१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

जन्मदिनको सांगितिक उपहार

पाटनको दरबार स्क्वायरस्थित संग्रहालय डबलीमा भक्तराज आचार्य सुमधुर साँझमा आइतबार गाउँदै सत्यराज आचार्य र स्वरुपराज आचार्य । तस्बिर: उपेन्द्र लामिछाने

काठमाडौं–खलिल जिब्रानको भनाइ ‘तपाईं त्यो धनुष हो, जसबाट तपाईंका सन्तान जीवन्त तिरका रुपमा निस्कन्छन्जस्तै जीवन्त थियो ‘भक्तराज आचार्य सुमधुर साँझ’मा  सत्यराज–स्वरुपराजको सुमधुर स्वर ।

भजन शिरोमणि आचार्यको ७५औं शुभ जन्मोत्सवको उपलक्षमा आइतबार साँझ पाटन दरबारस्थित संग्रहालय चोकमा आयोजित कार्यक्रममा दुई छोरा सत्यराज र स्वरुपराजले उनका काजलयी गीत सुनाउँदा २४ वर्षयता मौन रहेका भक्तराजको अनुहारमा ‘सरगम’ दौडिएको भान हुन्थ्यो ।

आफ्नो ठिक सामुन्ने जेठो छोरा सत्यराजले ‘जहाँ छन् बुद्धका आँखा’ गाएर कार्यक्रम सुरुवात गर्दा डबलीमा भएका दर्शकसँगै अग्रपंक्तीमा बसेका भक्तराजले ताली बजाएर स्वागत गरे । जन्मोत्सवका अवसरमा पितालाई पुत्रले दिएको यो सांगीतिक उपहारमा साक्षी बनेका स्रोताले पनि सांगीतिक त्रिवेणीमा डुबुल्की मार्न मौका पाए ।

भक्तराज आचार्य संगीत प्रतिष्ठान तथा रेष्टा फाउन्डेसनको सहयोगार्थ आयोजित सुमधुर साँझमा शालीन स्रोताको उपस्थितिले मल्कालीन दरबार क्षेत्रको माहोल भव्य बनाएको थियो ।

बीस, तीस र चालिसको दशकमा ४ सय ५० गीत गाएका भक्तराजका ‘मुटु जलीरहेछ’, ‘जति चोट दिन्छौ देऊ मायालु’, ‘हजार सपनाहरूको माया लागेर आउँछ’लगायत १६ वटा गीतलाई सत्यराज–स्वरुपराजले पालैपालो स्वर दिँदा भक्तराज ‘नोस्टाल्जिक’ बन्न पुगे । यस्तो लाग्थ्यो गीत भक्तराज गाइरहेका छन् स्वर उनका दुई छोराको कण्ठबाट निस्कीरहेको छ ।

नेपाली संगीत जीवन्त पार्ने गीत त्यसमाथि ‘सिंगिङ एन्ड कम्पोजिङ म्यास्ट्रो’ आचार्यका  कम्पोजिसन उनकै सामु गाउँदा सत्यराज–स्वरुपराज दुवै खुसी देखिन्थे । सांगीतिक चेला दुवै छोराले आफूतिर हेर्दै मधुर स्वरमा गीत प्रस्तुत गर्दा भजन शिरोमणि  टाउको हल्लाउँदै रमाए । बर्थडे केकमा मैनबत्ती निभाएर सुरुवात गरिएको साँझमा सत्यराज–स्वरुपराजको ‘तानसेन’ स्वरले डबली नै मधुर बनायो । गीतमा मग्न स्रोताले लोडसेडिङ भएर स्पिकर बन्द हुँदा पनि लय टुट्न दिएनन् ।

संगीतप्रेमी स्रोताको तारिफ सत्यराज–स्वरुपराजले सामुन्ने मात्र गरेनन् कार्यक्रमपछि सामाजिक सञ्जाल फेसबुकमार्फत् समेत गर्न छुटाएनन् । ‘२३ वर्षे सांगीतिक जीवनमा सयांै कार्यक्रम गरियो होला तर यो भने हाम्रो मनमा सधैं ताजा रहनेछ,’ उनीहरूले फेसबुकमा लेखेका छन्, ‘यस्ता स्रोता विरलै भेटिन्छन् ।’   ‘हजार आँखा हेर्ने मेरी मायालु’ गीतबाट कार्यक्रम समापन गरेका सत्यराज–स्वरुपराजले भजन शिरोमणिका भजन पनि गुनगुनाउन बाँकी राखेनन् ।

 

प्रकाशित: १८ आश्विन २०७३ ०२:५६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App