१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

तातो र न्यानो घर

जाडो मौसमले फेरि एक पटक छपक्क छोपिसकेको छ। दिउँसोको घाम प्यारो भएको छ। बिहान बेलुका बाक्ला र न्याना कपडा चाहिने भएको छ।  चिसो बढेसँगै तातो पानी, तात्तातो झोलियो सुप, खाना ज्यानलाई आवश्यक पर्छ। घर कोठा पनि तातो र न्यानो बनाउनु पर्ने भएको छ। 

बजार अहिले त्यही न्यानोको खोजीमा चलायमान छ। काठमाडौं होस् या मोफसलका सहर तातो र न्यानाका सामान खोज्नेको संख्या बढिरहेको छ। नबढोस् पनि किन यस बेलामा स्वास्थ्यलाई विशेष ख्याल गर्नुपर्छ। बालबालिका, बुढापाकादेखि वयस्कले चिसोबाट बच्न आवश्यक छ। यसका लागि हामीसँग विभिन्न उपायहरु छन्। बजारमा पनि विभिन्न सामान उपलब्ध छन्। जसको प्रयोगबाट तातो र न्यानो महसुस गर्न सकिन्छ। ‘तातो र न्यानोका लागि हामीसँग विभिन्न उपकरणहरु छन्,’ पशुपतिनाथ इन्टरप्राइजेका म्यानेजिङ डिरेक्टर मनोज अग्रवाल भन्छन्, ‘ती सामान प्रयोग गरेर चिसोबाट बच्न सकिन्छ।’ उनले होम ग्लोरी ब्रान्डका यिनै सामान बिक्री गर्छन्।   

उनले भने जस्तै बजारमा अहिले विभिन्न कम्पनीका सस्तादेखि महँगा, कमसलदेखि गुणस्तर, ब्रान्डेडदेखि सामान्य सामान उपलब्ध छन्। जाडोको समयमा घरमा धेरै प्रयोग हुने सामानहरुमा पानी तताउने किट्ली, विभिन्न खाले हिटरहरु, विभिन्न गिजरहरु भ्याकुम फ्लक्सहरु हुन्। यसका साथै, वाटर डिस्पेन्सर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिस ओभनलगायतका सामानहरु जाडोमा धेरै प्रयोग हुने र बिक्री हुने सामानमा पर्छन्। 

जाडो मौसममा तातो पानीको प्रयोग अनिवार्य जस्तै छ। चिसो पानीको प्रयोगले घाटी दुख्ने, टन्सिल हुने र चिसो लाग्ने समस्या आइपर्न सक्छ। बच्चाका लागि त अझ विशेष ध्यान दिनु आवश्यक छ। यसले गर्दा पानी तताउने अटोमिटक किट्ली सबैभन्दा धेरै प्रयोग हुने जाडोको सामानमा पर्छ। एक हजारदेखि दुई हजारसम्मका यस्ता किट्ली उपलब्ध भएको अग्रवाल बताउँछन्। त्यसैगरी, उनीसँग ग्यास गिजर, ग्यास हिटर पनि छन्। १० हजारको हाराहारीमा यी सामान किन्न पाइन्छन्। पानी तातो राख्न प्रयोग हुने भ्याकुम फ्लक्स पनि उनीसँग छन्। सामान्यतः ५ सयदेखि २ हजार ५ सय रुपैयाँसम्ममा यी सामान उपलब्ध छन्। 

जाडो महिनामा धेरै प्रयोग हुने यी सामानको माग र बिक्री पनि यही मौसममा धेरै हुने उलने बताए। ‘पुस महिनासम्म धेरै बिक्री हुन्छ’ अग्रवाल भन्छन्, ‘कतिपय ठाउँ र घरमा अरु बेला पनि प्रयोग भएका हुन्छन्।’ यस्ता सामान प्रयोग गर्दा सधँै गुणस्तरीय सामान प्रयोग गर्नुपर्ने उनको भनाइ छ। गुणस्तरीय सामान नभएमा बत्ती धेरै खान्छ भने बत्ती बिग्रने समस्या पनि हुनसक्छ। ब्रान्डेड सामान प्रयोग गर्दा यस्तो समस्या उत्पन्न हुँदैन। गुणस्तरीय नभएका ग्यास हिटर पड्किने पनि सम्भावना रहन्छ।  

सजकता अपनाउन सबै ग्राहकले यसमा लेखिएका निर्देशनहरुलाई राम्रोसँग अध्ययन गर्ने र पालना पनि गर्नुपर्ने उनको सुझाव छ। अग्रवालले एक उदाहरण दिँदै भने, ‘तोतोपानी तताउने किट्लीमा चिया पकाएको, दूध उमालेको पनि पाइन्छ। यसो गर्दा सामान छिटो बिग्रिन्छ। यो पानी तताउनकै लागि मात्र बनाइएको हो।’ बाल्ट्राले पनि नेपाली बजारमा जाडो मौसमलाई चाहिने गुणस्तरीय सामान ल्याएको छ। नेपाली बजारमा जाडोका लागि चाहिने मुख्यतः विभिन्न मोडलका हिटर र गिजर उपलब्ध भएको बाल्ट्रा नेपाल ब्रान्ड म्यानेजर दीपक शाहले बताए। 

