१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

देशमा उद्योग बढे समृद्धि सम्भव

गणेशभक्त साखः । तस्बिर : कृष्पा श्रेष्ठ

८९ वर्षको बुढ्यौलीमा पनि गणेशभक्त साखः सक्रिय छन्। सक्रियता किन ? उनी भन्छन्, ‘एक्टिभ भएन भने त लाइफ डल भएर जान्छ।’ एक्टिभ भएपछि फूर्ति आउँछ, काम गर्न मन लाग्छ। त्यत्तिकै के बस्ने भन्ने हुन्छ। छोराहरूले बिजनेसको सबै काम गर्छन्। उनी भन्छन्, ‘म अफिस जान्छु, भेटघाट गर्छु, गफसफ गर्यो घर फर्कियो। गणेशभक्तको व्यापार, व्यवसाय पारिवारिक विरासत हो।

भक्तपुर पुर्खौली थातथलो भएका साखः बाल्यकाल हुँदै  परिवार व्यापारमा लागेको थियो। बाबु रामभक्त साखः त्यसैबेला सिंगापुरबाट ल्वाङ, सुकमेल र जापानबाट कपडा आयात गर्दथे। गणेशको बाल्यकाल अर्थात् आजभन्दा ८०—८५ वर्ष अघिको कुरा हो यो। त्यसबेला उनी भर्खरभर्खर व्यापारमा आकर्षित भैरहेका थिए। ८९ वर्षीय गणेशभक्त आफ्ना बाबुको पालाको, आफ्नो समयको र छोराहरूले अहिले गरिरहेको व्यापारमा आकाशजमिनको फरक अनुभव गर्छन्।

‘मेरो बुबाले त्यसबेला सिंगापुरबाट सुपारी, ल्वाङ, सुकमेल र जापानबाट कपडा झिकाउनु हुन्थ्यो, राम्रो व्यापार थियो हाम्रो। मलाई लाग्थ्यो, अंग्रेजी फिटिक्कै नजाने बाले कसरी अर्डर गर्नुहुन्छ,’  गणेशभक्त भन्छन्, ‘बाले हामी सादा कागजमा लेखेर सामान मगाउँछाैं, तिमीहरूलाई टाइप राइटर चाहिने ?’ भन्नुहुन्थ्यो। अंग्रेजी जान्दै नजान्ने बाले कसरी सिंगापुर, जापानसम्मको व्यापारमा फैलिएका थिए ? बालसुलभ कौतुहलता उनको निकै पछि मेटियो।

गणेशभक्त भन्छन्, ‘कुरा के रहेछ भने बुबाको कलकत्ताको पार्टीसँग सम्बन्ध रहेछ, उनीहरूलाई आफूलाई चाहिने सामानको विवरण दियो, उनीहरूले मगाउने र हामीलाई पनि दिने रहेछन्। उनीहरूले पनि सोध्ने गर्दथे, हामीकहाँ जापानबाट सामान आउँदैछ, तिमीलाई कति चाहिने हो। त्यसरी व्यापार हुन्थ्यो, त्यसबेला। हाम्रो अर्डरअनुसारको सामान हामीलाई कलकत्ताबाटै छुटिन्थ्यो।’ उनको अनुभवमा त्यसबेला कलकत्ताबाट आएको सामान डि फर्म भन्ने एउटा फर्म भर्नुपर्दथ्यो। त्यही फर्मका आधारमा भन्सार तिर्नुपर्दथ्यो, भन्सार त्यो काठमाडौंको टेकुमा थियो अहिले नेसनल ट्रेडिङ भएको ठाउँमा।

‘म पनि गएको छु, त्यहाँ भन्सार तिरेर सामान छुटाउन,’ गणेशभक्त भन्छन्, ‘भारतबाहेक विदेशबाट आएको सामान दैनिक खोलिँदैनथ्यो, हप्ताको एक दिन मात्र खोल्ने चलन थियो।’ आफ्ना सामान लिन काठमाडाैंमा व्यापारीहरु, उनका छोराहरू गएका हुन्थे, त्यसैगरी गणेशभक्त पनि भक्तपुरदेखि आउँथे। उनका अनुसार डि फर्म भरेर आएका सामान छुट्टै स्थानमा राखिएको हुन्थ्यो, त्यस्ता सामान क्लियर गर्दा एकजना भारतीय दूतावासको मानिसको रोहवरमा हुन्थे, साहेव साप भन्दथे ती अधिकारीलाई ।

गणेशभक्तले भारतीय भन्दा पहिला ब्रिटिस अधिकारी बस्ने गर्दथे भन्ने सुनेका हुन् त्यसैबेला। ‘उनीहरूले पास गरेपछि मात्र हामीहरू नेपाल सरकारको फर्महरू भरेर भन्सार शुल्क तिरेर आफ्ना सामान लिएर जान्थ्यौं’ गणेशभक्त भन्छन्, ‘त्यसबेला धेरै परिमाणमा सामान आउँदैनथ्यो, जनसंख्या पनि कम थियो, मानिसका आवश्यकता पनि कम थिए।’  माल पास गरेकै दिन भन्सार भने तिर्नुपर्दैनथ्यो वर्षको एकपटक तिर्दा हुन्थ्यो। त्यसबेला ३२ कोटी महाजनहरू भन्ने गरिन्थ्यो, तीमध्येमा पर्दथ्यो भक्तपुरको साखः परिवार पनि।

