१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

दश कलाकर्मीद्वारा प्राज्ञ सभा बहिस्कार

काठमाडौं – नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको प्राज्ञ सभा सदस्यमा सिफारिस गरिएका १० कलाकर्मीले प्राज्ञ सभामा नजाने भन्दै बहिस्कारको घोषणा गरेका छन्। सरकारले प्रतिष्ठानका प्राज्ञ नियुक्तिको विधान मिचेर आफुखुशी नाम सिफारिस गरेकोमा असहमति जनाउँदै विधागत प्रतिनिधित्व नभएको सभामा नजाने घोषणा गरेका हुन्।

प्राज्ञ सभा बहिस्कार गर्ने कलाकर्मीहरूमा डा. घनश्याम खतिवडा, हरिबहादुर थापा, चन्द्रमान मुनिकार, शिशिर योगी, चेतन सापकोटा, लक्ष्मण गाम्नागे, प्रदिप बम्जन, सुनिल मास्के, शक्ति बल्लभ, बसन्त श्रेष्ठ र बाबा बस्नेत छन्। समितिले प्रतिष्ठानको उपकुलपतिमा सिफारिस गरेकी सरोजनी तण्डुकारले पनि बहिस्कार गरेकी छन्।

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा नियम कानुनसम्मत नियुक्त नभएको भन्दै गठन गरिएको विधागत कलाकर्मीहरूको संयुक्त दबाब समूहले राजधानीमा शनिवार पत्रकार सम्मेलनमा सिफारिसमा परेका डा. खतिवडाले बहिस्कारको घोषणा गरे। ‘प्रतिष्ठानमा कानुनलाई मिचेर विधाविहिन व्यक्तिलाई नियुक्त गरिएको छ। यो हाम्रो लागि स्वीकार्य छैन’, डा. खतिवडाले भने, ‘छनौंट समितिको सिफारिस नमानी आफुखुशी व्यक्ति नियुक्त गर्नु गैरजिम्मेवार काम हो।’ उनले आफुहरूलाई अहिले पनि पटक–पटक सपथका लागि बायोडाटासहित प्रतिष्ठानमा आउन फोन आउने गरेको खुलाए।

उनले प्राज्ञ सभाका केही सदस्यहरू विधाभन्दा बाहिरका व्यक्ति रहेको बताए। ‘प्राज्ञ सभामा विधागत प्रतिनिधित्व हुन्छ। तर यसपटक प्राज्ञ सभामा केही व्यक्तिको विधा लज्जास्पद किसिमको छ। रंगमञ्च, शास्त्रीय संगीतलगायतका महत्वपूर्ण विधाको प्रतिनिधित्व छैन्’,उनले भने, ‘विद्यालयमा पढ्दा चित्र कोर्ने, गीत गाउनेदेखि लिएर कला क्षेत्र भन्दा बाहिरका अर्थात कृषिसँग सरोकार राख्ने चिकित्सकहरूलाई सदस्यमा नियुक्त गरिएको छ।’

नेपाल प्रज्ञा प्रतिष्ठान, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा रहेका पदाधिकारीहरूको कार्यकाल गत भदौ १९ गते सकिएपछि आगामी चार वर्षका लागि नयाँ सदस्य नियुक्तिका लागि सरकारले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा सिफारिस समिति गठन गरिएको थियो। समूहले सिफारिस समितिले सिफारिस गरेको भन्दा बढी संख्यामा आफ्ना मान्छेलाई प्रतिष्ठानमा भर्ना गरिएको आरोप लगाएको छ।

समूहका सदस्य विजय विष्फोटले प्राज्ञ सभा सदस्यमा २७ जनाको नाम सिफारिस गर्नुपर्नेमा मन्त्रीले आफ्नो स्वार्थ अनुकुल ३८ जनाको नाम सिफारिस गरेको बताए। ‘अहिले संगीत नाट्यमा नियुक्त भएका कुलपति र अर्का एक सदस्य पनि पछि थपिएका सदस्य हुन्। प्राज्ञिकताको मर्म नबुझी सिधैं नियुक्त गर्नु कानुनविपरित हो’,विष्फोटले भने, ‘प्राज्ञ सभा गठन नभई परिषद गठन भनेको संसद् नै नभई मन्त्रीपरिषद् गठन जस्तै हो। हाम्रो आपत्ति कोही व्यक्तिलाई नियुक्त गर्‍यो भनेर होइन। उसको योग्यता र प्राज्ञिकताको आधारमा गर्नुपर्‍यो भन्ने हो।’

ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व प्राज्ञ सदस्य नगेन सिंहले विधि र विधानको अपमान गरेर नियुक्त भएकाले विरोध गरेको बताए। नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा अवैधानिक नियुक्तिका विरुद्ध जीत देउजा(विजय विष्फोट) र गणेशप्रसाद उपाध्याय(देशभक्त खनाल) तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा अवैधानिक नियुक्तिविरुद्ध नगेन सिंह र विक्रम शिशिरले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरिसकेका छन्।

प्रकाशित: ६ माघ २०७५ ०४:३३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App