१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अज्ञात व्यक्तिको कुटाइबाट दुई बालिका घाइते

चितवन – चितवनको राप्ती नगरपालिका वडा नम्बर १३ का दुई चेपाङ बालिका अपरिचित व्यक्तिको कुटपिटबाट घाइते भएका छन्। राउसिराङ गाउँकी १० वर्षीया र नयाँघर गाउँकी १७ वर्षीया बालिका आइतबार दिउँसो अज्ञात व्यक्तिबाट कुटिएका हुन्।

घरायसी सामान किन्न धादिङको गोठी भञ्ज्याङ गएका उनीहरूलाई अन्दाजी ३० वर्षीय युवकले पिछा गरी कुटपिट गरेका हुन्। बजारबाट घर फर्कने क्रममा ती व्यक्तिले आफूहरूलाई कुटपिट गरेको पीडित बालिकाले बताएका छन्। कुटपिटपछि फुत्केर १० वर्षीया बालिका घर पुगेपछि घटनाबारे गाउँलेले थाहा पाएका थिए। त्यसपछि गाउँले १७ वर्षीयाको खोजीमा निस्केका थिए। उनी पनि घाइते अवस्थामा घर आइपुगेकी स्थानीय रेशमबहादुर चेपाङले बताए।

युवकले लौराले हान्दा टाउकामा चोट लागेर बेहोस भएको र होसमा आउँदा आफ्नो शरीरको कपडा खोलिएको अवस्थामा पाएको पीडित १७ वर्षीयाले बताएकी छन्। घाइते १० वर्षीया बालिकालाई डोकोमा बोकेर र अर्की बालिकालाई हिँडाएर अभिभावक र गाउँलेले भरतपुर अस्पताल ल्याएका छन्। राप्ती ड्यामसम्म बोकेर र त्यसपछि राप्ती नगरपालिकाको गाडीमा राखेर बालिकालाई अस्पताल ल्याइएको कान्देश्वरी आधारभूत विद्यालयका प्रध्यानाध्यापक बालकृष्ण थपलियाले बताए।

बालिकाहरूलाई आइतबार राति २ बजे अस्पताल ल्याइपुर्‍याइएको उनले बताए। १० वर्षीयाको टाउकामा तीनवटा तथा १७ वर्षीयाको टाउकामा सातवटा टाँका लगाइएको छ। दुवै बालिका खतरामुक्त रहेको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. कृष्ण पौडेलले बताए। घटनामा संलग्न अपराधी खोज्न प्रहरी निरीक्षकको कमाण्डमा टोली परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय (चितवन)का प्रहरी उपरीक्षक सुशिलसिंह राठौरले जानकारी दिए। दुवै बालिका मितेरी फाउन्डेसनको सहयोगमा काठमाडौंमा पढ्ने गरेका छन्। बोर्डिङ स्कुलमा कक्षा २ र ७ मा पढ्ने उनीहरू जाडोको बिदामा पुस २५ गते गाउँमा आएका थिए। यही माघ ११ गते काठमाडौं फर्किने तयारीमा रहेका उनीहरू कुटपिटमा परेका हुन्।

प्रकाशित: ८ माघ २०७५ ०२:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App