गणेशभक्तको  अनुमानमा त्यसबेला विदेशबाट सामान आयात गर्ने ३२ जनाले अधिकार पाएको हुनसक्छ। त्यसैले ३२ कोटी महाजन भन्ने गरिन्थ्यो। यस्तो चलन २००७ अघिसम्म थियो र प्रजातन्त्र आएपछिका ८, ९ सालसम्म थियो। सालको एक पटक भन्सार तिर्ने व्यवस्था पछि हट्यो, मंसिर महिनामा सालिन्दा भन्सार बुझाउनुपर्दथ्यो, म कतिपटक त्यसरी भन्सार बुझाउन गएको छु। त्यो बेला र अहिलेको अवस्था सम्झँदा म छक्क पर्दछु। मलाई थाहा छ, त्यो बेला बढीसे बढी तिरेको वर्ष १२ हजारसम्म हो। बाले झिकाउने सुति धागोमा भन्सार लाग्दैनथ्यो, कपासमा भन्सार लाग्दैनथ्यो। त्यसबाहेक विदेशी कपडा झिकाउँदा गजको २ पैसा, ४ पैसा लाग्दथ्यो।

कारोबार भने सानो थिएन। चन्द्रबहादुर कर्णेल भन्ने एकजना थिए। राणा शासनको सयममा उनको ठूलो प्रभाव थियो, उनले व्यापार, व्यवसाय हेर्दथे। चन्द्रबहादुर कर्णेल भनेपछि सबै थर्कमान हुन्थे। मानिस पनि ठूलो ज्यानका थिए। प्रजातन्त्र आएपछि पनि उनलाई ठूलै पद दिइएको थियो, सायद डाइरेक्टर होला।

दोस्रो विश्वयुद्धको समाप्त भएपछि समयमा सामानको अभाव हुन थाल्यो। त्यसपछि मात्र मालसामानको लगत लिने, त्यसको विवरण राख्ने लाइसेन्सको व्यवस्था गर्ने कुरा सुरु भएको उनको स्मृतिमा छ। भारतले त्यसबेला नून, चिनीलगायतका सामानका कोटा लगाउन थालेको उनी बताउँछन्। लगत लिने बेलाको अनुभव सुनाउँदै गणेशभक्त भन्छन्, ‘त्यसबेला चन्द्रबहादुर गृह सचिव थिए, उनी हाम्रो घर भक्तपुर आए। सामानको लगत लिन। त्यसबेला भक्तपुरमा बाहिरबाट सामान झिकाउने हाम्रो मात्र फर्म थियो, कृष्णलाल रामभक्त फर्म भन्ने। कृष्णलाल मेरो बाजे। रामभक्त मेरो बुबा।’

लगत दिने क्रममा मेरो बुबाले भक्तपुरमा व्यापार कम हुने भएकोले आयात गरेका सामान वीरगञ्जमा गोदाम भाडामा लिएर राखेको र काठमाडांैमा डेरा लिएर राखेको विवरण दिएको उनी सम्झन्छन्। लगत लिने दिने काम कुरा भैरहेको बेला नजिकै बसेर सबै कुरा नियालिरहेका गणेशभक्तको त्यो क्षण अहिले पनि ताजै छ। ‘सबै लगत लिँदा भक्तपुर, काठमाडौं र वीरगञ्जमा गरेर जम्मा १ लाख २० हजार गज कपडा रहेछ।  चन्द्रबहादुरले बालाई काजी यो कपडाले त नेपाललाई ६ महिना पो पुग्छ’ गणेशभक्त भन्छन्, ‘त्यसबेलाको नेपाल भनेको काठमाडौं उपत्यका मात्र हो, काठमाडौं बाहिर नेपाली रुपैया नै चल्दैनथ्यो।’

बुबाको भारत कलकत्ताको जोहरनाथ जगन्नाथ भन्ने पार्टी रहेको र त्यसैमार्फत जापान, सिंगापुरका सामान आयात हुने गरेको उनको कथन छ। ‘कतिपय समयमा त उधारोमा पनि माल सामान आउँथ्यो र यहाँबाट पैसा पठाउनुपर्दथ्यो,’ गणेशभक्त भन्छन्, ‘त्यो बेला अहिलेको जस्ता बैंक थिएनन्, ड्राफ्टस्राफ्ट भन्ने कुरै भएन।’ कसरी पैसा यताउता जान्थ्यो त ? गणेशभक्त त्यसबेलाको पैसाको कारोबारबारे भन्छन्, ‘भारतीय दूतावासमा हुलाक थियो, हुलाकबाट ठूला खाम किनेर ल्यायो, भित्रपट्टी कपडाले मोरेका खाम, खामभित्र भारतीय पैसा राख्यो, सिल गर्यो, ठेगाना लेखेर पठाइदियो।’ अहिलेको पैसाको कारोबार र त्यसबेलाको पैसाको कारोबार देखेर छक्क पर्ने गरेको सुनाउँदै उनी भन्छन्, ‘खै के भन्ने त्यो बेलालाई सत्य युग भन्ने कि के भन्ने सबै थोक सोच्दा आफैँ छक्क पर्दछु।’ 

बिजनेसमा लाग्दाका दिन
गणेशभक्तको पारिवारिक माहोल व्यापारिक भएकोले सानै उमेरदेखि बुबाको काममा लागी परेका हुन्। ‘यता पैसा लिन जाउ। उता जाउ, यसलाई भेट उसलाई भेट भन्नुहुन्थ्यो’ त्यसैगरी व्यापारमा लागेको हो।

