१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

महिला बडिबिल्डिङकाे बयान

लाजिम्पाटकी निर्मला महर्जन फिटनेस ट्रेनर हुन्। फिटनेस सेन्टरमा ट्रेनिङ दिनु उनको दिनचर्या बनेको छ, अहिले। त्यससँगै उनी अहिले वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपको तयारीसमेत गरिरहेकी छिन्।

उनी फिटनेस ट्रेनर बन्नुको रोचक कथा छ। उनको स्कुल जाने बाटोनजिकै टप गिएर जिम सेन्टर थियो। जिम सेन्टर सिसाले बारिएको थियो। त्यसैले बाटोबाटै त्यहाँका क्रियाकलाप स्पष्ट देखिन्थ्यो। उनी स्कुल जाँदा–आउँदा जिम सेन्टरमा पुरुषहरूले फलामका रड उचालेको र कसरत गरेको हेर्न थालिन्। त्यसपछि उनलाई पनि जिम गर्ने मोह जाग्यो। तर, त्यो् बेला केटीले जिम गर्ने रहर बोक्नु ‘पाप’जस्तै मानिन्थ्यो। एक दिन उनी स्कुलबाट फर्किएर जिम सेन्टरतिर हेर्दै थिइन्। उनलाई कसैले सोधे– तिमीलाई सधैं जिम सेन्टरमा हेरेको देख्छु, जिम गर्ने मन छ र ? उनलाई प्रश्न सोध्ने व्यक्ति जिम सेन्टरका ट्रेनर थिए। उनले घरमा सोधेर निर्णय लिने बताइन्।

घर पुगेपछि उनले आमाबुबालाई जिम सिक्ने अवसर आएको बताइन्। तर, बुबाले ठाडै अस्वीकार गरिदिए। उनले आमालाई जिम गर्ने रुचि भएको बताएपछि उनको बडिबिल्डिङ यात्रा सुरु भयो। ‘नेपाली महिलामध्ये पहिलो पटक जिम सेन्टरमा कसरत गर्ने म नै हुँ,’ उनले सुनाइन्, ‘त्यतिबेला फिटनेसमा महिलाको उपस्थिति छँदै थिएन।’

उनले लाइटवेटबाट कसरत गर्न सुरु गरिन्। अहिले उनी दैनिक शारीरिक कसरतमा व्यस्त हुन्छिन्। उनले धर्मश्रीमा पहिलो पटक सहभागिता जनाएकी हुन्। ‘त्योबेला महिलाको बडिबिल्डिङ सो कार्यक्रम नेपालमै पहिलो थियो, उनी भन्छिन्, ‘टु पिस मात्र लगाएर स्टेजमा उभिँदा निकै नकारात्मक कुरा सुने पनि सबै पचाएँ, किनकि मलाई आफ्नो लक्ष्यमा पुग्नु थियो।’ बडीबिल्डिङमा  मेहेनत मात्र होइन, आर्थिकले पनि धेरै महत्वव राख्ने उनी बताउँछिन्। सुरुवाती चरणमा धेरैको नकारात्मक कुरा सुनेको भए पनि श्रीमानको साथ र सहयोगले यहाँसम्म आएको उनले बताइन्। उनी भन्छिन्, ‘शारीरिकरूपमा श्रीमान मसँग नभए पनि उहाँले देखाएको सपना र माया सदा मसँगै छ।’

