१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विपन्नले घुम्ती पाउँदा दैनिकी चलाउन सहज

तस्विरः एकल महिलालाई फलामे घुम्ती हस्तान्तरण गर्दै एसओएस सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीलगायत। नगेन्द्र उपाध्याय / नागरिक

सुर्खेत – श्रीमानले मजदुरी गरेर कमाएको पैसाबाट वीरेन्द्रनगर–३ मुलपानीकी खजुरा विष्टको घरको चुल्हो बल्थ्यो । कोठा भाडा, दुई छोराछोरीको पढाई र घर व्यवहार चलाउने खर्च श्रीमानले धानेका थिए। पाँच वर्षअघि श्रीमान खगेन्द्र विष्टको मृत्यु भयो । घर–व्यवहार, छोराछोरीको पालनपोषण र शिक्षादिक्षाको जिम्मेवारी खजुराको काँधमा आइलाग्यो।

हातमा सीप थिएन। मजदूरीमा जाँदा छोरा–छोरी स्याहार्ने अरु मानिस थिएनन् । उनले कोठा नजिकै मुलपानी चोकमा पाँच सय रुपियाँमा घुम्ती भाडामा लिइन् । छिमेकीहरुले दुई–चार हजार रुपियाँ सापटी दिए । घुम्ती पसलले उनलाई गुजारा चलाउन केही सहज भयो । 

वीरेन्द्रनगर–४ भैरवस्थानकी कविता बुढाका पनि दुई छोराछोरी छन् । श्रीमान हर्कबहादुर बुढाको धेरै समयदेखी अत्तोपत्तो छैन। उनको समस्या पनि खजुराको जस्तै छ। छोराछोरीको लालनपालन, शिक्षादीक्षा र घर व्यवहार चलाउन कविताले पनि भाडामा घुम्ती पसल चलाएकी छन् । ‘श्रीमान सम्पर्कमा हुनुहुन्न, दुई छोराछोरीको पालपोषण र घर व्यवहार चलाउन घुम्ती पसल सुरु गरेदेखी केही सहज भएको छ’ कविताले भनिन्, ‘एकल भएर व्यवहार चलाउन सजिलो नहुने रहेछ ।’

खजुरा र कविताजस्तै समाजमा जोखिममा रहेका बालबालिकाका अभिभावकहरुलाई जिविकोपार्जनका लागि एस.ओ.एस. वालग्राम अन्र्तगतको सामाजिक सेवा केन्द्रले फलामे घुम्ती र नगद दिएको छ । ‘अव घुम्तीको भाडा तिर्न नपर्ने भयो’ खजुराले भनिन्, ‘घुम्तीसँगै पाएको नगदबाट आवश्यक खुद्रा सामाग्रीहरु खरिद गर्छु ।’

एसओएसले खोजिममा रहेका बालबालिका मात्रै होइन् उनीहरुका अभिभावकहरुका लागि आयआर्जनमा सहयोग पु¥याउँदै आएको छ । एसआएस बालग्राम अन्र्तगतको सामाजिक सेवा केन्द्रका प्रमुख श्याम क्षेत्रीले समुदायमा जोखिममा रहेका १० जना महिलालाई घुम्ती र पाँच जनालाई सिलाई–कटाई मेसिन उपलब्ध गराइएको बताए। ‘समुदायमा जोखिममा रहेका बालबालिकाका अभिभावकलाई स्वरोजगार बनाउने उद्देश्यले सीपसँगै आवश्यक सामाग्रीहरु पनि उपलब्ध गराएका हौं’ उनले भने, ‘यसले अभिभाव आर्थिक रुपमा आत्मनिर्भर हुनुका साथै उनीहरुका बालबालिकाको शिक्षामा महत्वपूर्ण टेवा पुग्छ ।’

घुम्ती हस्तान्तरण कार्यक्रममा एसओएस बालग्राम सुर्खेतका निर्देशक मुकुन्दकुमार गिरीले आर्थिक रुपमा कमजोर, अपाङ्गता भएका र एकल महिलाको अभिभावकत्वमा हुर्किएका बालबालिकाको शिक्षामा टेवा पु¥याउने उद्देश्य एसओएसको रहेको बताए। ‘एसओएस हर्मनमाइनर विद्यालयमा अध्ययनरत मात्रै होइन्, समुदायका अन्य विद्यालयहरुमा अध्ययनरत आर्थिक रुपमा कमजोर विद्यार्थीहरुलाई पनि छात्रवृत्ति दिने गरेका छौं’ उनले भने, ‘यसका साथै दीर्घकालसम्म उनीहरुको शिक्षामा सहयोग पुर्‍याउन अभिभावकहरुलाई सीप र आवश्यक सामाग्रीहरु दिएका हौं ।’

कार्यक्रममा वीरेन्द्रनगर–४ का वडा अध्यक्ष निलकण्ठ खनालले एसओएसले सामाजिक क्षेत्रमा महत्वपूर्ण सहयोग गर्दै आएको बताए । ‘विपन्न र पछाडी परेका समुदायलाई सीप, सो अनुसारका सामाग्री र आर्थिक सहयोग एसओएसले गर्दै आएको छ’ वडा अध्यक्ष खनालले भने, ‘यसले आर्थिक रुपमा पछाडी परेका समुदायको सशक्तिकरणका साथै बालबालिकाको शिक्षामा महत्वपूर्ण सघाउ पुर्‍याएको छ ।’

प्रकाशित: ५ माघ २०७५ ११:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App