१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

विदेशी लगानी नरहेको सौरभ ग्रुपको दाबी

काठमाडौं – सौरभ ग्रुपले आफ्ना उद्योगमा एक रुपैयाँ पनि विदेशी लगानी नरहेको जनाएको छ। खोज पत्रकारिता केन्द्र (सिआइजे) ले सार्वजनिक गरेको ‘सिमेन्ट, सुपारी र होटलमा गैरकानुनी आर्जन नै वैदेशिक लगानीको रूपमा नेपाल भित्रिन्छ, कसरी ? शीर्षकको प्रतिवेदनमा सौरभ ग्रुपको नाम जोडिएकोमा त्यसको खण्डन गर्दै ग्रुपले लगानी भए पुष्टि गरेर देखाउन चुनौती दिएको छ।

शुक्रबार पत्रकार भेटघाट गरी सौरभ ग्रुपका अध्यक्ष विष्णुप्रसाद लामिछानेले आफ्ना कम्पनीमा विदेशी लगानी नभएको दाबी गरे। ‘विभिन्न उद्योगमा हाम्रो परिवार (समूह) को १६ सय करोड (१६ अर्ब) र बैंकहरुको सहित ३६ सय करोड रुपैयाँ (३६ अर्ब) लगानी छ,’ लामिछानेले भने, ‘हामीले सञ्चालन गरेको एउटा उद्योगमा पनि विदेशी लगानी छैन।’ लामिछानेले आफ्ना परिवारका सदस्यमा कोही पनि गैरआवासीय नेपाली नभएको बताए। ‘सौरभ इन्टरनेसनल कम्पनी २०२५ सालमा भएको हो,’ लामिछानेले भने, ‘विदेशी लगानी नै भएको विषयमा भ्रम सिर्जना गरेर हामीलाई क्षति पुर्‍याउने काम भयो।’ सौरभ ग्रुपमा न्यौपाने समूहको ५० प्रतिशतभन्दा बढी लगानी रहेको बताउँदै आफ्नो समूहले गुट्का, साबुन, सुपारीजस्ता उत्पादनसँग सम्बन्धित कुनै पनि उद्योग तथा आयात निर्यात कारोबार नरहेको जनाएको छ।

सिआइजेले सार्वजनिक गरेको रिपोर्टमा विष्णुप्रसाद न्यौपाने अध्यक्ष रहेको सौरभ ग्रुप र यो ग्रुपको लगानी रहेका १२ कम्पनीमध्ये दुुईवटा कम्पनीमा ‘ट्याक्स हेवन’ मुलुकहरू ब्रिटिस भर्जिन आइल्यान्ड, युएई र हङकङबाट विदेशी लगानी भित्रिएको उल्लेख थियो। उक्त समूहले सिजाइजेको रिपोर्टमा भनेजस्तो कुनै पनि लगानी नभएको र प्रतिवेदनमा उल्लेख भएको भनिएको ग्लोबल टेक्नोलोजी एन्ड ट्रेडमार्क लिमिटेड भन्ने कम्पनीसँग आफ्नो संलग्नता नभएको अध्यक्ष लामिछानेले बताए। ‘उक्त कम्पनीसँग हाम्रो समूहको कुनै पनि लगानी, कारोबार, चिनजान र सम्पर्कसमेत छैन,’ उनले भने।

सौरभ ग्रुपअन्तर्गतको सर्वोत्तम सिमेन्ट प्रालिमा हङकङस्थित कृष्णा होल्डिङ्स लिमिटेडको ३८ प्रतिशत सेयर रहेकोमा उक्त कम्पनीले आफ्नो सम्पूर्ण सेयर अन्य नेपाली नागरिकलाई बिक्री गरी आफ्नो लगानी फिर्ता गरेको लामिछानेले बताए। ‘उक्त कम्पनीले सेयर बेचेर करसमेत तिरी ८३ करोड ७० लाख फिर्ता लग्यो,’ उनले भने। उनले मध्यपुर ठिमी नगरपालिका राधेराधेमा रहेको १७ तले भवनमा विदेशीको लगानी नरहेको बताए। ‘उक्त भवन म, मेरो छोरा, दाजु र दाजुको छोराको नाममा छ,’ लामिछानेले भने, ‘आफैं होटल सञ्चालन गर्ने तयारी गरेका छौं।’

सौरभ ग्रुपको लक्ष्मी स्टिल प्रालिको हकमा राजस्व न्यायाधीकरणले सर्वोच्च अदालतबाट प्रतिपादित सिद्धान्तका आधारा कर फस्र्योट आयोगबाट फस्र्योट गरेको जनाएको छ। लक्ष्मी सिमेन्ट प्रालि, केपी सिमेन्ट प्रालि, घोराही सिमेन्ट प्रालिसँग आफ्नो ग्रुपको सम्बन्ध नभएको लामिछानेले बताए। ‘ती ग्रुपमा हाम्रा कुनै पनि सञ्चालकको कहीं कतै सम्बन्ध छैन,’ लामिछानेले भने, ‘बरु ती हाम्रा प्रतिस्पर्धी उद्योग हुन्।’

प्रकाशित: ५ माघ २०७५ ०१:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App