अन्य देशको तुलनामा नेपालमा महिला बडिबिल्डिर महिला कम भएको उनी बताउँछिन्।

उनले विभिन्न देशहरूमा जिम ट्रेनरका रूपमा काम गरिसकेकी छिन्। त्यसको कमाइबाट बडिबिल्डिङको तयारीमा लागिन्। उनी भन्छिन्, ‘मैले बडिबिल्डिङमा लाग्ने समयमा अहिले जस्तो अवसर थिएन। त्यो समयमा टु पिस लाएर शरीर देखाउनु नै एक प्रकारको विद्रोह हो, बडीबिल्डिङमा लाग्छु भन्नु नै ठूलो आँट हो, जसले गर्दा नयाँ पिढीलाई केही सहज भएको छ।’ मांसपेशी बलियो बनाउन के खाने, कुन फिजिक्सको लागि तयार गर्ने, पोजिङ कस्तो गर्ने लगायत विषयमा अन्योल रहेको उनको अनुभव छ। बडिबिल्डिङ सो मा लगाउने हाई (६ इन्च) हिल र टु पिस नेपालमा उपलब्ध नरहेको उनी गुनासो पोख्छिन्। ‘बडिबिल्डिङ सोको लागि बिदेशबाट नै मगाउँछु, बडिबिल्डिङ सो को लागि बिकिनीको धेरै महत्व हुन्छ, बाहिरबाट मगाउँदा महँगो हुन आउँछ,’ उनले भनिन्।

उनी बडिबिल्डिङ सोमा सहभागी हुने पहिलो खेलाडी हुन्। उनी बडिबिल्डिङ सो को लागि मोडल फिजिक्समा बंगलादेश, भुटानलगायत देश पुगेकी छन्। ‘त्यहाँको सोबाट धेरै जानकारी पाएँ,’ उनले सुनाइन्। उनी सन् २०१५ मा थाइल्यान्डको बैंककमा आयोजित वल्र्ड बडिबिल्डिङमा पहिलोपटक भाग लिएकी थिइन्। त्यसपछि सन् २०१६ मा भुटानमा आयोजित प्रतियोगितामा सहभागिता जनाइन्। प्रतियोगितामा सहभागी १४ जनामा उनी सातौं भएकी थिइन्।

नेपालमा बडिबिल्डिङको खासै जानकारी नभएको उनको बुझाइ छ। यद्यपि, पहिलेभन्दा महिलाको सहभागिता बढेको उनको बुझाइ छ। उनले सन् २०१८ मा एसियन च्याम्पियनसिप  बडिबिल्डिङमा भाग लिएकी थिइन्। प्रतियोगितामा उनी पाँचौं भएकी थिइन्। एउटा विधामा तयारी गरेर अर्काेमा प्रतिष्पर्धा गर्नुपरेकाले सोचेअनुसारको नतिजा नआएको उनले बताइन्। ‘मोडल फिजिक्समा तयारी गरेकी थिएँ। तर, एथलेटिक्स फिजिक्समा प्रतिष्पर्धा गर्नुपर्‍यो,’ उनले सुनाइन्, ‘त्यसमा पाँचौं भए पनि खुसी लाग्यो।’ बडिबिल्डिङलाई राज्यले अन्य खेलजस्तो प्राथमिकता नदिएको उनको दुखेसो छ। ‘राज्यले सहयोग गरेको भए खेलाडीले खेल छोड्नुपर्ने अवस्था आउँदैनथ्यो,’ उनले भनिन्।

नेपालकी अर्की महिला बडिबिल्डिर हुन्, कीर्तिपुरकी ननिता महर्जनले (३३)। उनले थाइल्याण्डमा भएको वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपमा कास्य पदक जितेकी हुन्। उनी चार वर्षदेखि बडिबिल्डिङमा सक्रिय छिन्। त्यसअघि उनले बडिबिल्डिङमा लागुला भन्ने सोचेकी पनि थिइनन्। बच्चा जन्मिएपछि उनको शरीरमा अनावश्यक मोटोपन देखियो। टाउको तथा ढाड दुख्ने समस्या पनि बल्झियो। यसको उपचारका लागि उनले योग र कसरत थालिन्। तर, शरीर घटेन। त्यसपछि श्रीमानको लाइटवेट कसरत थालिन्। त्यतिबेला उनको तौल ७१ केजी थियो। तर, तीन महिनामा उनको तौल घटेर ६३ केजी पुग्यो। यसपछि उनी उत्साहित भइन्। र, बडिबिल्डिङमा क्रियाशिल भइन्। अहिले उनी बडिबिल्डिङ सोबाट नेपाललाई अन्तर्राष्ट्रिय जगतमा चिनाउन सफल भएकी छन्।

