१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सिआइजे प्रतिवेदनको सत्यतामाथि बहस

काठमाडौं - विदेशमा नेपालीले ५२ अर्ब रुपैयाँ राखेको खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको रिपोर्टप्रति आधा दर्जन उद्योगी व्यवसायीले चुनौती दिएपछि यसको सत्यतामाथि बहस सुरु भएको छ। अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र दी इन्टरनेसनल कन्सोर्टियम अफ इन्भेस्टिगेटिभ जर्नालिस्ट (आइसिआइजे) ले उपलब्ध गराएको विवरणमा सिआइजेले एक वर्ष लगाएर अनुसन्धान गरी ‘नेपालिक्स,२०१९’ प्रतिवेदन माघ २ मा सार्वजनिक गरेको थियो।

प्रतिवेदनले विभिन्न मुलुकमा ५५ जना नेपालीको ५२ अर्ब रुपैयाँ रहेको खुलासा गरेको थियो। तर, यसमा जोडिएका उद्योगी, व्यवसायीले प्रतिवेदनको तथ्यमाथि प्रश्न उठाउँदै विदेशमा पैसा भए राष्ट्रियकरण गर्न चुनौती दिएपछि सत्यताको बहस सतहमा आएको हो। सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, आइएमई समूहका अध्यक्ष चन्द्रप्रसाद ढकाल, गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो, चौधरी ग्रुपका अरुणकुमार चौधरीलगायतले छुट्टा–छुट्टै पत्रकार सम्मेलन र विज्ञप्तिमार्फत खण्डन गरेका छन्। सिआइजेको प्रतिवेदन विभिन्न सञ्चार माध्यममा प्रकाशित भएपछि प्रतिवेदनमा नाम जोडिएका उद्योगी व्यवसायीले एकपछि अर्को खण्डन गर्दै आएका छन्। उनीहरुले प्रतिवेदनमा आए जसरी आफूहरुको बैंक खाता ‘ट्याक्स हेवन मुलुक’मा नभएको र त्यस्ता मुलुकबाट कुनै लगानी पनि नल्याएको दाबी गरेका छन्। उद्योगी, व्यवसायीले दाबी मात्र नगरेर कानुन विपरीत पैसा ल्याएको भए त्यसलाई राष्ट्रियकरण गर्न आफ्नो मन्जुरी रहेको पनि बताएका छन्।  

आइसिआइजे उपलब्ध गराएको विवरणमाथि थप खोज र अनुसन्धान गरेर प्रतिवेदन तयार गरिएकाले तथ्यमा कुनै समस्या छैन ।
शिव गाउँले, सम्पादक– खोपके

‘नेपालिक्स’ प्रतिवेदन तयार गर्ने सिआइजेले भने प्रमाण जुटाएर नै प्रतिवेदन तयार गरेको दाबी गरेको छ। आइसिआइजे उपलब्ध गराएको विवरणमाथि थप खोज र अनुसन्धान गरेर प्रतिवेदन तयार गरिएकाले तथ्यमा कुनै समस्या नरहेको दाबी सिआइजेका पदाधिकारीको छ। ‘सप्रमाण रिपोर्ट तयार गरेका हौं,’ खोज पत्रकारिता केन्द्रका सम्पादक शिव गाउँलेले आइतबार नागरिकसँग भने, ‘रिपोर्ट सार्वजनिक भएपछि विभिन्न क्षेत्रबाट आएका प्रतिक्रियालाई सूक्ष्म रुपमा हेरिरहेका छौं।’

सिआइजेले सार्वजनिक गरेको ‘सिमेन्ट, सुपारी र होटलमा गैरकानुनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकको प्रतिवेदनमा सौरभ ग्रुपको नाम जोडिएकोमा त्यसको  खण्डन गर्दै लगानी भएको पुष्टि गरेर देखाउन अध्यक्ष न्यौपानेले चुनौती दिएका थिए। अध्यक्ष न्यौपानेले आफ्ना विभिन्न उद्योगमा  ३६ सय करोड रुपैयाँ (करिब ३६ अर्ब) लगानी भएको जानकारी दिँदै एक रुपैयाँ पनि विदेशी लगानी नरहेको स्पष्ट पारेका थिए। विदेशमा लगानीमा नाम जोडिएका आइएमई ग्रुपका अध्यक्ष ढकालले कानुन अनुसार प्रक्रिया पूरा गरेर नेपाल राष्ट्र बैंकबाट अनुमति लिई रेमिट्यान्स ल्याउन बेलायतमा कम्पनी खोलेको दाबी गरेका थिए। ‘राष्ट्र बैंकबाट अनुमति लिएर विदेशबाट रेमिट्यान्स ल्याउन बेलायतमा एक पाउन्डको कम्पनी खोलेका थियौं,’ ढकालले भनेका थिए, ‘सन् २०१० मा उक्त कम्पनीबाट पनि राजीनामा दिइसकेको छु।’

