२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

चिकित्सकले काम छाड्ने

काठमाडौं–आठ दिनदेखि आमरण अनशनरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीको मागप्रति ऐक्यबद्धता जनाउँदै शिक्षण अस्पतालका रेजिडेन्ट चिकित्सकले आकस्मिकबाहेकका सेवा छाड्ने भएका छन् ।

आठ दिन बितिसक्दा पनि माग पूरा गर्न सरकार संवेदशील नभएको भन्दै आवासीय चिकित्सकले मंगलबारबाट आकस्मिकबाहेक सेवामा सरिक नहुने घोषणा गरेका हुन् ।

अस्पतालमा कार्यरत ३ सयभन्दा बढी चिकित्सकको साझा संस्था नेसनल रेसिडेन्ट डक्टर्स एसोसिएसनले विज्ञप्तिमार्फत यस्तो घोषणा गरेको हो । एसोसिएसनले डा. केसीले उठाएका सुधारका माग बेवास्ता गरेर संसद् र सरकार मौन बसेपछि बाध्य भएर यस्तो कार्यक्रम घोषणा गर्नुपरेको जनाएको छ ।

एसोसिएसनको आन्दोलनसँगै मंगलबारदेखि अस्पताल सेवासमेत प्रभावित हुने भएको छ । अस्पतालका अधिकांश सेवा रेजिडेन्टको भरमा चल्ने गरेको छ ।

चिकित्सा शिक्षा र सुशासनसँग सम्बन्धित माग लिएर गत सोमबारदेखि अनशन सुरु गरेका थिए । डा. केसीले चिकित्सक शिक्षा ऐन संशोधन गरी त्यही अधिवेशनबाटै पास गर्नुपर्ने, पछिल्लोपटक ६४ लाख शुल्क तोक्ने गरी गरेको सिफारिस खारेज गर्नुपर्ने, आइओएममा तत्काल डिन नियुक्तिलगायत अघिल्ला अनशनमा भएका सम्झौता कार्यान्वयनलगायतका माग राखेका छन् । केसीले उठाएका मध्ये मनमोहन प्रतिष्ठानसम्बन्धी संसद्मा विचाराधीन विधेयक भने फिर्ता गर्ने निर्णय मन्त्रिपरिषद्ले गरिसकेको छ ।

 

प्रकाशित: १८ आश्विन २०७३ ००:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App