१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

घले ल्होसारमा हर्षोल्लास

घले ल्होसारमा रमाउदै घले समुदाय। तस्विर : सरिता/नागरिक

धादिङ - देश तथा विदेशका विभिन्न ठाउँमा छरिएर रहेका घले समुदायका मानिसहरू धादिङबेसीमा भेला भएर हर्षोल्लासका साथ घले ल्होसर मनाएका छन्। देशभरका ३६ जिल्ला र विदेशमा रहेका घलेहरू भेला भई आफ्नो ल्होसार मनाएका हुन्। घले जातिको हक हित र जातीय पहिचान संरक्षणका निम्ति स्थापित लिःल फङ (घले समाज)ले विविध सांस्कृतिक कार्यक्रमसहित घले ल्होसार मनाएको हो।

‘ल्हो’ भनेको वर्ग र ‘सार’ भनेको नयाँ हो। समाजका केन्द्रीय अध्यक्ष दिनेश घलेले १२ वटा वर्ग चक्र घुमिरहने भएकाले यो चक्र हरेक वर्ष माघ १ गते सर्ने र यसलाई घले समुदायले नयाँवर्षको स्वागतको रूपमा मनाउने गरेको बताए। ‘घले जातिको आफ्नै भाषा, भेषभुषा र संस्कृति छ’, उनले भने, ‘अघिल्लो वर्षमा भएका नराम्रा विषयलाई भुलेर आगामी नयाँवर्षमा नयाँ काम गर्ने अवसरको रूपमा घलेहरूले यो पर्व मनाउने गरेका छन्।’ बाइसे चौबिसे राज्यको समयमा नेपालको आदिम भूमिमा राज्य चलाएर बसेका घलेहरू अहिले आफ्नो अधिकार र पहिचानको खोजीमा जुटेका छन्।  

च्य–ल्हो (चरा वर्ग) को बिदाइ गरी खि–ल्हो (कुकुर वर्ग) को स्वागतका लागि हरेक वर्ष ल्होसार कार्यक्रमको आयोजना गरिन्छ। यस्तै कार्यक्रम गत वर्ष लमजुङमा गरिएको थियो। हरेक वर्ष फरक–फरक जिल्लामा भेला भएर ल्होसार मनाइने गरेको घलेको भनाई छ। धादिङमा पनि बाइसे चौबिसे राज्यकालमा केही ठाउँमा घलेहरूले शासन गरेको इतिहास छ। देशका सबै जिल्लामा बसोबास रहेको घलेहरूको जनसंख्या झण्डै ४ लाख ५० हजार रहेका छन्। नेपाल एकीकरण हुनु पूर्व अहिलेको प्रदेश ४ को मध्य तथा हिमाली पहाडी क्षेत्रमा बसोबास रहेको घलेहरूले विभिन्न स्थानमा राज्य सञ्चालन गरेको इतिहास रहेको घले समाज धादिङका अध्यक्ष एवं पुर्व सभासद् धनबहादुर घलेले बताए। ‘घलेहरूले धादिङ, लमजुङ, गोरखा, नुवाकोट, रसुवालगायतका ठाउँहरूमा राज गरेर देशलाई योगदान पुर्‍याएका थिए’, घलेले भने,‘आफ्नो पहिचान र संस्कृति संरक्षणका लागि अहिले त्यही जिल्लाका घलेहरू एकजुट भएका हौं।’

बाइसे चौबिसे राज्यको समयमा नेपालको आदिम भूमिमा राज्य चलाएर बसेका घलेहरू अहिले आफ्नो अधिकार र पहिचानको खोजीमा जुटेका छन् । 

घलेहरूले परापूर्वकालदेखि ल्होसार मनाउँदै आएको भएपनि २०६५ सालमा लिःल फङ (घले समाज) स्थापना भएपछि संस्थागत रूपमा ल्होसार मनाउन थालिएको हो। लामो समयसम्म काठमाडौंमा मनाइने गरिएको ल्होसार २०७३ सालमा गोरखाको बारपाकमा, २०७४ सालमा घले जातिको उद्गमस्थल लमजुङको बेशीसहरमा मनाइएको थियो। यो बर्षको ल्होसारमा खिल्हो अर्थात कुकुर वर्गलाई बिदाइ गरी फाल्हो अर्थात मृग वर्गलाई स्वागत गरिएको छ। कार्यक्रममा १० हजार भन्दा बढी घलेहरू उपस्थिति रहेको थियो। कार्यक्रममा लिःल (घले) जातिको जातीय एकतालाई नै विशेष जोड दिइने जातीय चिनारी तथा पहिचान झल्काउने विविध नृत्य तथा सांगीतिक प्रस्तुतिहरू रहेका थिए। कार्यक्रममा चौरी नाच, घोडचडी नाच, लामा नाचलगायतका नाच प्रदर्शन गरिएको थियो।

घलेहरू नेपालका ३६ जिल्लामा छरिएर बसेका छन्। हरेक जिल्लामा रहेका घलेहरूको आफ्नै मौलिक खानपिन, जातीय पहिरन, संस्कृति तथा बाजागाजाहरू छन्। कुल पुजा तथा अन्य पुजाआजा गर्दा भेडा, परेवा र हासको प्रयोग गर्छन्।

प्रकाशित: ६ माघ २०७५ ०४:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App