कोटा प्रणालीसँगै बम्बेमा पढाइ
विश्वयुद्ध सकिएपछि सामानको अभाव हुन थालेपछि भारतले सबै थोकमा कोटा तोक्यो। नून, चिनी, कपडाको कोटा तोक्ने व्यवस्था सुनाउँदै गणेशभक्त भन्छन्, ‘हामीले भक्तपुरको नुन्, चिनी तथा कपडा १ लाख २० हजार गजको कोटा पाएका थियौँ। कोटा प्रणाली सुरु भएपछिको नयाँ व्यवस्थामा कुराकानी गर्न बाबु रामभक्त बम्बे जाने योजना बनाएर छोरालाई पनि लिएर गए। त्यसबेला गणेशभक्त १९, २० वर्ष उमेरका थिए र पद्मोदय स्कुलमा अध्ययन गरेका थिए। बम्बेमा पुगेपछि बाबुले व्यापारका काम कुरा सकेपछि मलाई त्यहीँ पढ्न भनेर छोड्नु भयो। ‘बाले त मलाई म छोरो यहीँ छोडेर जान्छु यसलाई पढाउनु भन्नुभयो,’ गणेशभक्त भन्छन्, ‘बाबुले मलाई बम्बे लिएर गएको त त्यहीँ छोड्न पो रहेछ।’
बम्बेमा सुरुका तीन महिना पाटन जीवनाथ श्रेष्ठकोमा बसेको उनी बताउँछन्। त्यसबेला नेपालीहरूको बम्बेमा राम्रो व्यापार चलेको उनको स्मृतिमा छ। त्यहाँ नेपाल डिलर्स सिन्डिकेट भन्ने संस्थागत व्यवस्था थियो र त्यहाँ मारवाडी, नेपाली साहुहरू गरेर ६, ७ जना थिए। उनीहरूले नै सबै कारोबार गर्दथे। ‘३ महिनापछि बम्बेमा आर्ट पढ्न गएका हिरण्यध्वज जोशीसँग मिलेर फ्लाट लिएर बस्न थाल्यौं,’ गणेशभक्त भन्छन्, ‘ ताजमहल होटलकै नजिकै हजरत कोर्ट भन्ने बिल्डिङमा फ्लाट लियाैं, बिजुलीको सबमिटर भएको, ग्यास भएको फ्लाट थियो। पहिला ब्रिटिसहरू बसेर छोडेको फ्लाट रहेछ राम्रो, सुविधा सम्पन्न थियो, बहाल भने सामान्य थियो, सरकारी दररेटको।’

चार सय छेलोखेलो
हिरण्यध्वज र गणेशभक्त करिब ५ वर्षसम्म सँगै त्यहीँ बसे। जोशीले आर्टस् पढे भने गणेशभक्तले कमर्स। त्यसबेला नेपालमा कमर्स पढाइ हुँदैनथ्यो। कमर्समा डिप्लोमा गरेर ५ वर्षपछि उनी नेपाल फर्किए। बम्बेमा छोराका लागि रामभक्तले महिनाको ४ सय दिने गर्दथे। त्यो पैसाले पुग्दथ्यो त ? प्रश्नमा गणेशभक्त भन्छन्, ‘जति पनि पुग्दथ्यो, त्यसबेला पैसा खर्च गर्ने धेरै कुरा थिएनन्, बम्बे ठूलो ठाउँ घुम्यो, रमाइलो गर्यो, पढ्यो, त्यसरी नै बित्यो, त्यो पैसाले हामीले बम्मेमा कुक राखेर बसेका थियौँ।’ अहिले त ४ सयले राम्रो खाजा पनि आउँदैन।’  यता, नेपालमा भने उनी बम्मे पढेको कुराले परिवारमा शान थप्यो। ‘बम्बेमा छोरो पढाउन सक्ने कति ठूलो मानिस भन्थे बुबालाई,’ गणेशभक्त सम्झन्छन्, ‘सामान्य मानिसले बम्मेमा छोरा पढाउने भन्ने कुरा थिएन, त्यो एउटा शान थियो।’

२००५ सालदेखि व्यापारमा सक्रिय
बम्मेबाट कमर्समा डिप्लोमा गरेका गणेशभक्तका नयाँ जोश जाँगरका साथ नेपाल फर्किए। सुरुमा उनले बाबुले गर्दै आएको व्यापारमा सहयोग गरे, सम्हाले भनेपछि आफूले थप्दै थप्दै गए। ‘सुरुमा पारिवारिक व्यापार सम्हाल्नु थियो, बिस्तारै डाइभर्सिफाइ गर्दै लगेको हो।’ बाबुले गर्दै आएको कपडाप्रति उनको ध्यान गएन। उनी बाबुले गरेको व्यापारलाई ब्याकग्राउन्ड भन्ने गर्दछन्। विभिन्न खाले उत्पादन, मेसिनरीको एजेन्सी लिएको उनी बताउँछन्। ‘मैले चकलेट, बिस्कुटजस्ता सामान झिकाउन थालेँ, जर्मनीबाट लुगा सिउने मेसिन झिकाएँ।’ ६, ६ महिनामा चाइना जान पाइन्थ्यो, म चीन जाने गरेको बताउँदै गणेशभक्त भन्छन्, ‘नेपाललाई जेजस्ता सामान चाहिन्छ, त्यहीअनुसार विभिन्न देशबाट झिकाउने काम गरियो लामो समयसम्म,’ गणेशभक्त भन्छन्, ‘उद्योगमा हात हालेको त २०३१ सालदेखि हो।’

