१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

वडाध्यक्षको सिफारिसमा दलित बस्ती बिक्री !

मिर्चैया ९ रम्पुरा स्थित दलित बस्ती रहेको जग्गा। तस्बिरःमिथिलेश यादव

सिरहा- सिरहाको मिर्चैया नगरपालिका– ९ रम्पुरामा तीन पुस्तादेखि बस्दै आएको दलित बस्ती वडाध्यक्षको सिफारिसमा बिक्री भएको खुलेको छ। १५ घरधुरी दलित समुदाय बसोबास गर्दै आएका जमिन वडा कार्यालयबाट वडाध्यक्षले दिएको गलत सिफारिसका कारणले बिक्री भएको हो।

वडाध्यक्ष मोहन प्रसाद पोखरेलले बस्तीमा घरबाटो केहि नभएको (जग्गा खाली भएको) सिफारिस दिएपछि कारोबारीले जग्गा खरिद गरेका हुन्। बस्ती बिक्री भएपछि बसोबास गर्दै आएका बासिन्दा वडा कार्यलय, नगरपालिका, मालपोत लगायतका ठाउँम दौडधुप गर्दै आएका छन्। जग्गा बिक्री भएपछि आफूहरुलाई थप पीडा भएको बस्तीका रामेश्वर महराले बताए।

पुस्तौँदेखि बसोबास गर्दै आएको ठाउँ बिक्री भएपछि दलित बस्तीका बासिन्दाको विजोग भएको छ। ‘बाजेको पालादेखि बसोबास गर्दै आएको जग्गा जनप्रतिनिधिको गलत सिफारिसबाट किनबेच भएछ’ रामले भने ‘जनप्रतिनिधि गरिबलाई जोगाउने भन्दा पनि भगाउनै आएका रहेछन्।’

बस्तीका रामेश्वर महराका अनुसार करिब ५० वर्षअघि सिरहा नगरपालिका ७ घर भएका मन्सुर मियाँकी आमा रासो धुनियाइन मियाँसँग सिरहा फूलबरिया वार्ड नं. १ (ङ्) कित्ता नं. १८ को सात कठ्ठा १० धुर जग्गा किनेर बस्ती बसेको हो। ‘जग्गाको रकम तिरेपछि रजिष्ट्रेशन भएन, आज भोलि गर्दागर्दै आमा रासो र छोराको मृत्यु भएपछि जग्गा कारोबारीले कीर्ते गरेर बस्तीको जग्गा आफ्नो नाममा ल्याएको थाहा पायौं’ महराले सुनाए ‘बस्तीका दलितहरु मालपोत, नापी लगायतका कार्यालय धाएर प्रमाणहरु जुटाउन थालेपछि वडाध्यक्ष पोखरेल र वडासचिव बिन्देश्वर साहलाई समेत प्रभावमा पारेर गलत सिफारिसको आधारमा पुनः अर्को व्यक्तिलाई बिक्री गरिएछ।’

सिरहाको साविक लगडीगोठ ८ का रामबहादुर यादवका छोरा भरत यादवले दलित बस्ती रहेको सात कठ्ठा १० धुर जग्गा १० असोज २०७० मा मियाँको नामबाट आफ्नो नाममा रजिष्ट्रेशन गराएको जग्गाधनी श्रेस्तामा देखिन्छ। मालपोतको जग्गा रजिष्ट्रेशन रजिष्टर अनुसार १ असोज २०७० देखि एकै पटक १८ असोज २०७० मा जग्गा रजिष्ट्रेशन भएको अभिलेख छ। तर, यादवको जग्गाधनी श्रेस्तामा रजिष्ट्रेशन भएको मिति भने १० असोज २०७० उल्लेख रहेको पाइएकाले कीर्ते गरेको देखिन्छ।

बस्ती बिक्री भएको थाहा पाए लगत्तै पछिल्लो वैशाखदेखि नै दलितहरु दौडधुप गर्न थालेपछि वडाध्यक्ष पोखरेलले आफैं दैनिक हिँडिरहेको बाटो समेत नरहेको र बस्तीमा घर नरहेको भन्दै सिफारिस दिएपछि यादवले उक्त जग्गा फुपुको छोराको नाममा रजिष्ट्रेशन गरिदिएको पाइएको छ।

भरतले १० असार २०७५ मा मालपोत कार्यालय सिरहाबाट गोलबजार नगरपालिका–८ चोहर्वाका रामपरीक्षण यादवलाई दलित बस्ती रहेको जग्गा समेत रजिष्ट्रेशन गरिदिएको पाइएको छ। वडा अध्यक्ष पोखरेलले आफूहरुलाई झुक्याएर व्यवसायीले सिफासिर लिएको बताए। जग्गा व्यवसायीले अन्तैको जग्गा देखाएर सिफारिस लिएको उनले भने।

वडाध्यक्ष पोखरेलले आफू दलित बस्तीकै पक्षमा रहेको दाबी गर्दै सिफारिस गरेको जमिनमा बस्ती रहेको जानकारी नभएको बताएका छन्। ‘मलाई झुक्याएर सिफारिस लिए’ उनले भने ‘भूलवश सिफारिस दिए पनि जग्गा फर्काउन वडा कार्यालयबाट हुने सबै सहयोग गर्छु।’

स्थानीय बासिन्दाले वडाध्यक्ष जग्गा कारोबारीको प्रभावमा परेर सिफारिस दिएको आरोप लगाउँदै आएका छन्। बस्ती विद्युत, पानी र बाटो भए पनि वडा कार्यालयले केही नभएको भनेर सिफारिस दिएको छ।


 

 

प्रकाशित: ४ माघ २०७५ ०६:१२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App