१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

‘चिलका आँखा’ मा राजधानी सुरक्षा


काठमाडौं–दसैं आयो, खाउँला–पिउँला
कहाँ पाउँला
चोरी ल्याउँला ...!

नेपाली समाजमा प्रचलित दसैैं छेको गाइने यो बालगीतले एउटा सत्य ओकल्छ– दसैंका बेला सहरबजारमा चोरीडकैती बढ्छ । विगतका घटनाले पनि यसलाई बारम्बार पुष्टि गर्दै आएको छ ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति

उपत्यकामा दसैंका बेला बढ्न सक्ने चोरीडकैतीलगायत आपराधिक घटनाप्रति यसपालि भने प्रहरी अलि बढी नै चनाखो बनेको छ । यस्ता घटना नियाल्न उसले ‘चिल’ को साथ लिँदै छ । ‘इगल आई’ नाम दिइए पनि प्रहरीको यो अभियानमा चिल नामक पन्छी भने सक्रिय हुनेछैन । चिलले आकाशमा कावा खाँदै जमिनका चल्ला नियालेझैं चाडपर्वका बेला भिडभाडमा हुन सक्ने लुटपाट, चोरी, झै–झगडालाई ‘इगल आई’ नाम दिइएका ३ सय ३५ वटा सिसिटिभी क्यामेराले नियाल्नेछन् र प्रहरीलाई झटपट घटनास्थल पुग्न सघाउनेछन् ।

काठमाडौंका चोक, बजार र गल्लीमा हुने भिडभाडका गतिविधि रेकर्ड गर्न थालिसकिएको, गतिविधि शंकास्पद देखिए तत्काल नजिकको प्रहरी घटनास्थल पुग्ने सुरक्षा रणनीति काठमाडौं प्रहरीले लिएको छ ।

महानगरीय प्रहरी परिसरका प्रमुख एसएसपी विक्रमसिंह थापाले पछिल्ला तीन दिन भिडभाडमा सम्भावित घटना नियन्त्रण र रोकथाम गर्न सिसिटिभी प्रभावकारी भएको बताए । उनका अनुसार बढी चहलपहल हुने न्युरोड, असन, बागबजार, पुतलीसडक र दरबारमार्गमा रहेका सिसिटिभीको निरन्तर निगरानी भइरहेको छ ।

३० लाख चलायमान जनसंख्या रहेको काठमाडौंमा चाडपर्वकेन्द्रित विशेष सुरक्षाका लागि ३ हजार २ सय ४३ प्रहरी अपुग हुने भएपछि प्रविधिको सहयोग लिइएको हो । प्रहरीले ‘इगल आई’ बाहेक परिसरअन्तर्गत रहेका वृत्त, प्रभाग र पोस्टमा रहेका मोटरसाइकल र गाडीलाई दिनरात पालैपालो चलायमान बनाएको छ ।

‘हामीले करिब २ सय मोटरसाइकल २४सै घन्टा फिल्डमा खटाएका छौं जुन प्रभावकारी भइरहेको छ,’ एसपी प्रद्युम्न कार्कीले नागरिकसँग भने । उनका अनुसार घटनाको जानकारी लिन र दिन प्रहरीले सञ्चालन गरेका निःशुल्क नम्बर र सामाजिक सञ्जाल तथा पुलिस एप्सको समेत मिनेट–मिनेटमा मोनिटरिङ भइरहेको छ ।
 

तीन दिनमा एक सय १८ पक्राउ

शुक्रबारदेखि सञ्चालन गरेको विशेष सुरक्षा योजनाअन्तर्गतको अकस्मात जाँचपडतालमा प्रहरीले एक सय १८ शंकास्पदलाई पक्राउ गरेको छ । ‘यात्रु, ग्राहक र सर्वसाधारण बटुवासम्मलाई ठग्ने, जबर्जस्ती बसमा चढाउने र पसलमा तान्नेदेखि चोरी र लुटपाटमा संलग्नसमेत पक्राउ परेका छन्,’ थापाले भने ।

यात्रु, ग्राहक र बटुवाको इच्छाबिना करकाप गर्नेसमेतलाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही थालेको छ ।
यता, चाडपर्वमा सम्भावित अपराध नियन्त्रण गर्न अपराध अनुसन्धान महाशाखाले सयभन्दा बढी सादा पोसाकका अधिकारी खटाएको छ । खटिएका अधिकारी सम्भावित चोरी, डकैती र जुवातास रोक्न सक्रिय छन् ।

‘काठमाडौंमा मनोरञ्जन बहानामा करोडौं रुपैयाँसम्मको जुवातास र कौडा खेल हुने गरेको सूचनाअनुसार ठाउँठाउँमा दिनहुँ छापा मारिरहेका छौं । काठमाडौंवासीलाई भयमुक्त भएर चाडपर्व मनाउने वातावरण उपलब्ध गराउन खटिएका छौं,’ एसएसपी थापाले भने ।

यसैबीच, सोमबार मात्र प्रहरीले बढी भाडा लिएका काठमाडौंबाट पूर्वका हिमाली र पहाडी जिल्लामा चल्ने ६८ वटा साना सवारीसाधनका चालकलाई कारबाही गरेको छ । परिसरका अनुसार चावहिलचोकमा ओखलढुंगा, खुर्कोट, सोलुखुम्बु, खोटाङ र काँकडभिट्टा जाने टाटासुमो तथा हायस गाडीले प्रतिटिकट एक सय, दुई सय र चार सय रुपैयाँसम्म बढी भाडा लिएको भेटिएपछि  यात्रुका पैसा फिर्ता गराएको छ ।

 

प्रकाशित: १८ आश्विन २०७३ ००:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App