२०३१ सालदेखि उद्योग
व्यापारको सिलसिलामा म काठमाडौंको हात्तीसारमा बस्थेँ, त्यहीँबाट जर्मन, जापान, चिनियाँलगायतका सामानहरूको कारोबार हुन्थ्यो। अहिले पनि त्यो अफिस साखः सेन्टर भनेर चिनिन्छ। साखःको मुख्य कार्यालय भने कोटेश्वर तीनकुनेमा रहेको छ। गणेशभक्तले भने काठमाडौंको बजार छोडेर भक्तपुर, हनुमन्ते पुलछेउको जमिनमा उद्योग राख्ने निर्णय लिए। अहिले उनी दिनहुँजसो हनुमन्ते छेउमा सबैभन्दा पहिले स्थापना गरेको फ्याक्ट्रीमा पुग्छन्, एक छिन अफिसमा बस्छन् र भक्तपुर चुनदेवीस्थित निवासमा फर्कन्छन्। ‘साताको दुई तीनपटक साखःको मुख्य कार्यालय जान्छु,’ गणेशभक्त भन्छन्, ‘पत्रपत्रिका पढ्यो, भेटघाट गर्यो, गफसफ गर्यो घर आयो, मेरो धेरै काम छैन आजकल।’

उद्योगको जग बसेको हनुमन्तेमा अहिले विभिन्न उद्योग छन्, नेपाल पेन्ट्स त्यहीँबाट उत्पादन हुन्छ। साखः मेटल एण्ड एलाइड इन्डस्ट्रिज, युनिसा होल्लीङ रहेका छन् त्यहाँ। त्यही फ्याक्ट्रीको कार्यालयमा कुरा गर्दै गणेशभक्तले आजभन्दा करिब ३५ वर्षअघि उद्योगमा हात हाल्दाताकाको लामो कहानी सुनाए। हामीसँग जर्मनको ठूलो कम्पनी हेक्स जसका त्यसैबेला १ लाख २० हजार कर्मचारी थिए, एजेन्सी थियो। गणेशभक्तले त्यो कम्पनीबाट सामान झिकाउँथे, त्यसैबेला जनकपुर चुरोट कारखाना चल्न थाल्यो। सुरुमा त्यसलाई ग्लु, मोबिल्सलगायतका सामान दिने गरेका उनले कारखानाको माग बढ्दै गएपछि सामान पुर्याउन धौधौ भयो। विदेशबाट आयात गरेर कारखानाको बढ्दो माग पूरा गर्न नसक्ने र कारखानाको आवश्यकता पूरा गर्न अरू खेलाडी पनि आउन सक्ने अवस्था आएपछि गणेशभक्त  आफैं उद्योग खोल्ने निर्णयमा पुगे। ‘कारखानाको मागअनुसार सामान दिनुपर्ने भएपछि बम्बे गएर फ्याक्ट्री खोल्ने सबै बन्दोबस्त मिलाएर खोलेको हो,’ गणेशभक्त भन्छन्, ‘सबै भन्दा पहिले युनिसा पोलिकेम उद्योग खोलेर उत्पादन गरेको हो।’

त्यसपछि नेपाल पेन्ट्सको उद्योग खोले उनले त्यसको पनि आफ्नै कथा छ। उनी सन् १९८८ मा दक्षिण कोरियाको सोलमा आयोजना भएको टेक्नोलोजी ट्रान्सफर सम्मेलनमा नेपालबाट भाग लिन गएका थिए। उनी त्यसबेला नेपाल फोरेन ट्रेड एसोसिएसनका उपाध्यक्ष थिए। त्यही नाताले सम्मेलनमा भाग लिन पुगेका उनले त्यहाँ कोन्चु केमिकल्स इन्डस्ट्रिज कम्पनी भन्ने निकै ठूलो कम्पनीमा मालिकहरूसँग कुराकानी भयो, उनीहरूसँग सोलमा सम्झौता भयो। ‘उनीहरूको समेत साझेदारीमा नेपाल पेन्ट्सको जन्म भयो,’ गणेशभक्त भन्छन् ‘सुरुसुरुमा त पैसा पनि दिएको हो, तर अहिले भने लाइसेन्स अन्डर भन्ने छ, फ्याक्ट्री हाम्रो मात्र हो।’ नेपाल पेन्ट्सको स्थापनापछि उनको अर्को यात्रा बन्यो, रोलिङ मिल। त्यसको पनि रोचक कथा छ गणेशभक्तसँग। त्यसबेला युगोस्लाभियाबाट तामा पित्तलका पाता आउँथे नेपालमा। उनले पनि त्यस्ता पाता आयात गरेर बिक्री गरे। तर, त्यत्तिले चित्त बुझेन। उनी दिल्ली गएर रोलिङ मिल खोल्ने योजनामा लागे। ‘सबै कुरा भयो, फ्याक्ट्री पनि खोलियो तर हामीले २ फिट लम्बाइ, २ फिट चौडाइभन्दा ठूला पाता बनाउन सकेनौँ,’ गणेशभक्त भन्छन्, ‘जापान, जर्मन, बेलायतमा ८ फिट लामा, ४ फिट चौडा पाता उत्पादन हुन्छन्।’ रोलिङमिलबाट उत्पादित तामा पित्तलका पातासँगै बुटवलमा प्रेसर कुकर बनाउने उद्योग खोल्न पुगे।