राष्ट्र बैंकबाट अनुमति लिएर रेमिट्यान्स ल्याउन बेलायतमा खोलिएको कम्पनी देखाएर भ्रम सिर्जना गरियो। स्विस बैंकमा हाम्रो खाता छैन, भए सरकारले जफत गरोस्।  
चन्द्रप्रसाद ढकाल, अध्यक्ष– आइएमई ग्रुप

बेलायतमा खोलिएको यही कम्पनीलाई जोडेर भ्रम सिर्जना गरेको भन्दै उनले दुखेसो पोखेका थिए। आइएमईले बेलायतबाट रेमिट्यान्स सेवा सुरु गर्ने भएपछि २१ अगस्ट २००२ मा सनबर्ड कम्प्युटर कन्सल्ट्यान्ट लिमिटेडलाई आइएमई लिमिटेडमा परिवर्तन गरिएको उनले जानकारी दिएका थिए। यसमा जोडिएका भाइ हेमराज ढकाल गैरआवासीय नेपाली रहेको ढकालले बताए। ‘भाइले जापान, मलेसिया, बेलायतलगायत देशमा बसेर आइएमईको बिजनेस हेर्दै आएको छ,’ ढकालले भने, ‘रेमिट्यान्स कारोबारका लागि विभिन्न मुलुकमा जानुपर्ने भएकाले उनी गैरआवासीय नेपालीको हैसियतमा छन्।’

उद्योगपति चौधरीले ब्रिटिस भर्जिन आइल्यान्डमा आफ्नो नाममा अर्सिन लिमिटेड कम्पनी दर्ता छ भनी सिआइजेको प्रतिवेदनमा उल्लेख गरिएकोमा त्यस्तो नभएको दाबी गरेका थिए। ट्याक्स हेवनमा दर्ता रहेका भनिएका दुई विदेशी कम्पनीमा आफूहरुको साझेदारी नरहेको चौधरीले स्पष्ट पार्दै भने, ‘म र मेरो परिवारको सो कम्पनीमा कुनै पनि आवद्धता र सरोकार नभएको जानकारी गराउँछु। जुन देशमा हाम्रो परिवारको नाममा कम्पनी छ भनेर दाबी गरिएको छ, त्यहाँ हाम्रा कुनै पनि परिवारका सदस्यले अहिलेसम्म यात्रा समेत गरेका छैनन्, जुन कुरा हाम्रो ट्राभल रेकर्ड हेर्दा समेत प्रस्ट हुन्छ,’ चौधरीले विज्ञप्तिमा भनेका थिए।

‘उक्त कम्पनीको सेयरहोल्डर भनी छोराहरुको नाम जोडिएको छ त्यो कम्पनी स्थापना हुँदा उनीहरुको उमेर १० र ५ वर्ष मात्र थियो।’ उनको विज्ञप्तिमा छ। त्यसैगरी, गैरआवासीय नेपाल संघका पूर्वअध्यक्ष महतोले पनि आफ्नो नाम जोडिएको भन्दै आपत्ति जनाएका थिए। महतोले आफू विदेशमा पनि व्यापार–व्यवसायमै संलग्न रहेको, नेपालबाहेक विभिन्न देशमा आफ्ना व्यावसायिक प्रतिष्ठान र तदनुरुप लगानी रहेको तथा नेपालमा गरेको लगानी पनि विदेशबाटै ल्याएको प्रस्ट पारेका थिए। ‘मैले आजसम्म विदेशबाट जति लगानी ल्याए पनि नेपालबाट चाहिँ एक डलर पनि लिएर गएको छैन,’ महतोले भनेका थिए।

प्रकाशित: ७ माघ २०७५ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App