उनी थाइल्यान्डमा भएको वल्र्ड बडिबिल्डिङ तेस्रो समेत भइन्। त्यसपछि उनको दैनिकीमा परिवर्तन आएको छ। सन् २०१६ मा नेपालमा भएको बडिबिल्डिङ सोमा उनी प्रथम भएकी थिइन्। त्यसपछि उनले अन्तर्राष्ट्रिय च्याम्पियनसिपमा जाने अवसर पाइन्। युट्युब भिडियो हेरेर बडिबिल्डिङ सोको तयारी गरेकी उनी बताउँछिन्। यसमा परिवारको साथ रहेको उनले सुनाइन्। उनी भन्छिन्, ‘म आफूलाई निकै भाग्यमानी सोच्छु। किनकि मैले आफन्तको साथ र सहयोग पाएकी छु।’

प्रतिस्पर्धाका लागि मांसपेशीलाई मजबुत बनाउनुपर्ने र आकारमा उतार्नुपर्ने भएकाले धेरै मेहनत गर्नुपर्ने उनी बताउँछिन्। ‘उचित खानपान, अनुशासन र कडा शारीरिक परिश्रमपछि मात्र विश्व जगतमा प्रतिस्पर्धाका लागि तयार हुन सकिन्छ,’ उनी सुनाउँछिन्। खेलको तीन–चार महिनाअघिको समय कटिङ फेज हुने उनले बताइन्। उनी भन्छिन्, ‘खेलमा भाग लिनु भन्दा अगाडिको समय कटिङ फेज हो। यो बेला शरीर बनाउने र जित्ने मात्र ध्यान हुन्छ। एक प्रकारको तपस्यामा हुन्छौं हामी।’ प्रतियोगिताका लागि शारीरिकरूपमा मात्र नभएर मानसिकरूपमा पनि उत्तिकै बलियो हुनुपर्ने उनी बताउँछिन्। प्रतियोगिताका लागि शारिरीक कसरत मुख्य कुरा भए पनि अन्य कुरामा ध्यान दिनुपर्ने उनी बताउँछिन्। ‘प्रोटिनयुक्त खानेकुरा धेरै खानुपर्छ,’ उनले भनिन्। बडीबिल्डिङ सोका लागि शरीर ड्राइ हुनु पर्ने उनी बताउँछिन्। आफूले २४ घन्टासम्म पानी नपिइ बसेको उनको अनुभव छ।

नेपालमा बडिबिल्डिङ सो खेलको बारेमा धेरै जानकारी नभएको उनी दुखेसो पोख्छिन्। २०१७ मा मंगोलियामा भएको बडिबिल्डिङ सोमा दोस्रो स्थान हात पारेकी उनी २०१८ को खेलमा भने बिरामी भएर जान नपाएको बताउँछिन्। अहिले ननिता २०१९ को बडिबिल्डिङको तयारीमा छिन्। उनको चाहना छ– देशको नाममा पहिलो मेडल जित्ने। उनी भन्छिन्,‘ वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपमा प्रथम भएपछि स्टेजमा राष्ट्रिय गित बजाइएर देशको झन्डा पर्फफराउने धोको छ।’

अन्तर्राष्ट्रिय जगतमा नेपाललाई चिनाउन पाएकोमा निकै खुसी भएको उनी बताउँछिन्। ‘वल्र्ड बडिबिल्डिङ च्याम्पियनसिपमा भाग लिँदा धेरै कुरा सिक्ने मौका पाएँ,’ उनी भन्छिन्, ‘बडिबिल्डिङमा के कुराको महत्व बढी छ भन्ने जानकारी पाएँ।’ श्रीमानको साथ र सहयोग पाए पछि बडिबिल्डिङमा लागेकोमा कुनै ग्लानी नरहेको उनी बताउँछिन्। अन्य देशको तुलनामा नेपालमा महिला बडिबिल्डिर महिला कम भएको उनी बताउँछिन्। यो खेलमा आउन चाहनेलाई अवसर भएको उनको बुझाइ छ।

प्रकाशित: ५ माघ २०७५ ०२:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App