यही क्रममा २०५१ सालमा बाराको सिमरामा स्टिल कारखाना स्थापना भयो। साखः स्टिलले फलामे रड लगायतका फमालका निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको छ। ५० कै दशकमा गणेशभक्त चाउचाउ उद्योगमा हात हालँे। नेपाली उत्पादनमा चौधरी ग्रुपको वाइवाई चाउचाउ र पोखराको रारा चाउचाउ बजारमा थिए त्यसबेला। उनले पनि साझेदारीमा मल्टिफुड इन्डस्ट्रिज कम्पनी खोलेर मिनमिन चाउचाउलगायतका उत्पादन गरे। उद्योग राम्रोसँग चल्दै थियो, तर चाउचाउ फ्याक्ट्री चलाइने इन्धन फर्नेस आयलको भाउ ह्वात्तै बढेपछि चल्न सकेन बन्द भयो।

भुसको  खेल
चल्दा चल्दैको फ्याक्ट्री किन बन्द गरेको त ? गणेशभक्त भन्छन्, ‘भुसको खेल’। फ्याक्ट्री चलाउन फर्नेस आयल प्रयोग हुन्यो। तर, फर्नेस आयलको भाउ एक्कासि बढेर २१ रुपैयाँ किलो पर्यो। अरु चाउचाउ फ्याक्ट्री भुसको आगो बालेर फ्याक्ट्री चलाउँथे, सबै उद्योग काठमाडौं सहरभन्दा बाहिर खुला ठाउँमा थिए। ‘एक केजी फर्नेस आयलले गर्ने काम तीन केजी भुसले गर्दछ,’ गणेशभक्त भन्छन्, ‘भुस चलाउनेको खर्च ६ रुपैयाँ हुँदा हाम्रो २१ रुपैयाँ भयो, उनीहरूको नाफैनाफा हाम्रो घाटैघाटा।’ बालाजु औद्योगिक क्षेत्रको स्विमिङपुल नजिकै रहेको फ्याक्ट्रीमा उनले भुस बाल्ने हिम्मत गरेनन्। त्यसपछि उनले काठमाडौं बाहिर चलिरहेको एउटा फ्याक्ट्रीवालासँग साझेदारीमा चाउचाउ उत्पादन गर्ने जमर्को नगरेका होइनन् तर काम बनेन। ‘बस्तीबीच बालाजु बजारमा भुस बालेर फ्याक्ट्री चलाउने हिम्मत नै आएन,’ गणेशभक्तले भने, ‘चलिराखेको उद्योग बन्द गर्नुपर्यो।

गणेशभक्तले २०३१ सालमा सुरु गरेको उद्योग अहिले विस्तारित हुँदै साखः ग्रुपको रुपमा परिचित। गणेशभक्त साखःको छाताभित्र अहिले कुन–कुन उद्योग छन् त ? गणेशभक्त लेखो गर्दछन् ‘स्टिल, मेटल, पेन्ट्स, पोलिकल, औषधि उद्योग। चेमी ड्रग औषधि उद्योग उनले अरूबाट किनेर आफूले  सञ्चालन गरेका हुन् भने अरु आफैँले स्थापना गरेका हुन्। त्यसो त साखः ग्रुप व्यापारमा पनि उत्तिकै सक्रिय देखिन्छ।  गु्रपले मोटरलगायतका गार्मेन्ट आयात निर्यात गर्दै आएको छ। गणेशभक्त भन्छन्, ‘गार्मेन्ट पहिला राम्रो थियो, हामीले पनि गरेका थियौं, अहिले सुक्यो।’

करिब ५ दशक उद्योगमा लागेका गणेशभक्तको अनुभवमा सरकारले उद्योगलाई हेर्दै हेर्दैन। उनी भन्छन्, ‘सरकार भनेको उद्योगीबाट लिने मात्र हुन्, ट्याक्स लिने, यो लिने त्यो लिने, तर केही नदिने।’ उनी भ्याटको नाममा सरकारले दुःख दिएको बताउँछन्।

भ्याटको  फन्दा : सय रुपैयाँको मूल्य ७३ लाख
नेपालमा भ्याट २०५४ सालदेखि लागू भएको हो। लागू हुनुभन्दा पहिले विस्तृत अध्ययन भएको थियो। र अध्ययन टोलीमा गणेशभक्त आफैं पनि सदस्य थिए। क्यानडाबाट आएका विशेषज्ञसमेत रहेको टोलीको अध्यक्ष रुप खड्का थिए भने गणेशभक्त उद्योग वाणिज्य महासंघको सदस्यको हैसियतमा भ्याट अध्ययन टोलीको सदस्य थिए। नीति बनाएजस्तो कार्यान्वय पक्ष सबल हुन नसकेको उनको अनुभव छ। गणेशभक्त आफँै पनि भ्याटको फन्दामा परे।

