१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

पुनर्निर्माणको आगामी दुई वर्षका लक्ष्य र कार्ययोजना पारित

काठमाडाैं - राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले पुनर्निर्माण तथा पुनर्स्थापनाको आगामी लक्ष्य र कार्ययोजना पारित गरेको छ।

विहिबार वसेको निर्देशक समितिको बैठकले पुनर्निर्माण र पुनर्स्थापनाका बाँकी काम दुई वर्षभित्रमा सम्पन्न गर्ने गरी आगामी लक्ष्य र कार्ययोजना पारित गरेको हो। बैठकमा प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पेश गरेकोे आगामी लक्ष्य र कार्ययोजना अनुसार आर्थिक वर्ष २०७४/७५ भित्र प्रथम किस्ता लिएका सम्पूर्ण लाभग्राहीको निजी आवास पुनर्निर्माण आर्थिक वर्ष २०७५/७६ भित्र सम्पन्न गरिनेछ।

बैठकपछि सञ्चारकर्मीहरुसँग प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले भूकम्प गएलगत्तै पुनर्निर्माण भएका घरहरुलाई एकमुष्ट तीन लाख रुपैयाँ अनुदान उपलब्ध गराउनका लागि प्रकृयालाई सहज बनाएर अघि बढ्ने निर्णय भएको बताए। गुनासो सुनुवाई र पुर्णसर्वेक्षणको कार्य आर्थिक वर्ष २०७५/७६ को दोस्रो चौमासिक भित्र सम्पन्न गरी बाँकी सबै लाभग्राहीलाई आर्थिक वर्ष ०७५/७६ भित्रै पहिलो किस्ता रकम उपलब्ध गराइने भएको हो।

एकीकृत बस्ती विकास अन्तर्गत आर्थिक वर्ष ०७५/७६ भित्र ५० वटा र आर्थिक वर्ष ०७६/७७ भित्र थप २५ वटा योजना स्वीकृत गरिनेछ। जोखिम वर्ग लाभग्राहीलाई थप ५० हजार अनुदानसहित घर निर्माण कार्य आर्थिक वर्ष ०७५/७६ भित्रै आरम्भ गरिनेछ भने आर्थिक वर्ष ०७५/७६ भित्र ४० प्रतिशत र आर्थिक वर्ष ०७६/७७ भित्र शत प्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिले लक्ष्य राखेको छ।

शैक्षिक संस्थाहरुको पुनर्निर्माणतर्फ विद्यालय भवनहरुको पुनर्निर्माण चालू आर्थिक वर्षमा ७० प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ९० प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकभित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यसैगरी स्वास्थ्य संस्थाहरुको पुनर्निर्माणतर्फ चालू आर्थिक वर्षमा ६५ प्रतिशत, आर्थिक वर्ष ०७६/७७ भित्र ८० प्रतिशत र आर्थिक वर्ष २०७७/७८ को प्रथम चौमासिकभित्र शतप्रतिशत पुनर्निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। 

प्रकाशित: ३ माघ २०७५ १३:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App