१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

डुब्दै अलैंची किसान

ताप्लेजुङ - अलैंचीको मूल्य बढेर प्रतिमन एक लाख २० हजार रुपैयाँमा कारोबार हुन थालेपछि ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङका कृषक रनबहादुर सार्की हौसिए। झन्डै सात लाख रुपैयाँ लगानी थपेर उनले अलैंची खेती विस्तार पनि गरे। साहुबाट महंगो ब्याज दरमा ऋण लिएका सार्कीले ६ लाख रुपैयाँ जति त सिँचाइ पाइप खरिद मै खर्चिए। बाँकी रकमले बिरुवा किनेर धान उत्पादन हुने खेतमा अलैंची लगाउनुभयो तर, सोचे जस्तो भएन।

सधैं २५ मुरीभन्दा बढी धान फल्ने खेतमा अलैंची रोपेपछि उनी चामल खरिद गर्न थाले। अलैंची फल्छ, अनि बेचेरै साहुको ऋण तिरौंला भनेर दिनरात खटेका सार्कीलाई त्यही अलैंची खेतीले बसाइँ हिँडायो। अहिले उनी नुवाकोटमा गएर गुजारा चलाउँदै आएका छन्। ‘न अलैंची राम्रो फल्यो, न त मूल्य नै राम्रो भयो, दिनानुदिन ऋण माथि ऋण थपिँदै गएपछि विकल्प खोज्न परिवारसहित नुवाकोटमा गएर काम गरिरहेको छु,’ सार्कीले भने। उनले, थपे, ‘उसबेला साहुबाट लिएको ऋणको साँवा र ब्याज हिसाब गर्दा झन्डै १५ लाख पुगेछ। यसपालि बल्लतल्ल डेढ मन अलैंची फलेछ। अहिलेको भाउ अनुसार ५० हजार पनि आउँदैन। के ले ऋण तिर्ने ? होश उडिसक्यो।

त्यही ठाउँका राजकुमार भट्टराईलाई खेत मासेर अलैंची खेती गरे यता दिनरात पिरलो छ। वर्षभर पुग्ने अन्नपात उब्जने खेतमा राम्रो आम्दानी हुने सपना देखेर अलैंची रोपे तर, भाउ नहुँदा र उत्पादन समेत नहुँदा उनलाई पिरलो भएको हो। ‘झन्डै तीन लाख रुपैयाँ ऋण गरेर सिँचाइको व्यवस्था गरें, अलैंची राम्रो फलेन, भाउ पनि फेदैमा पुग्यो, अलैंची खेती निल्नु न ओकल्नु भयो,’ भट्टराई भन्छन्। भाउ बढेकै बेला किसान यसको खेतीमा आकर्षित हुन थाले पछि फुङलिङ नगरपालिका बस्दै आएका भिङ्मारे लिम्बुमा बिरुवा बेचेरै आम्दानी गर्ने सोच पलायो र अलैंची नर्सरी गर्न थाले। पछिल्लो समयमा गरेको लगानी त्यसै खेर जाने भएपछि उनमा पनि चिन्ता थपियो। यी त सीमित क्षेत्रका किसानका मात्रै कथा हुन्।

जिल्लाभरकै अलैंची किसानको कथाव्यथा उस्तै उस्तै छ। केही वर्ष अघि प्रतिमन एक लाख २० हजार रुपैयाँसम्म मूल्य आउँदा हौसिएर अलैंची खेतीमा लगानी गरेका किसानको काँधमा ऋणको पोको झुन्डिन पुगेको छ। वर्षभर खान पुग्ने अन्नपात उब्जाउ हुने खेतबारी अलैंची र जंगलले ढाकिएका छन्। खेतबारी नै मासेर बसेका किसानका घरमा झापादेखिका व्यापारीले धान लगेर बेच्न थालेका छन्। कुनै समय तिनै किसान आफैंले उत्पादन गरेको धान बेचेरै गुजारा चलाउँथे। एक्कासि मूल्य बढेर क्रमशः ओरालो लागेपछि आफूहरू मारमा परेको कृषकहरू बताउँछन्। प्रतिमन एक लाख २० हजार रुपैयाँको हिसाब गरेर लगानी गरेका उनीहरूमाथि समस्याको पहाड आइलागेकोे छ – मूल्य ओरालो लाग्दै गएर २५–३० हजार रुपैयाँमा झरेपछि।

व्यापारीलाई पनि चिन्ता
अलैंचीको मूल्यमा हुने उतारचढावले किसान मात्रै हैन अलैंची व्यापारी समेत हैरान छन्। छोटो छोटो अवधिमा मूल्यमा आउने उतारचढावले उनीहरू समस्यामा परेका हुन्। मूल्य स्थिर नहुँदा खरिद बिक्री गर्न नै समस्या हुने गरेको अलैंची व्यापारी बुद्ध दाहालले बताए।

‘किसानबाट एउटा मूल्यमा लिएको अलैंची कहिले घाटामा कहिले नाफामा बेच्नुपर्छ, प्रायः नाफाभन्दा घाटा धेरै हुन्छ,’ दाहाल भन्छन्,। अलैंचीको मूल्य बढ्दा किसानलाई दिएको ऋण उठाउनै पर्ने बाध्यताले पनि घाटा सहेर कारोबार गर्नुपरेको व्यापारीहरू बताउँछन्। अलैंची कै कारोबारले टाट पल्टिएर व्यवसायबाटै पलायन हुनेदेखि ठूला सहरमा घर बनाउनेसम्मका व्यापारी छन्।

