१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

मोडमा ‘पेनिट्रेसन’ कालोपत्रे

दोलखा–सिगंटी सडक खण्डको सेउली बजार नजिक ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाएर कालोपत्रे गरिँदै। तस्बिर : रमेश/नागरिक

(सिंगटी) दोलखा - कालोपत्रे भइरहेको जिल्लाको उत्तर जोड्ने प्रमुख मार्ग दोलखा–सिंगटी सडकको अफ्ठेरो भूभाग र मोडहरुमा सडक बलियो बनाउन ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाइने भएको छ। उत्तरतर्फका तीन गाउँपालिकालाई सदरमुकामका साथै राजधानीसँग जोड्ने प्रमुख मार्ग भएकाले सवारीसाधनको चापलाई मध्यनजर गरी त्यस्ता अफ्ठेरो क्षेत्रमा यो विधि अपनाउन लागिएको हो।

ठूला गाडी गुड्ने सडकमा सवारी चाप थेग्ने खालको कालोपत्रे नगरेको भन्दै यो सडकको गुणस्तरबारे प्रश्न उठ्न थालेपछि सडक विभागले अफ्ठेरो भूभाग रहेको आठ किलोमिटरभन्दा बढी क्षेत्रमा बलियो कालोपत्रे हुने ‘पेनिट्रेसन मेकाडम’ विधि अपनाउन लागेको हो। ३५ किलोमिटर दूरीको दोलखा–सिंगटी सडक खण्डमा एसियाली विकास बैंकको लगानीमा सडक विभागले ठेकेदारमार्फत कालोपत्रे गराइरहेको छ। दोलखा उत्तरमा निर्माण हुँदै गरेको राष्ट्रिय गौरवको माथिल्लो तामाकोसीसहित दर्जनभन्दा बढी साना–ठूला विद्युत् आयोजनामा आउजाउ गर्ने मालबाहक गाडी गुड्ने यो सडकमा डिबिएसटी विधिमार्फत कमसल खालको कालोपत्रे गर्न लागिएको भन्दै प्रश्न उठेपछि विभाग र दातृ निकाय त्यस्तो अफ्ठेरो भूभाग र मोडहरुमा बलियो विधि अपनाउने निर्णयमा पुगेका हुन्।

डिभिजन सडक कार्यालय चरिकोटका प्रमुख धर्मेन्द्रकुमार झाका अनुसार सडक खण्डको ओसिलो भूभाग, ‘सी’ आकारको क्षेत्र, उकालो भाग, पानी निकासका लागि बनाइएको ‘कज वे’को दुवैतर्फको भाग, सडक खण्डका बजार क्षेत्र र नाली नभएका स्थानमा यो विधिमार्फत बलियो खालको कालोपत्रे गरिनेछ। ‘सडकको तल्लो तहका ग्रेड, सबबेस र बेस बिछ्याउने क्षेत्रसम्म उस्तै विधि अपनाइन्छ,’ उनले भने, ‘त्यो भन्दा माथिल्लो तहमा ५० एमएमको गिट्टी बिछ्याएर त्यसमा प्रतिवर्गमिटर चार लिटरसम्म अलकत्रा हालेर त्यसमाथि १० एमएमको मसिनो गिट्टी बिछ्याइन्छ र पेलिन्छ।’ झाका अनुसार यसरी कालोपत्रे गर्दा सडक बलियो हुन्छ।   यो सडकको सबै खण्डमा बेसमाथि दुई चरणमा १४ र १० एमएमका मसिनो चिप्स गिट्टी प्रयोग गरी डिबिएसटी प्रविधि अनुसार कालोपत्रे गर्ने सुरुको इस्टिमेट विभागको थियो। तर, सबै भागमा यो प्रविधिले सडकको कालोपत्रे वर्ष दिन पनि टिक्न गाह्रो हुने भन्दै प्रश्न उठेपछि त्यस्ता अफ्ठेरो क्षेत्रमा ‘पेनिट्रेसन मेकाडम’ विधिअनुसार कालोपत्रे गर्न दातृ निकाय सहमत भएको हो। ‘सुरुमा निर्माण व्यवसायीले प्रश्न उठाएपछि चार किलोमिटरमा मात्र गर्ने भनेर डिजाइन पास भएको रहेछ,’ डिभिजन प्रमुख झाले भने, ‘ठूलाठूला मालबाहक गाडी गुड्ने यत्रो सवारी चाप हुने सडक भएकाले बिग्रन सक्ने सम्भावित स्थानमा बलियो सडक बनाउनुपर्ने भएकाले बाँकी ४.५ किलोमिटर क्षेत्रमा पनि यो विधिका  लागि परामर्शदातामार्फत प्रस्ताव गरेका छौं।’ उनले प्रस्ताव छिट्टै स्वीकृत भएर आउने र यसअघि पुरानै विधिअनुसार कालोपत्रे भइसकेका र बाँकी त्यस्ता स्थानमा पुनः कालोपत्रे हुने जानकारी दिए।

