१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गण्डकी सभ्यता बचाऔं अभियान सुरु

गण्डकी सभ्यता बचाऔं अभियानको खाका सार्वजनिक गर्दै धौलागिरी समाज नेपालका पदाधिकारी। तस्बिर : नागरिक

काठमाडौं - पर्यटन पर्वद्धन गर्न गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिने भएको छ। गण्डकी क्षेत्रमा रहेका धार्मिक तथा पर्यटकीय स्थल, नदी नालामा भैरहेको अतिक्रमण, प्रदूषणले पर्यटकीय स्थलको भविस्य संकटमा परेको भन्दै धौलागिरी समाज नेपालले उक्त अभियान सुरु गर्न लागेको हो।

धौलागिरी समाज नेपालका अध्यक्ष रहेका पूर्वमुख्य सचिव मुकुन्द शर्मा पौड्यालको अगुवाइमा गण्डकी सभ्यता बचाऔं अभियान सुरु गरिएको छ। अभियान सञ्चालन गर्न पौड्यालको संयोजकत्वमा आइतबार प्रतिबद्धता र अभियानको खाका सार्वजनिक गरेको छ। गण्डकी क्षेत्रमा पर्ने धार्मिक, सांस्कृति र पर्यटकीय क्षेत्रको संरक्षण गर्नका लागि अभियान सुरु गर्न लागिएको धौलागिरी समाज नेपालका महासचिव गोविन्दप्रसाद शर्माले बताए। शर्माका अनुसार त्यस क्षेत्रमा पर्यटकीय तथा धार्मिक महत्वबारे जानकारी गराउँदै स्थानीयको सहभागितामा पर्यटन प्रवद्र्धन, नदीनालामा ढल मिसाउन नपाइने, सरसफाइ अभियान सञ्चालन गरिने छ। ‘पर्यटकीय क्षेत्रको प्रचार गर्ने मुख्य ध्येय हो,’ महासचिव शर्माले भने, ‘पर्यटकीय गन्तव्यमा सरसफाई अभियान पनि सञ्चालन गर्छौं।’

धौलागिरीबाट काठमाडौंमा आई बसोबास गर्ने पूर्वप्रशासक, उद्योगी, व्यवसायी, समाजसेवीले सामाजिक भावनाले यो अभियान सञ्चालन गर्न लागेको समाजले जनाएको छ। अभियानकर्मीले आफ्नो क्षेत्रमा गएर अभियान सञ्चालन गर्नेछन्। अभियान अन्तर्गत यस क्षेत्रका पर्यटकीय स्थल धौलागिरी हिमाल, काली गण्डकी नदीमा पाइने शालीग्राम, बागलुङमा रहेको गाजाको दह, पञ्चकोट, माग्दीको तातोपानी कुण्ड, गलेश्वर मन्दिरर, घोरेपानी, पर्वतको गुप्तेश्वर, गुल्मीको रुरु, स्याङ्जाको संगममा रहेको सेतीबेणी, पाल्पाको रानी महल, तनहुँ र चितवनको बीचमा रहेको देवघाटको प्रचार र संरक्षण गरिने छ। दामोदर कुण्ड उद्गम भएर बगेको कालीगण्डकी नदी, सहायक नदीहरु रघुगंगा, आँधिखोला, बडीघाट, त्रिशूली जस्ता नदीहरु मिसिएर बनेको नारायणी नदीमा सरसफाइ अभियान सञ्चालन गर्ने योजना छ।

मुक्तिनाथदेखि देवघाटसम्म पर्ने नदीको सरसफाइमा स्थानीयलाई प्रोत्साहित गर्ने अभियानको योजना छ। सरसफाइ अभियान अन्तर्गत नदीमा ढल मिसाउन निरुत्साहित गर्न सम्बन्धित नगरपालिका, गाउँपालिकालाई पनि ध्यानाकर्षण गराउने शर्माले बताए। काठमाडौंमा बागमती सफाइ अभियान सञ्चालन गरे जस्तै गण्डकी क्षेत्रमा सभ्यता अभियान सञ्चालन गर्न लागिएको हो। कालीगण्डकी नदीमा बढ्दो प्रदूषण न्यूनीकरण, शालिग्राम सिलाको चोरी नियन्त्रणमा पनि यो अभियानमा समेटिएको छ।

गण्डकी क्षेत्रमा पर्ने धार्मिक, सांस्कृतिक र पर्यटकीय स्थलको प्रवद्र्धन गर्न अभियान सञ्चालन गर्न लागिएको समाजले जनाएको छ। दामोदर कुण्ड, मुक्तिक्षेत्र, गलेश्वरधाम, पुलस्त्य आश्रम, निरयघाट, खुदुर्केघाट, सहस्रधारा, मोदीवेनी, जैमिनी घाट, बेलबगर, रुद्रवेणी, सेतीवेणी, रिडी रुरु क्षेत्र, ऋषिकेश्वर, रानीमहल, मिर्मी, राम्दीघाट, देवघाट, त्रिवेणी, गजेन्द्रमोक्ष जस्ता तीर्थस्थलको पनि प्रचारप्रसार गरिने छ। यो अभियानमा त्यस क्षेत्रका स्थानीयलाई सहभागी गराउने योजना छ। मुक्तिनाथ मन्दिर नजिकैको रानी पौवा, कागवेनी, जोमसोम, मार्फा, टुकुचे, कोबाङ, लेत, म्याग्दीको भुरुङ तातोपानी, बेनी, दरवाङ, रघुघाट, राखु, बागलुङ बजार, काठेखोला, विहुँकोट, गल्कोट, हरिचौर, ताराखोला, खर्बाङ, ग्वालिचौर, बुर्तिवाङ, बरेङ, बलेवा, कुश्मिशेरा, बेलबगरलगायत बस्तीलाई यो अभियानमा जोडिएको छ। त्यसैगरी पर्वतको पारी बेनी, मल्लाज, कुश्मा, पातिचौर, डिमुवा, महाशिला, कार्कीनेटा, फलेवास बजार, पोखरा, दमौली, गोरखा, गुल्मीको तम्घास, पाल्पालाई पनि गण्डकी सभ्यता भित्रका बस्तीको रुपमा समेटिएको छ। 

प्रकाशित: ७ माघ २०७५ ०५:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App