२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

गोरु जुधाई : रमिता र रौनक

धादिङको खाल्टेमा भएको गोरु जुधाई प्रतियोगितामा भिडन्त गर्दै दुई गोरु । तस्बिर : सरिता/नागरिक

खाल्टे (धादिङ) – माघ १ गते पहाडमा माघेसंक्रान्ति र तराईमा माघी पर्वको उल्लास देशैभरी छाइरहेको थियो। माघे संक्रान्ति भन्ने बित्तिकै देशका बिभिन्न ठाउँमा घ्यु चाकु, तरुल खाएर मनाइने प्रचलन रहेको छ तर, यसै मेसोमा धादिङको नीलकण्ठ नगरपालिका –५  खाल्टेमा अर्को बेग्लै रौनक थपियो, बलवान साँढेहरूको रोचक घम्साघम्सी।

आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालको एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्यो। गोरु युद्ध र उता काठमाडौंमा बढ्दो राजनीतिक द्वन्द्वसँग दाँज्न खप्पिस थुप्रै दर्शकको भीडले यहाँको नाङ्गो पाखा रंगीन बनेर भरिभराउ थियो।

‘सिंहदरवारका साँढेहरूको जुधाई भन्दा त यस्तो साँढे जुधाई हेर्न पो मजा आउँछ’, गोरु जुधाई हेर्न पुगेका अधिकांशको आवाज यस्तै थियो। गोरु युद्ध मैदानमा भिड्दै थिए, यता उत्साही दर्शक उन्मुक्त हाँसोमा व्यङ्ग गर्दै थिए। भयंकर फराकिलो बारीको पाटोमा गाउँका अजंगका साँढेहरू जम्मा पारेर बाजी थाप्दै जुधाइने यो प्रतियोगिता दुई सय वर्षअघिदेखि चल्दै आएको स्थानीयको कथन छ। यो गोरु जुधाई पर्व कुनै लहड अथवा आफूखुशीको पर्व नभएको संस्कृतिविद् र इतिहासकारहरू बताउँछन्।

गोरुको घम्साघम्सीमा काले, तारे, फुर्के, बर्ने, सिँगारे, जोवाने जस्ता अनेकौं नाम गरेका साँढेहरू मैदानमा उत्रिन्छन्। धादिङको खाल्टेमा गोरु जुधाई जात्राको दृश्य हो यो। जनावर जुधाएर आनन्द लिने मानिसको यो परम्परासँग ऐतिहासिक महत्व पनि जोडिएको छ। माघेसंक्रान्तिको उत्सव अन्तर्गत एउटा परम्परा हो गोरु जुधाउने। रसुवा, नुवाकोट र धादिङ तीनै जिल्लामा गोरु जुधाउने यो परम्परा नेपाल र तिब्बत बीचको भोट सन्धी १९४९ सँग जोडिएको छ। धादिङको खाल्टे र धुवाँकोटमा हरेक वर्ष गोरु जुधाई प्रतियोगीता हुने गरेको छ। खाल्टेमा १० हल र धुवाँकोटमा १२ हल गोरु जुधाइएको छ।

पहिला पहिला छिमेकीले रमाइलो स्वरुप आफ्नो घरमा रहेका गोरुहरू जुधाउने गरेका थिए। अहिले प्रतियोगीताका रुपमा गोरु जुधाइने गरेको स्थानीय भीमनारायण श्रेष्ठले बताए। ‘बारीमा धुलो उडाउँदै बडेमानका जुरो भएका साँढेहरू जुध्दा पाखाभरि भरिभराउ हजारौँ दर्शककको ताली र हुटिङले अर्को आकर्षण थपिदिन्छ’ श्रेष्ठले भने, ‘प्रतियोगितामा जुधेका गोरुमध्ये जसको गोरु पहिला भाग्छ, उसैको गोरुले हारेको र अर्को पक्षकाले जितेको ठहरिन्छ।’ खाल्टेमा विगत पाँच वर्षदेखि चमेरो गुफा संरक्षण समाज, खाल्टेले प्रतियोगीताकै रुपमा गोरु जुधाउने कार्यक्रम आयोजना गर्ने गरेका छन्।

गोरु जुधाई प्रतियोगीतामा सहभागी हुन आएका नेपाल सरकारका कृषि मन्त्री चक्रपाणी खनाल हेलिकप्टरबाट गोरुजुधाई हेर्न खाल्टे पुगेका थिए। रसुवाको बेत्रावती नेपाल र तिब्बतबिचको भोट युद्धको सन्धि भएको स्थलमा मानवबीच पशु झैँ झगडा गर्न हुन्न भन्ने सन्देश दिनका लागि गोरु जुधाइन थालेको स्थानीय जानकारहरू बताउँछन्। अर्कोतिर बझांगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर आएको बेला मामाले भाञ्जाको स्वागत गर्न गोरु जुधाएको र त्यही बेलादेखि यो परम्परालाई निरन्तरता दिइएको किम्बदन्ती छ।

झण्डै डेढ सय वर्षको इतिहास बोकेको नुवाकोटस्थित तारुकाको ‘गोरु जुधाई’ विस्तारै स्थानीय मनोरञ्जनको घेराबाट फैलदै छ। गाउँलेले आ–आफ्ना गोरुलाई एक आपसमा जुधाउँछन्। गोरु जुधाइमा विजेता गोरुको मालिकले पुरस्कार समेत पाउँछन्। त्यसका लागि एक महिनाअघि नै रिहर्सलमा सबैले आफ्ना बलवान गोरु देखाउन ल्याउँछन्। कुन साँढे कुनसँग जुधाउने, उमेर र साइज निक्र्यौल गरिन्छ। साना आकारको चिटिक्क, टिनिक्क परेको छरितो ज्यानमा पुटुस्स परेको रहरलाग्दो जुरो।

पोहोर साल जुधेर स्वाद थाहा पाएका साढेको हुँकार अझ हेर्न लायक हुन्छ। नेपालकै पहिचानको रुपमा प्रशिद्धि कमाउँदै आएको नुवाकोटको तारुका र रसुवाको बेत्रावतीमा वर्सेनि माघे संक्रान्तिका दिन गोरु जुधाइदै आइरहेको छ। यसैको पहिचान स्वरुप धादिङको खाल्टे र धुवाँकोटमा गोरु जुधाउने परम्पराको विकास भएको हो।

प्रकाशित: १ माघ २०७५ ११:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App