१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सडकले फेरिँदै डोल्पालीको जीवन

डेल्पा - वर्षौंदेखि यातायातको सुविधा नहुँदा सास्ती खेप्दै आएका डोल्पाली जनताको जीवनशैली सडक सुविधा पुगेपछि विस्तारै फेरिन थालेको छ।

सडक खुलेसँगै जिप, ट्रयाक्टर, मोटरसाइकल जस्ता सवारी साधन भित्रिन थालेका छन्। यसअघि गाडी नहुँदा दैनिक उपभोग्य सामग्रीदेखि लिएर विकास निर्माणका सामग्रीसमेत खच्चडबाट ढुवानी गर्नुपर्ने बाध्यता थियो। सडक पुगेपछि खच्चडमाथिको निर्भरता घटेको त्रिपुरासुन्दरी नगरपालिका–१ का दुर्गाप्रसाद देवकोटाले बताए। आजभोलि चामल, तेल, साबुन, लत्ताकपडा जस्ता दैनिक उपभोग्य सामग्रीका साथै विकास निर्माणका लागि चाहिने सिमेन्ट, छड, जस्तापाता जिप, ट्र्याक्टरबाटै ढुवानी गर्न थालिएको उनको भनाइ छ। यसअघि दैनिक उपभोग्य सामग्री ढुवानी गर्न रुकुमको चौहरजारी, राडीज्युला, गोतामकोट, जाजरकोटको रिम्ना, तल्लुबगर लगायत बजारमा पुग्नुपर्ने बाध्यता थियो। अहिले छलगाडबाटै ढुवानी गरेर जिल्लाका विकट गाउँमा दैनिक उपभोग्य सामग्री पुग्ने गरेको खच्चड व्यवसायीको भनाइ छ।

जाजरकोट–डोल्पा सडक खण्डको ट्र्याक खुलेर गत असोज १६ गते डोल्पा राष्ट्रिय सडक सञ्जालमा जोडिएको हो। नेपाली सेनाले जिम्मा लिएको उक्त सडक खण्डको निर्माण सम्पन्न भएर सदरमुकाम दुनैसम्मको कच्ची ट्र्याक खुलाइसकिएको छ। नगरपालिकासम्म गाडी पुगेपछि डोल्पालीलाई निकै सहज भएको शे फोक्सुन्डो गाउँपालिका–१, साल्दाङका स्थानीय उर्गेन दोर्जे गुरुङले बताए। ‘सेनाकै अथक प्रयासबाट डोल्पासम्म मोटरबाटो पुगेको हो, उपल्लो डोल्पासम्म सडक जोड्ने काममा पनि ठेकेदारलाई नदिएर सेनाकै जिम्मा दिनु राम्रो हुन्छ,’ उनले भने।

११७.७७ किलोमिटर लामो जाजरकोट–डोल्पा सडक खण्डको निर्माण पूरा गरेर गत मंसिर ४ गते नगरपालिका–१ मा पर्ने छलगाड खोलामा औपचारिक उद्घाटन भएसँगै खदाङ–छलगाडसम्म जिप चल्न थालेको छ। यसअघि नगरपालिका–५ अन्तर्गत पर्ने खदाङसम्म जिप चल्ने गरे पनि अब नगरपालिका–१ मा पर्ने त्रिपुराकोट बगर बजारनजिकै पर्ने छलगाडबाटै गाडी चढ्न पाइन्छ। पहिले करिब चार घन्टा पैदल हिँडेपछि मात्रै गाडी भेटिने भए पनि अब घरबाटै गाडी चढ्न पाइने त्रिपुराकोटवासीले बताए। चार दशक अगाडिसम्म नेपालगन्ज वा काठमाडौं पुग्न १० देखि १२ दिनसम्म लाग्ने गथ्र्यो। अहिले सडक पुगेसँगै यात्रा छोटिएर दुई दिनमै सुर्खेत नेपालगन्ज पुगिन्छ। प्राकृतिक स्रोत, साधनले भरिपूर्ण भए पनि यातायातको अभावमा थाप्लो र नाम्लोको भरमा चलिरहेको डोल्पाली जनताको दैनिकी विस्तारै सुविधाउन्मुख भएको प्रजिअ भूपेन्द्र थापा बताउँछन्।

सडक पुगेसँगै हप्तौं लगाएर सुर्खेत नेपालगन्ज लगायत सहरमा जानुपर्ने बाध्यता हटेको छ तर सडकको बीचमा पर्ने भेरी नदी र स–साना खोलामा पुल नभएका कारण आधा दर्जन ठाउँमा गाडी परिवर्तन गर्दै यात्रा गर्नुपर्ने बाध्यता छ।
अप्ठेरो बाटो र खच्चडबाट ढुवानी गरिएको भन्दै स्थानीय बजारमा पाइने हरेक सामानमा दोब्बर–तेब्बर मूल्य उठाउँदै आएका व्यापारीले सडक पुगेपछि सामानको मूल्य घटाएका छन्।

यसअघि ३५ सय रुपैयाँसम्म पर्ने ३० किलो दुर्गा चामल २२–२४ सयमै पाइन थालेको स्थानीयवासीको भनाइ छ। स्थानीय बजारमा पाइने हरेक सामानको मूल्य घटेको छ। सडक पुगेपछि डोल्पाका त्रिपुरासुन्दरी मन्दिर, शे–फोक्सुन्डो ताल, शे गुम्बा, सुलिगाड झरनालगायत पर्यटकीय गन्तव्य अवलोकनका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकको संख्यासमेत बढेको छ। पर्यटक संख्या बढेसँगै त्रिवेणी, खदाङ, त्रिपुराकोट, जुफाल, दुनैलगायत बजारमा व्यापार व्यवसाय फस्टाएको छ। ‘डोल्पासम्म बाटो खुलिसकेकाले अब खच्चडको भर पर्नुपर्ने बाध्यता छैन। सयौं खच्चडले ल्याउने सामान एउटै ट्र्याक्टरले सजिलै भनेकै ठाउँमा पुर्‍याउन सक्छ। अब डोल्पालीका सुखका दिन आउन थालेको छ,’ ठूलीभेरी नगरपालिकाका योगेन्द्र बुढाले भने।

सडक जोडिएसँगै बजार नपाएर घरमै कुहिने गरेको जैविक स्याउ, ओखरलगायत फलफूलले समेत बजार पाएको र डोल्पालीको आयस्तरमा वृद्धि हुन थालेको उनको भनाइ छ। नेपाली सेनाले जिम्मा लिएको जाजरकोट–डोल्पा सडकलाई केन्द्र र कर्णाली प्रदेश सरकारले समेत राष्ट्रिय गौरवको आयोजनाको रूपमा लिएको छ। चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय सडकका रूपमा विकास गर्ने दुवै तहको सरकारको लक्ष्य छ। उपल्लो डोल्पामा पर्ने चीन र नेपालको सिमानामा पर्ने मोरिम्ला र क्याटो नाका खोलेर व्यापारिक सडकका रूपमा विकास गरिने सरकारको लक्ष्य छ। जाजरकोट–डोल्पा सडकमा सानाठूला गरेर एक दर्जन पक्की पुल निर्माण गरी सडक कालोपत्रे गरेपछि डोल्पामा विकासको लहर चल्ने सरोकारवालाको भनाइ छ।    (रासस)

प्रकाशित: ६ माघ २०७५ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App