१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

दुर्गम गाउँमा अझै पुगेनन् बैंक

पोखरा - गत आर्थिक वर्षभित्रै सबै स्थानीय तहमा वाणिज्य बैंक पु-याउने योजना सरकारले ल्याए पनि अझैसम्म सबै तहमा बैंकका शाखा पुगेका छैनन्। सातवटै प्रदेशका सबै तहमा अहिलेसम्म वाणिज्य बैंक पुग्न नसकेको नेपाल राष्ट्र बैंकको भनाइ छ।

सात सय ५३ स्थानीय तहमध्ये अहिलेसम्म ६ सय ८२ तहमा मात्र बैंक पुगेको राष्ट्र बैंकले बताएको छ। गण्डकी प्रदेशका तीनवटा स्थानीय तहमा अहिलेसम्म वाणिज्य बैंक पुग्न सकेका छैनन्। बैंकका शाखा नपुगेका ती तह भौगोलिक हिसाबले निकै दुर्गम मानिन्छन्। गण्डकी प्र्रदेशमा ८५ स्थानीय तह छन्। बाँकी स्थानीय तहमा बैंकले शाखा पु¥याउने तयारी गरिरहेको राष्ट्र बैंकका पोखरास्थित निर्देशक पोमनाथ गौतमले जानकारी दिए। उनका अनुसार गण्डकी प्रदेशभित्र गोरखाका गण्डकी र धार्चे गाउँपालिका तथा मनाङको नार फू गाउँपालिकामा बैंक छैनन्। मनाङको नार फूमा नेपाल बैंकले शाखा विस्तार गर्ने जिम्मा पाएको छ। गोरखाको गण्डकी गाउँपालिकामा कृषि विकास बैंक र धार्चे गाउँपालिकामा सिभिल बैंकले शाखा खोल्ने जिम्मा पाएका छन्।

गौतमका अनुसार मनाङको नार फूमा शाखा खोल्ने जिम्मा पाएको नेपाल बैंकले कर्मचारी तयार गरिसकेको छ। खटिएका कर्मचारीलाई प्रशिक्षण दिएर मनाङ सदरमुकाम चामे खटाइसकेको छ। ‘अधिक चिसो र गाउँमा कोही पनि मान्छे नभएकोले कर्मचारी गाउँ जान सकेका छैनन्,’ गौतमले भने, ‘चिसो कम हुनासाथ नार फूमा नेपाल बैंक पुग्नेछ। यतिबेला त्यस क्षेत्रमा निकै नै चिसो रहेकोले गाउँले समेत घरमा ताला लगाएर जाडो छल्न तल (चामे, पोखरा, लमजुङ) झरेका छन्।’

गोरखाको गण्डकी गाउँपालिकामा पनि शाखा बिस्तारका लागि कृषि विकास बैंकले तयारी गरेको उनले बताए। ‘कृषि विकास बैंकले पनि शाखा विस्तारको तयारी गरेको जानकारी दिएको छ। छिट्टै नै गण्डकीमा पनि शाखा पुग्नेछ,’ गौतमले भने, ‘कृृषि विकास बैंकको तयारी भएको जानकारी पाएका छौं।’गोरखाको धार्चे गाउँपालिकामा सिभिल बैंकले शाखा विस्तारको जिम्मा लिए पनि अझैसम्म तयारीबारे जानकारी राष्ट्र बैंकलाई नभएको उनले बताए।

‘सुरक्षा, पूर्वाधार, सूचना प्रविधिको कठिनाइले गर्दा तोकिएको समयमा सबै तहमा बैंकले शाखा विस्तार गर्न नसकेका हुन्,’ गौतमले भने, ‘व्यापार कम हुने भएकोले निजी बैंक हत्पति ती गाउँमा जान पनि चाहेनन्।’ सरकारी बैंकमात्र जसोतसो खटाएको ठाउँमा गएको उनले बताए। ‘कतिपय स्थानीय तहमा त कारोबार नै कम हुन्छ। गाउँमा मान्छे नै बस्दैनन्। त्यहाँ वित्तीय संस्था खोल्दा सञ्चालन खर्च उठाउन समेत मुस्किल छ,’ गौतमले भने, ‘आर्थिक कारोबार निकै नै कम हुने भएकाले निजी बैंक सहजै जान तयार भएनन्।’

मनाङको नार फू जिल्लाको सबैभन्दा दुर्गममध्येको गाउँपालिका पर्छ। सदरमुकाम चामेबाट नार फू पुग्न झन्डै एक दिन पैदल हिँड्नुपर्छ। चिसोका कारण यो सिजनमा झन्डै चार महिना नार र फूको गाउँ मानवविहीन जस्तै हुन्छ। अधिक हिउँ पर्ने भएकोले पनि यो बेला गाउँलेले घरबार छाडेर हिँडेका हुन्छन्। गाउँमा मान्छे नै भेट्न मुस्किल हुन्छ। गाडी समेत नपुगेको नार फू साहसिक पर्यटकीय गन्तव्य हो।

गोरखाको धार्चे सदरमुकामबाट हिउँदको बेला गाडीमा ६ घन्टामा पुगिन्छ। बर्खामा गाउँपालिकाको केन्द्र भएको ठाउँमा पुग्न सदरमुकामबाट एक दिन पैदल हिँड्नु पर्छ। धार्चेको माथिल्लो भेग लाप्राक, गुम्दा, केरौंजा, कासिगाउँ, उहिया पर्छन्। ती गाउँमा पुग्न सदरमुकामबाट पुग्न कम्तीमा दुई दिन लाग्छ। केन्द्रभन्दा गाउँ निकै नै टाढा रहेकोले वित्तीय संस्था जान नचाहेको उनले बताए। गोरखाको गण्डकी गाउँपालिका पृथ्वी राजमार्गको पारिपट्टि पर्छ। चितवनको फिस्लिङबाट त्रिशूली नदी तरेर जाँदा दुई घन्टामा बल्ल गाउँपालिका केन्द्र पुग्न सकिन्छ। तर गाउँपालिकाको बस्ती निकै नै दुर्गमसम्म रहेका छन्। निकै नै पिछडिएको समुदायको बाहुल्य त्यहाँ छ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वित्तीय संस्थालाई गाउँपालिकासम्म पुग्न कुनै समस्या भए प्रदेश सरकारले समाधान गरिदिने बताए। ‘हामीले सबै स्थानीय तहमा बैंक पुग्नुपर्छ भनेका छौं। तर केही तहमा अझै पुगेका छैनन्,’ उनले भने, ‘बाटोघाटो, सुरक्षा, टेलिफोन, इन्टरनेटको असुविधाले बैंक पुग्न नसकेको भए त्यो व्यवस्था सरकारले गर्छ। तर सबै तहमा बैंक पुग्नैपर्छ।’ राष्ट्र बैंकका अनुसार प्रदेशका १ का एक सय ३७ मध्ये एक सय २० तहमा मात्र बैंक पुगेका छन्। प्रदेश २ का एक सय ३६ मध्ये एक सय ३१, प्रदेश ३ का एक सय १९ मध्ये एक सय १२, प्रदेश ५ का एक सय नौमध्ये एक सय सात, कर्णालीका ७९ मध्ये ६२ र सूदुरपश्चिमका ८८ मध्ये ६८ स्थानीय तहमा वाणिज्य बैंक पुगेका छन्।

प्रकाशित: ८ माघ २०७५ ०६:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App