१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खानीडाँडा विमानस्थल मर्मतमा ढिलासुस्ती, उडान नहुँदा सर्वसाधारण प्रभावित

खोटाङ– भारी वर्षाका कारण माटो कटान हुँदा जोखिममा परेको खोटाङको मनमाया राई खानीडाँडा विमानस्थल मर्मतमा चरम ढिलासुस्ती भएको छ। गत जेठ १ गतेको भारी वर्षाका कारण ड्रेन (ढल) थुनिएपछि रन–वेमा जमेको पानी फुटेर बाहिरिँदा विमानस्थलको डिलको माटो कटान सुरु भएपछि उच्च जोखिममा परेको विमानस्थल मर्मतमा ढिलासुस्ती भएको हो। विमानस्थल भन्दामाथिबाट झर्ने वर्षाको भलपानीलाई कटाउनका लागि विमानस्थलको रन–वेमुनि राखिएको ड्रेनको मुख थुनिँदा बाहिरिएको भलपानीले बिमानस्थलको एक भाग भासिएपछि उसबेलादेखि हालसम्मै खानीडाँडा विमानस्थलमा उडान अवरुद्ध छ।

अवरुद्ध विमानस्थल तत्काल मर्मतमा लामो समयसम्म ध्यान नदिइएको तथा ढिलागरी सुरु भएको मर्मतका काममा समेत ठेकेदारको ढिलासुस्ती हुँदा जिल्लाबासी आजित छन्। विमानस्थलको कुनाबाट पानी निकास हुने नालीमा आरसीसी ढलान र विमानस्थल भन्दामुनि पर्खाल लगाउने ठेक्का लिएको ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनले काममा ढिलाइ गरेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए। ‘ढिलासुस्ती भएको विषयमा हामीले अनुगमन गर्‍यौं,’ मेयर रिजालले भने, ‘काममा ढिलासुस्ती मात्र होईन। गुणस्तरहिन काम भएको पाएका छौँ। निर्माणका काममा माटो मिसिएको बालुवा र गिटी प्रयोग भइरहेको भेटेका छौँ।’ ढिलासुस्ती र गुणस्तरहीन काम भएको भन्दै जनगुनासो आएपछि प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेल नेतृत्वको टोलीले मंसिर १९ गते अनुगमन गरेको विमानस्थल मर्मतको कामलाई पुःन माघ ३ गते नगरपालिकाको टोलीले अनुगमन गरेको छ।

करिब ७ करोडमा बिमानस्थलमा झर्ने भलपानी निकासका लागि रन–वेमुनि बिछ्याइएको नाली मर्मतकाक्रममा एक हजार घनमिटर आरसिसि ढलान गर्ने र नालीबाट निकास जाने खोलासम्म पर्खाल लगाउने कामको ठेक्का लागेको हो। ढल पसेर बिग्रिएको धावनमार्गको बीच भागदेखि डिलसम्मको नालीमा आरसीसी ढलान गर्ने, त्यसमाथि सम्याएर कालोपत्रे गर्ने, खोलामा ग्याभीन तथा मेसिनरी वाल हाल्ने लगायतका कामको ठेक्का कान्छाराम कन्ट्रक्सनले लिएको हो। आगामी असारसम्म कामको म्याद भएकाले बाँकी समयमा काम पूरा गर्ने ठेकेदार कम्पनी कान्छाराम कन्ट्रक्सनका कान्छाराम तामाङले बताए।

जमिन भिजेर माथिबाट खसेको स्ल्यावले ड्रेन थुनिँदा रन–वेमाथिबाटै निकासा भएको पानीले बिमानस्थलको दक्षिणीतर्फका डिल कटान गरेको छ। रन–वेमा भरिएर किनाराबाट निकास भएको भलपानीले बिमानस्थलको १०/१५ मिटर डिल भासिनुका साथै फिलिङ माटो बगाएको छ। कटानका कारण बिमानस्थलको रन–वेभन्दा २/३ मिटर नजिकसम्मको भाग भासिएको छ।

भलपानीका कारण छेउबाट भासिन सुरु गरेको पहिरोले विमानस्थलबीचको रन–वेको सेतो मार्किङसम्म चर्किएको छ। कलभर्ट थुनिएपछि धावनमार्गहुँदै बगेको भलपानीको कटानका कारण विमानस्थलको दक्षिणी भाग भत्किन थालेको छ। कलभर्ट थुनिएपछि विमानस्थलमुनीबाट निकासा हुनुपर्ने भलपानी सिधै धावनमार्गहुँदै बिमानस्थलको छेउबाट बाहिर निकासा हुने गरेको छ। माटो कटान रोक्ने नाममा बिमानस्थलको डिलमा बाँसको भाटा हालेर खेलाँची गरेको पाइएको छ।

वर्षाको भलपानी निकासाका लागि टावर नजिकै राखिएको कलभर्ट थुनिँदा विमानस्थल कटान भएको यो दोश्रो पटक हो। यसअघि, भलपानीले बगाएर झरेको माटोले कल्भर्ट थुनिँदा २०६९ साल साउनमा धावनमार्गमाथिबाट बगेको भलपानीले बिमानस्थलको डिल कटान भएको थियो।

प्रकाशित: ५ माघ २०७५ ०९:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App