भ्याट लागू भएपछि पहिलेको सेल्स ट्याक्स सबै भ्याटमा परिणत गरियो। त्यसबेला साख स्टिलले एक सय रुपैयाँ तिर्नुपर्ने उनी बताउँछन्।‘ भ्याट लागू भएपछि हामीले महिनैपिच्छे भ्याट तिर्दै गयौँ, हामीलाई सय रुपैयाँ तिर्नुपर्ने कुरा हेक्का पनि रहेन, सधैँ भ्याट क्लियर भैरहेको छ भन्नेमा हामी हुन्छाैं, वास्ता गरेका थिएनौँ सय रुपैयाँको गणेशभक्त भन्छन्, ‘तर २०६८ सालमा भ्याटबाट पत्र आयो ७ लाख बाँकी तिर्न आउनु नत्र भने जरिवाना हुन्छ, लिलाम हुन्छ भन्ने व्यहोराको। पत्रले गणेशभक्त आश्चर्यमा परे, कसरी यत्रो पैसा हुनसक्छ, भ्याट क्लियर गर्दै आएका छौँ भन्ने निचोडमा पुगेर उनले भ्याट कार्यालयलाई पत्र पठाए ‘हामीले तिर्नुपर्ने छैन, हामीले समय–समयमा तिरिनै राखेका छौं, बरु करिब ४ लाख भ्याट सरकारबाट फिर्ता लिनुपर्नेछ।’

पत्र पठाएपछि गणेशभक्तले ठाने भ्याट कार्यालयको चित्त बुझ्यो, ऊ फेरि आएन। पत्रको कुनै जवाफ पनि आएन। ‘हामी ढुक्कका साथ बसिराखेका थियौँ। पैसा नतिरेको भन्ने सूचना खासै नपढिने पत्रिकामा छपाएछन् र कारबाही गर्ने प्रक्रियाको अगाडि बढाएछन्,’ गणेशभक्त भन्छन्, ‘एक्कासि राष्ट्रबैंकको पत्र आयो, खाताहरू रोक्का गरेको भन्दै।’ असारको तेस्रो साता आएको राष्ट्रबैंकको पत्र ठूलो समस्या बन्यो साखः ग्रुपका लागि। असारमा खातामा जम्मा हुनुपर्ने मुहानहरू रोकिएपछि साखः ग्रुपले बाध्य भएर ७३ लाख बुझ्यो र खाता सञ्चालन ग¥यो’। ‘हामी त कोही माइवाप नै नभए जस्तो भयो, उद्योग सञ्चालन गर्न बाध्य भएर पैसा बुझायौँ’ गणेशभक्तले भने, ‘हामीले तिनुपर्ने पैसा होइन त्यो, तर तिर्न बाध्य पारियो। सय रुपैयाँको कुरामा ७३ लाख असुलियो, सरकार नै विरुद्धमा लागेपछि कसले के गर्न सक्ने रहेछ र ?’

३ प्रतिशतको चलखेल
गणेशभक्तसँग उद्योगीलाई सरकार तथा सरकारी निकायले दिने दुःखका धेरै कथा छन्। स्टिल उद्योगी उनका लागि ३ प्रतिशतको अर्को खेल भने भन्सार विभागका निर्देशक चूडामणि शर्माको आदेशले सिर्जना गरेको। २०५४ सालमा एकद्वार प्रणालि लागू भएपछि स्टिल उद्योगहरूले ६ प्रतिशत बर्निङ र ३ प्रतिशत स्क्राइव लोसको छुट पाउने व्यवस्था थियो। त्यस्तो व्यवस्थामा परिवर्तन मन्त्रिपरिषदले मात्र गर्न सक्थ्यो। तर गणेशभक्तका अनुसार शर्माले घुमाउरो पाराले १०६ केजी कच्चा पदार्थबाट १०० किलो माल दिनुपर्ने नीति अख्तियार गरे। ‘सोझै ३ प्रतिशत घाटा लगाउने खेल खेलियो,’ गणेशभक्त भन्छन्, ‘ हामी अरु स्टिल कम्पनी मिलेर मुद्दा हाल्यौं, मुद्दा हामीले जित्यौँ, तर त्यो अनुसार सुविधा प्राप्त गर्न सकेका छैनौँ, मुद्दा गर्ने क्रममा जम्मा गरेको हाम्रो धैरै पैसा त्यत्तिकै फ्रिज भएर बसेको छ।’ सरकार समग्रमा व्यवसायी, उद्यमीप्रति सहयोगी हुन नसकेको उनको अनुभव छ।

राणा कालदेखि, पञ्चायत, प्रजातन्त्र र अहिलेको लोकतन्त्रमा व्यापार, उद्यम गरेका गणेशभक्त राजनीतिक व्यवस्था उदार हुँदै गए पनि व्यवसायीमाथि अझ कठोर वातावरण बन्दै गएको छ। राणा कालमा नियम, कानुन केही थिएन, सीमित मानिस थिए, सानो माग र बजार भएकोले ठूलो कुनै समस्या नआउने, सामान्य अवस्था बताउँछन् उनी। ‘प्रजातन्त्र आएपछि भन्सारको सुविधाहरु खोसिएको र सामान आयात गर्दा भन्सारमै राजस्व तिर्ने लगायतका कोटा प्रणाली सुरु भएको बताउँछन्। ‘नियम बनाउनु पनि आवश्यक छ, नत्र कति व्यापारी पैसा नतिरी भाग्ने खालका पनि हुन्छन्,’  गणेशभक्त भन्छन्, ‘मैलै नै वर्षको १२ हजार भन्सार तिरेको हो उसबेला अहिले एक र्याक फलाम आउँदा ३ करोड भन्सार तिर्न चाहिन्छ हामीलाई, कहाँ वर्षको १२ हजार कहाँ एक पटकमा ३ करोड।’ पञ्चायत कालमा पहुँचवालाले मात्र कमाएको उनको कथन छ। कोटा प्रणाली र पहुँचवालले मात्र लाइसेन्स पाउने भएपछि सीमित मानिसले धेरै कमाए। मारवाडीहरूले पञ्चायत कालमा धेरै कमाएको बताउने गणेशभक्त आफ्नो फोलिकलको सानो उद्योगबाट धेरै कमाउन नसकेको बताउँछन्। पंचायतपछिको प्रजातन्त्र र लोकतन्त्रमा त उद्यमीहरूका लागि झन्झन् गाह्रो बनिरहेको उनको विश्लेषण छ। उनी भन्छन्, ‘अहिले त उद्यमी, व्यापारीबाट लिने मात्र गरिन्छ, कुनै खालको सहयोग गर्नुपर्छ भनिँदैन।’