निर्माण व्यवसायीले अहिले सिसागोलाई आसपासको क्षेत्रमा यो ‘पेनिट्रेसन मेकाडम’ विधिअनुसार कालोपत्रे गरिरहेको छ। कालोपत्रे आयोजनाको परामर्शदाता कम्पनीका इन्जिनियर असिम घिमिरेका अनुसार जाडोयाम भएकाले १७ डिग्री मौसमभन्दा माथि रहेको समयमा मात्र कालोपत्रेको काम भइरहेको छ। ‘घाम लाग्ने र तापक्रम पुग्ने स्थानमा मात्र काम गराइरहेका छौं,’ उनले भने। डिभिजन सडक कार्यालय चरिकोटकी इन्जिनियर प्रकृति पाण्डेका अनुसार ओसिलो र चिसो क्षेत्रमा भने चिसो मौसम सकिएपछि मात्र कालोपत्रेको काम गरिनेछ। सडक खण्डको राम्पा, सुनखानीको साखल्पु, सित्का, सेउलीबजार, झमार्सी लगायत क्षेत्र ओसिलो भएका कारण चिसो मौसमपछि मात्र कालोपत्रे हुने उनले जानकारी दिइन्।  

‘दोलखाका सडकमा ‘अस्फाल्ट कंक्रिट’ विधि अपनाऊ’
जलविद्युत् र पर्यटनको हबका रुपमा चिनिन थालेको दोलखा जिल्लाका ठूला सडकमा कालोपत्रेको योजना बनाउँदा ‘अस्फाल्ट कंक्रिट’ विधि अपनाउन प्राविधिकले सुझाव दिएका छन्। ‘विद्युत् र पर्यटनको हब यो जिल्लामा सवारी चाप अत्याधिक भइसक्यो,’ डिभिजन सडकका एक प्राविधिकले भने, ‘तर गाउँ जाने सडकजस्तो ठानेर सामान्य गुणस्तरको कालोपत्रेको योजना बनाइन्छ, सिंगटीको सडकमा पनि भएको त्यही हो।’

ती प्राविधिकका अनुसार आर्थिक चहलपहल बढी हुने जिल्ला भएकाले सवारी चाप बढ्ने भएकाले आगामी कालोपत्रेका योजनामा विभाग र स्थानीय सरकार दुवैले अस्फाल्ट कंक्रिट विधि अपनाउन जरुरी छ। कंक्रिट ढलानजस्तै खालको यो अस्फाल्ट प्रविधि कालोपत्रेको उच्च विधि हो। सुरुमा महंगो परे पनि यो सकभर नबिग्रिने खालको हुने ती प्राविधिकले बताए। विभागले काठमाडौं, बुटवल, चितवन, बिराटनगर, वीरगन्ज जस्ता ठूला सहरमा यो विधि अपनाएर कालोपत्रे गरिरहेको छ।

प्रकाशित: ४ माघ २०७५ ०४:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App