू मन्त्री पोखरेललाई घेरामा राखेर रोस्ट्रममा पुर्‍याउन कस्सिएका थिए। मन्त्रीलाई रोस्ट्रममा पुर्‍याउने क्रममा सत्तापक्ष र प्रतिपक्षी सांसदबीच केहीबेर ठेलाठेल भयो। प्रतिपक्षले अवरोध गरेका बेला सत्तापक्षका सांसद रोस्ट्रमअघि पुगेको यो पहिलोपटक हो।

संसद्को कार्यसूची राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गर्ने थियो। सभामुखले मन्त्री पोखरेललाई ‘रोस्ट्रम’ मा बोलाएपछि उनलाई बीचमा राखेर नेकपाका प्रमुख सचेतक देव गुरुङ अघि र नेकपामा अन्य नेता पछिपछि रोस्ट्रममा जाँदा कुर्सीमा सरकारका केही मन्त्री र मधेसी दलका सांसद मात्रै देखिन्थे। मन्त्री पोखरेललाई रोस्ट्रममा पुर्‍याउन नेकपाका लालबहादुर थापाले बोकेका थिए। तर सत्तापक्षका सांसद तेजुलाल चौधरी, देवप्रसाद तिमलसिना, मीन विश्वकर्मालगायतले रोके। सभामुख केहीबेर चुप लागे। सभामुखले सत्तापक्षका सांसद नै कुर्सीबाट उठे पनि बस्नसमेत आग्रह गरेनन्। यत्तिकैमा उनले बैठक स्थगित गरे। सभामुखले बैठक स्थगित गरे पनि मन्त्रीलाई रोस्ट्रममा पुर्‍याइयो। बैठक स्थगित भएकाले मन्त्री पोखरेल फर्केर आफ्नै सिटमा आए।

सभामुख महराले बैठक स्थगित गरेलगत्तै कांग्रेस सांसद उनको कार्यकक्षमा पुगरे घेराउ गरेका थिए। प्रतिपक्षीले संसद् अवरुद्ध गरिरहेका बेला सत्तापक्षका सांसद रोस्ट्रममा पुग्दा पनि संसद् चलाउनु संसदीय मूल्यमान्यताविपरीत भएको भन्दै उनीहरूले सभामुखलाई घेराउ गरेका हुन्। अपराह्न ४ बजेर ७ मिनेटमा दोस्रो बैठक पनि १५ मिनेटका लागि स्थगित भएलगत्तै कांग्रेस सांसदले ५ बजेसम्म सभामुखलाई घेराउ गरेका थिए। त्यसपछि संसद् बैठक सूचना जारी गरी स्थगित गरियो। अर्को बैठक शुक्रबार १ बजे बोलाइएको छ।

सभामुखले माफी नमागेसम्म शुक्रबार पनि बैठक चल्न नदिने कांग्रेसले जनाएको छ। कांग्रेस सांसद गगन थापाले भने, ‘११ गते (शुक्रबार) को बैठक बस्नुअघि मंगलबार भएको घटनाको विषयमा सभामुखले क्षमा माग्ने वा गल्ती नस्वीकारेसम्म बैठक अघि बढ्न सक्दैन। सभामुखले आफ्नो मर्यादा राख्नुभएन, प्रतिपक्षको मर्यादा पनि राख्नुभएन, हामी उभियौं, सत्तापक्ष पनि उभियो, सिंगो सदन उभिएका बेला हाउस चल्न सक्दैन तर सभामुखले सञ्चालन गर्नुभयो।’ सभामुखले शक्ति पृथकीकरणको सिद्धान्तलाई कुल्चेको आरोप पनि उनले लगाए। उनले भने, ‘यो डरलाग्दो परिदृश्यको प्रारम्भिक संकेत हो। सदनमा समस्या आउँछन् तर सभामुखले यस्तो व्यवहार देखाएर सदन चलाएको हामीलाई अहिलेसम्म थाहा छैन।’

सत्तारूढ दलका सांसद खगराज अघिकारीले भने संसदीय समितिबाट विधिपूवर्क पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकलाई रोक्न खोज्नु कांग्रेसको गैरसंसदीय काम भएको बताए। उनले भने, ‘कांग्रेसले सभामुखलाई घेर्ने काम गर्‍यो। अब कांग्रेसले संसद्को कुनै मर्यादा मान्दैनांै भन्नुपर्‍यो। मन्त्रीमाथि हातपातसमेत भएको छ। सभामुखलाई जथाभाबी गाली गरिएको छ’, उनले भने।

पहिलो बैठक अवरुद्ध भएपछि दोस्रो बैठक बसेको थियो। अपराह्न ३ बजे बसेको पहिलो बैठकको सुरुमा प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता प्रकाशमान सिंहले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा तनहुँ र बाँकेमा स्थापना भएका स्वास्थ्य केन्द्रलाई संघीय सरकारअन्तर्गत राख्ने निर्णय नभएसम्म संसद्को कारबाही अघि बढ्न नदिने जानकारी गराए। उनले यस्तो जानकारी गराएलगत्तै कांग्रेसका सबै सांसद सीधै रोस्ट्रम घेराउ गर्न पुगे। त्यसपछि साढे तीन बजे सभामुखले १५ मिनेटका लागि बैठक स्थगित भएको घोषणा गरेका थिए। दोस्रो बैठकमा सभामुखले मन्त्रीलाई विधेयक पेस गर्न दिएपछि सत्तापक्ष र प्रतिपक्षी दुवै रोस्ट्रममा पुगेका थिए। उनीहरूको उद्देश्य फरकफरक थियो। सत्तापक्षका सांसद र करिब ६० जना मर्यादापालकको सहयोगमा मन्त्री रोस्ट्रममा पुग्न खोजे पनि कांगेस सांसदले अवरोध गरेका थिए।

प्रकाशित: ९ माघ २०७५ ०१:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App