९० वर्ष उमेरका गणेशभक्त शिक्षा र सामाजिक जागरणले अधिकारका कुरामा मानिस बढी केन्द्रत हुन थालेको आँकलन गर्छन्। ‘पहिला शिक्षा थिएन, चेतनाको कमी थियो, अहिले शिक्षा छ, चेतना, जागरण छ,’ गणेशभक्त भन्छन्, ‘तर अहिले काम भन्दा राजनीति र अधिकारका कुरा धेरै हुन थाले।’ विकास निर्माणको हकमा परिवर्तनहरू देखिए पनि दिगो खालको विकास हुन नसकेको उनी बताउँछन्।

मेजर ब्रेकफास्ट
गणेशभक्तको दैनिकी सामान्य खालको रहेको उनी बताउँछन्। बिहान सबैरे उठेर नित्य कर्मपछि मर्निङवाकमा निस्कने उनी त्यसपछि नुहाइधुवाइँ पूजाआजामा बस्छन्। ‘पूजा सकेपछि ब्रेकफास्ट गर्ने हो,  ब्रेकफास्ट मेजर हो, मेरो त्यस्तै बानी पर्यो,’ गणेशभक्त भन्छन्, ‘ब्रेकफास्ट पछि अफिस गयो, धेरै जसो भक्तपुर अफिस, कहिले काहीँ काठमाडौं।’ अफिसबाट अपराह्न घर फर्किएपछि लन्च खाएपछिको समय घरमै बित्छ पत्रपत्रिका हेर्नु र घरपरिवारका सदस्यसँग। रातको ८,९ बजेसम्मका डिनर खान्छन् उनी। जवानीमा राम्रो पिउने उनी आजकल घरमा पिउँदैनन्। पाटीहरूमा जाँदा एक पेग मात्र।

परिवार
गणेशभक्तका ५ भाइ छोरामध्ये ४ जना उद्यममै लागेका छन्। जेठो छोरा बुहारी किरण प्रकाश– कुुसुम, माहिलो तेजप्रकाश–रबिना, साहिँली बुहारी सुनिता, काहिँलो विश्वप्रकाश–डिम्पल र कान्छो ज्योति प्रकाश–जेनी र उनीहरूका छोरा छोरी सबै एउटै ठूलो कम्पाउन्डका बेग्लाबेग्लै घरमा बस्छन्। छोराहरू साखः गु्रपको विभिन्न जिम्मेवारीमा छन्। ३ वटी छोरी उषाकिरण, कल्पना किरण र कोमल किरणको। गणेशभक्तका छोराछोरीतर्फ गरेर १७ नातिनातिना छन्। पत्नी जनकलक्ष्मी एक दशकअघि र साहिँलो छोरो प्रभातको केही वर्ष अघि निधन भैसकेको छ।

साखः ग्रुपको विस्तार र विकासको पछाडि  पारिवारिक मेलमिलाप, शालीन, शिक्षित सन्तात र उनीहरूबीचको समन्वय प्रमुख कारण मान्छन् गणेशभक्त। ‘सन्तान शिक्षित, शालीन भए भने स्थापना भएका उद्योग, धन्दा फैलँदै विकसित हुँदै जान्छन्,’ गणेशभक्त भन्छन्, ‘उनीहरू शिक्षित भएनन्, शालीन भएनन् र संगत राम्रो भएन भने भैरहेको, स्थापित संरचना पनि भत्कँँदै ध्वस्त हुँदै जान्छन्।’

पाँचैजना बुहारीहरू शिक्षित भएकोले घरपरिवार उद्यम दुवै राम्रोसँग अघि बढिरहेको गणेशभक्त बताउँछन्। उनी त्यसको श्रेय ठूली बुहारी कुसुमलाई दिन्छन्। ‘कुुसुम हावर्डबाट ल पढेकी हुन्, उनले सबैलाई राम्रो व्यवहार गरेकोले अरु सबै बुहारीले त्यही सिके। सबैले राम्रो शिक्षा पाएका छन्,’ गणेशभक्त भन्छन्, ‘घर परिवार राम्रो भयो भने व्यापार, व्यवसाय पनि राम्रो हुन्छ, घरमा राम्रो वातावरण बनाउने काम महिलाको हो।’ ‘उद्योग व्यापार फैलनु, विकास हुनुका पछाडि सन्तानको हात हुन्छ,’ गणेशभक्त भन्छन्, ‘सन्तान राम्रो, उद्योग राम्रो, व्यापार राम्रो, सन्तान बदमास सबै थोक स्वाहा।’

