१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सहिद र घाइते परिवारलाई जागिर र राहतको मल्हम

तस्बिर : मिथिलेश /नागरिक

लहान - मधेस आन्दोलनका प्रथम सहिद रमेश महतोको परिवारमा ढिलै भएपछि खुसी सञ्चार भएको छ। परिवारका एकजना सदस्यले रोजगारीले बुढेसकाल धान्ने सहारा पाएपछि रमेशका पिता रविले आँशु थाम्नै सकेनन्। ०६३ को मधेस आन्दोलन सम्झँदै रविले भने, ‘म जस्ता धेरै पिताले पुत्र गुमाएर पनि अधिकार र मुद्दा स्थापित नभएको सुन्दा ज्यादै दुःख लाग्छ। बुढेसकाल धान्ने सहारा अर्को छोरालाई मधेस सरकारले जागिर दिएर हाम्रो पारिवारिक समस्या सामाधान गरिदिएको छ, उनले भने, ‘अधिकार र मुद्दा स्थापित गराएर राजनीतिक समस्या सामाधान भएको देख्ने लालसा छ।’

प्रदेश–२ को सरकारले शनिवार लहानमा आयोजना गरेको १२ औं मधेस बलिदानी दिवस तथा सहिद परिवारको सम्मान कार्यक्रममा रमेशका पीता रवि महतोलाई संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सम्मानसँगै माइलो छोरा रामसोभित महतोलाई जागिरको पत्र प्रदान गरे। जागिरका लागि मुख्यमन्त्री कार्यालयमा सम्पर्क गर्न आउनु भनेर रामसोभितको नामको पत्र रविलाई प्रदान गर्दा यादव भावुक भए। उनले आँशु रोक्नै सकेनन्। कारुणीक र भावुक मोहलले उपस्थित सबैको आँखा रसाएको थियो।
मधेस आन्दोलनको क्रममा सहादत दिएका र राज्यको सेवा सुविधाबाट वञ्चित रहेका ५८ मध्ये ४६ सहिद परिवारलाई शनिबार सम्मानसँगै परिवारका एक सदस्यलाई जागिरको पत्र पदान गरिएको थियो।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जिल्ला जिल्लामा मान्छे खटाएर सहिदहरूको लागत संकलन गरेको थियो। सो तथ्यांकलाई आधार मानेर सरकारले ४६ जनाका परिवारका एक सदस्यलाई रोजगारीको व्यवस्था गरेको छ। बाँकी १२ सहिदमध्ये बारा फेटा १ का सहिद मजिद मोहम्मद मंसुरकी श्रीमतीले जागिर पाइसकेकी छिन्। पहिलो मधेस आन्दोलनका सहिद लहानका अनिस अन्सारीको परिवारबाट एकजना, बेचन यादवको परिवारबाट एकजना, प्रमोद सदायको परिवारबाट एकजना, पर्सा जिल्ला विरगन्ज महानगरपालिका १६ का सहिद सोहनप्रसाद गुप्ताकी श्रीमती स्थानीय तह निर्वाचनमा वडा सदस्यमा निवार्चित भएकी छिन्। महोत्तरीको बर्दिबास नगरपालिका ८ का सहिद रामशिला मण्डलको परिवारमा रोजगारी गर्ने कोही नभएको तथ्यांक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस भएको छ। महोत्तरीकै जलेश्वर नगरपालिकाका सहिद गणेशप्रसाद चौधरीकी बुहारी र सहिद रोहनप्रसाद चौधरीका आमा प्रदेश सांसदमा निवार्चित भइसकेकी छन्।

जनकपुर उपमहानगरपालिका १९ का सहिद नितु यादवको परिवारबाट एकजना नगर प्रहरीमा जागिर पाइसकेका छन्। सर्लाही बरहथवा नगरपालिका १७ का सहिद रामएकवाल रायकी पत्नी २०६४ सालमा सभासद् भइसकेकी छिन्। सप्तरी हनुमाननगर ३ का सहिद रामकृष्ण राउत र राजविराज ७ का सहिद दिलिपकुमार साहको परिवारमा जागिर गर्ने कोही छैनन्। त्यसैगरी आन्दोलनको क्रममा गोली लागि घाइते भएका तथा शरीर अंगभंग भएकालाई अवस्था हेरी २५ हजारदेखि ३ लाखसम्म राहत उपलब्ध गराएको छ। बलिदानी दिवशको अवसरमा ७७ जना घाइतेलाई मुख्यमन्त्री लालबावु राउतले राहत रकमको चेक हस्तान्तरण गरेको थियो। पहिलो चरणमा ९७ जना घाइतेलाई राहत दिने निर्णय मन्त्रिपरिषद्ले गरेको थियो। जसमध्ये २२ जनाले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्कै कार्यालयमा गएर राहतको चेक बुझिसकेका थिए।

पुस २९ गते बसेको मन्त्रिपरिषद् बैठकले मधेस आन्दोलनका घाइतेलाई राहत तथा सहिद परिवारबाट एक घर एक रोजगारीको व्यवस्था मिलाउने निर्णय गरेको थियो। प्रदेश सरकारले माघ ५ गते लाई मधेस आन्दोलनमा शहादत प्राप्त गरेकाको दिनको रुपमा स्मरण गर्दै बलिदानी दिवस मनाउने निर्णय नै गरेको छ। यस दिन प्रदेश सरकारले प्रदेश २ मा सार्वजनिक विदा समेत घोषणा गरिएको थियो।संघीय समाजवादी फोरमका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवबाट सम्मानपत्र र छोराको जागिरपत्र ग्रहण गर्दै भावुक बनेका सहिद रमेश महतोका पीता रवि महतो।

प्रकाशित: ६ माघ २०७५ ०१:१८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App