मूल्यमा आउने उतारचढावले किसानलाई मानसिक समस्यामा पारेको छ भने व्यापारीलाई आर्थिक रुपमै डुबाउने र उकास्ने गरेको छ। ठूला व्यापारी सिधै भारतका व्यापारीसँग कारोबार गर्छन् भने साना व्यापारी बिर्तामोडका व्यापारीसँग। भारत, बिर्तामोड जता लगे पनि नेपाली अलैंचीको बजार भारत मात्रै हो। साना ठूला दुवै व्यापारी भारतीय व्यापारीकै भर हुन्छन्। अलैंची व्यवसायी महासंघ ताप्लेजुङका अध्यक्ष बालमणि बरालले भने, ‘भारतीय व्यापारीले जे भन्यो त्यही ठिक हुन्छ। आज एउटा मूल्य भन्या छ, अर्को दिन तुरुन्तै फेरिन्छ। उनीहरूसम्म अलैंची पुर्‍याएर कारोबार गर्न सहज छैन।’ भारतकै मात्र भर पर्नुपर्ने भएकाले पनि नेपालका अलैंची व्यवसायीलाई यसको कारोबारमा समस्या हुने गरेको छ।

यता, पछिल्लो समयमा ताप्लेजुङमा अलैंचीको कारोबार घटेको व्यवसायीहरू बताउँछन्। केही दिन यता कारोबार प्रायः ठप्प बनेको अध्यक्ष बरालले बताए। उनले भने, ‘बिर्तामोडका साहुले लिँदैनन्। सबै व्यापारीको गोदाम अलैंचीले भरिएको छ। हामीले किसानसँग हाताहाती कारोबार गर्नुपर्छ। किसानबाट लिँदालिँदै भएको पैसा सकियो। के ले कारोबार गर्ने ?” उनका अनुसार भारततर्फ निकासी कमै भइरहेकाले नेपालको अलैंची गोदाम मै थन्किरहेको हो। निकासीमा समस्या भएको व्यापारीहरूको भनाइ छ। कतिपय व्यापारीले भने पछिल्लो समयमा मूल्य निरन्तर ओरालो लागिरहेकाले घाटामा पर्ने डरले किन्नै छाडेका छन्। पछिल्लो तीन साता यता मूल्य निरन्तर घटिरहेको छ। मंसिरमा प्रतिमन २९ हजारमा कारोबार भएको अलैंचीको मूल्य अहिले आएर २६–२७ हजार रुपैयाँमा झरेको छ।
नेपाल बाहेक अन्य मुलुकमा समेत अलैंची उत्पादन हुन थालेपछि नेपाली अलैंचीको अन्तर्राष्ट्रिय बजार खुम्चिएको बताइन्छ। यो वर्ष अलैंची किन्न भारतका व्यापारी पनि कमै आएका छन्।

सरकारसँग गुनासो
नेपालको अर्थतन्त्रमा ठूलो योगदान रहेको अलैंचीको बजारीकरणमा राज्यले पर्याप्त चासो नदिएको व्यवासायीको भनाइ छ। अध्यक्ष बालमणि बरालले भने, ‘अलैंचीको नेपालको अर्थतन्त्रमा ठूलै हिस्सा रहे पनि यसको बजारीकरणमा भने राज्यले आँखा चिम्लिदिएको छ।’ उनले थपे, ‘भारत बाहेकका तेस्रो मुलुकसम्म नेपाली व्यापारीको पहुँच छैन। भारतका व्यापारीले जे मूल्य तोक्छन् त्यही अनुसार नेपालमा मूल्य निर्धारण हुने गरेको छ।’
राज्यले अलैंची खेती प्रर्वद्धनका लागि स्पष्ट नीति नबनाइदिएकाले समस्या भएको उनको ठम्याइ छ। सरकारले अन्तर्राष्ट्रिय स्तरसम्म अलैंचीको बजारीकरण गरिदिन सहयोग गर्नुपर्नेमा व्यवसायीको जोड छ।

अलैंची खेतीको प्रवद्र्धनका लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट ठूलै लगानी हुने गरेको तर बजारीकरणमा भने गम्भीर नभएको व्यवसायीको गुनासो छ। भारत बाहेकका तेस्रो मुलुकमा समेत अलैंचीको कारोबार हुने वातावरण मिलाउन सके भारतका व्यापारीको मनोमानीबाट मुक्ति मिल्ने विश्वास व्यवसायीको छ। किसानले गरेको लगानी र व्यवसायीले मोलेको खतरालाई राज्यले गम्भीर रुपमा नलिएकामा उनीहरूको दुःखेसो छ।

पहाडी भेगबाट झापाको बिर्तामोड हुँदै भारतीय बजारसम्म अलैंची पुर्‍याइन्छ। नेपालमा उत्पादित ९० प्रतिशत अलैंची भारत निर्यात हुने गरेको छ। मसला बनाउन प्रयोग गरिने अलैंचीको खास बजार भने खाडी मुलुक हो। भारतको नयाँ दिल्ली हुँदै दुबई, साउदी अरब, कतार, बहराइन जस्ता खाडी मुलकमा पठाइन्छ। केही परिमाण पाकिस्तान पनि जान्छ। नेपालमा यसको बजार छैन। नेपाली व्यापारी तेस्रो मुलुक निर्यात गर्ने सामथ्र्य राख्दैनन्। नेपालमै प्रशोधनको कुनै उपाय पनि खोजिएको छैन। आफ्नै देशमा प्रशोधन नहुँदा यो उपज सस्तोमा बेच्नुपर्ने बाध्यता छ। (रासस)

प्रकाशित: ६ माघ २०७५ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App