संयुक्त परिवार कि एकल परिवार
जेठो छोरा बुहारी बाबु गणेशभक्तसँग बस्छन्। अरू छोराहरूका आ–आफ्नै घर छन्। कस्तो परिवार त गणेशभक्तको ? प्रश्नको उत्तर दिन सक्तैनन् उनी। भन्छन्, ‘एकल भनौ कि संयुत्त।’ उनले ठ्याक्क उत्तर दिन नसक्नुका कारण छन्। ‘व्यापार, उद्यम एकै ठाउँ बसेर काम गर्ने, सबैको एउटै सेन्टर अफिस’ गणेशभक्त भन्छन्, ‘खानेपिने बस्ने घर बेग्लाबेग्लै।’ उनी थप्छन् ‘उद्योग एउटै घर, बस्ने घर बेग्लाबेग्लै।’ सबै साख ग्रुपको कुनै न कुनै जिम्मेवारी सम्हालिरहेको बताउँदै गणेशभक्तले भने, ‘सबैले सेन्टर अफिसबाट पैसा लिन्छन्, सबै सेन्टर अफिसका जागिरे हुन्, म पनि जागिर खान्छु आफ्नो उद्योगमा।’ गणेशभक्तको शब्दमा उद्योगका संयुक्त, परिवार, घरमा एकल परिवार।
भक्तपुर चुनदेवीमा ३० रोपनीको एउटै कम्पाउण्डमा ५ वटा घर छन्, गणेशभक्तका ५ भाइ छोराका। उनी भन्छन्, ‘आ–आफ्नो रुचिअनुसार खाने बस्ने हो, सबैजनाको सेन्टर अफिस एउटै हो, सबै सेन्टर अफिसप्रति जिम्मेवार छन्।’  
चार दशक काठमाडौंको हात्तीसारमा बसेर उद्योग, व्यापारमा जमेका गणेशभक्त एक दशकअघि भक्तपुर फर्किएका हुन्। उनको विचारमा भक्तपुरबाट काठमाडांै गएकाहरू बिस्तारै आफ्नो पुर्खोैली थातथलो फर्कनेक्रम बढेको छ। 

सबै भन्दा राम्रो उद्योग राजनीति
गणेशभक्त त्यो उमेरमा पनि राजनीतिमा पनि उत्तिकै सक्रिय थिए। बाल्यकाल २००५ सालमा गल्लीगल्लीबाट निस्किएको जुलुसमा सहभागी भएको बताउने उनी २०१४ सालको नगरपालिका चुनावमा वडाबाट उम्मेदवारसमेत भएका थिए। चुनावमा जित त भएन तर राजनीतिमा उनी लागि नै रहे। राजनीति र बिजनेस दुवै एकैपटक नहुने निचोडमा पुगे पनि कांग्रेसको भक्तपुर राजनीतिमा भने उनी सक्रिय नै रहेका थिए। उनलाई पञ्चायत कालमा पञ्चायतमा तान्ने प्रयास भयो। ‘एकजना प्रमुख जिल्ला अधिकारीले त कुरा गर्दै गर्दा नगरपालिका चलाउनुस् भन्ने अफर गरे’ गणेशभक्त भन्छन, ‘मैले मानिनँ, ती प्रजिअले धेरै दुःख दिए।’  त्यसपछिको  प्रजिअ त राजा महेन्द्र ४४ औं जन्मोत्सव कार्यक्रमको अध्यक्ष गणेशभक्तलाई बनायो। ‘कस्तो खेलकुद, पञ्चायतमा पस्न नमानेपछि जन्मोत्सव समितिको अध्यक्ष बनाए,’ गणेशभक्त भन्छन्, ‘राजनीति मात्र होइन व्यापार, व्यवसाय पनि छ, जन्मोत्सव समारोहमा जानै पर्यो, जयजयकार गर्नै पर्यो।’ जन्मोत्सव समारोहमा सहभागी हुनुपरेको घटनाले दिक्क गणेशभक्त भक्तपुर बस्न छोडेर काठमाडाैं सरे र यतै बसेर उद्यम व्यापार गरे।

४ दशकसम्म काठमाडौंमा रहेर उद्योग, व्यापारमा जमेका गणेशभक्त नेपालको अहिलेको राजनीतिलाई राम्रो उद्योगको संज्ञा दिन्छन्। ‘नेपालमा सबैभन्दा राम्रो उद्योग राजनीति हो, त्यहाँ इज्जत पनि छ, कमाइ पनि छ’ गणेशभक्त भन्छन्, ‘उद्योग व्यापारमा पैसा त होला तर इज्जत छैन, इज्जतविनाको पैसाको के काम ? व्यापारी उद्योगीलाई केही छैन। राजनीतिमा पैसा लगानी नगरी कमाउन पाइन्छ, नाफाको उद्योगको राजनीति।’ नेपालको राजनीति व्यक्तिवादी हुँदै गएकोले विकृतिहरू आएको उनको विश्लेषण छ।

देश विकासको आधार उद्योग
भक्तपुर उद्योग वाणिज्य संघको संस्थापक हुँदै उद्योग वाणिज्य संघलगायतका संघसंस्थामा विभिन्न जिम्मेवारी सम्हालेका गणेशभक्त देश विकासको मूलमन्त्र उद्योग हुनुपर्ने धारणा राख्छन्। ‘उद्योगलाई सरकारले राम्रो मद्दत गर्नुपर्दछ, उद्योग विकास भयो भने मात्र देश विकास हुन्छ, समृद्धिको नाराले मात्र देश बन्ने होइन,’ गणेशभक्त भन्छन्, ‘सरकारसँग प्रशस्त पैसा छ, त्यसको सही उपयोग भैरहेको छैन।’ 

प्रकाशित: ८ माघ २०७५ ०८:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App