‘हामीसँग विभिन्न प्रकारका सस्तो र राम्रो गिजर र हिटरहरु छन्,’ उनले भने ‘गुणस्तरीय पनि छन्।’ बाल्ट्रका यी सामान घर, अफिस, कर्पोरेट हाउसलगायतका ठाउँअनुसार उपलब्ध रहेको उनले बताए। ठाउँअनुसार प्रयोग गर्न सकिने खालका छन्। जस्तो की फ्यान हिटर, ग्यास हिटर, हेलोजन हिटर अर्थात् रड भएको वाल हिटर, पिटीसी वाल हिटर लगायतका उपलब्ध छन्। यस्ता सामान किन्दा ग्राहकले विशेष ध्यान दिनुपर्ने उनले बताए। कुन स्तरको किन्ने, कतिसम्मको किन्ने भन्ने विषयमा विशेष ध्यान दिन आवश्यक छ। बजारमा यत्रतत्र पाइने कमसल चाइनिज सामानको प्रयोग भरसक नगर्न उनी सुझाउँछन्। साथै, सामान किनेर प्रयोग गर्नुअघि त्यसमा लेखिएको निर्देशनलाई ध्यान दिन पनि उपभोक्तालाई आग्रह गर्छन्। बाल्ट्राका यी सामानहरुमा २ वर्षको वारेन्टी रहेको छ। साथै, सामान बिग्रिएमा काठमाडौंमा पनि सर्भिस सेन्टरहरु रहेका छन्।

बजारमा सशक्त रुपमा गुणस्तरीय सामान उपलब्ध गराउँदै आएको अर्को कम्पनी हो सिजी। यसले जाडो मौसमलाई चाहिने र घर न्यायो बनाउ आवश्यक सामान उपलब्ध गराएको छ। सिजीका यस्ता खालका विभिन्न सामान विभिन्न मोडल र मूल्यमा उपलब्ध भएको सिजीका डेपुटी सेल्स म्यानेजर मनमोहन झाले बताए। झाका अनुसार सिजीका विभिन्न प्रकारका हिटर, जिगरहरु, वाटर डिस्पेन्सर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिक ओभन, भ्याकुम फ्लेक्सहरु बजारमा उपलब्ध छन्।  

चिसोमा तातो र झोलिलो खान आवश्यक हुन्छ। शरीरलाई तातो र चिसो लाग्न नदिन तातो खान आवश्यक छ। यसै कुरालाई मध्यनजर गर्दै सिजीले खाना तताउनका लागि प्रयोग हुने इलेक्ट्रिक ओभन बजारमा ल्याएको छ। यो ओभन खाना पकाउन पनि मिल्छ। जाडो मौसममा भ्याकुम फ्लेक्सले पनि चर्चा कमाएको छ। यो तातोपानी राख्ने एक स्टिलको बोतल हो। घरमा होस् या  बच्चालाई स्कुलमा तातोपानी पठाउन यो बोतल प्रयोग गर्न सकिन्छ। १० वटा मोडलमा उपलब्ध रहेको यो बोतल आधा लिटरदेखि २ टिलरसम्मका रहेको सिजी कम्पनीले जनाएको छ। यो बोतलमा रहेको तातो पानी २० घण्टाभन्दा धेरै समयसम्म तातो रहने कम्पनीको दाबी छ।  

बोतलको विशेषता भनेको यसमा जस्तो चिज राख्यो त्यस्तै रहन्छ। जस्तो कि तातो पानी राख्दा तातो रहन्छ भने आइस राख्यो भने आइस नै रहन्छ। यसभित्र राखेको वस्तुलाई बाहिरको तापक्रमले छिटो असर गर्न सक्दैन। यो बोतल ८३० देखि १८७० सम्मको मूल्यमा उपलब्ध रहेको कम्पनीले जनाएको छ। यो बोतल थर्मसजस्तो छिटो त फुटदैन तर प्रयोग गर्दा विशेष ध्यान भने दिनुपर्छ। अग्लो ठाउँबाट खस्यो भने यसको एक्सप्रेसर लुज हुन्छ। जसले गर्दा भित्र हावा छिर्न सक्छ र पानी छिटो चिसो हुन्छ। यसमा पानीलाई लामो समयसम्म तातो राख्ने सकेसम्म भरी नै राख्नु पर्छ।

बजारमा अहिले यी सामानको माग बढेको छ। विद्युत आपूर्ती बढ्दै जाँदा यी सामानको माग पनि बढ्दै गएको हिमस्टारका डिजिएम सेल्स डिभिजन केशव धितालले बताए। लोड सेडिङको बेला यी सामानको माग कम रहेको उनको अनुभव छ। हिमस्टारले पनि जाडोलाई चाहिने विभिन्न उपकरण बजारमा ल्याएको छ। होलोजिन हिटर, ग्यास हिटर, इलेक्ट्रिक हिटर, गिजरहरु लगायतका सामान बजारमा उपदब्ध भएको धितालले बताए।  बजारमा हेर्दा यी सामान सबै उस्तै देखिने भए पनि गुणस्तरीय मात्र किन्न उनको सुझाब । यस्तै गुणस्तरीय सामान उपलब्ध गराइरहेको उनले बताए। कम्पनीले बिक्रीपछिको सर्भिसका लागि पनि ६० देखि ७० वटा सर्भिस सेन्टर राखेको छ भने हिमस्टारका मुलुकभर ३५० भन्दा धेरै डिलर पनि छन्। यी सामान प्रयोग गर्दा विशेष ध्यान दिन उनको पनि सुझाव छ। आगो र विद्युतीयसँग जोडिएका सामान भएकाले यसको प्रयोगमा विशेष ध्यान दिन आवश्यक बनेको हो। सकेसम्म यी सामान बच्चाको पहुँचभन्दा टाढा राख्नुपर्छ। 

सुरक्षा पनि अपनाउनु पर्छ
उत्तमराज सुवेदी– नेपाल प्रहरी, केन्द्रीय प्रवक्ता

जाडो लागेसँगै घर, कोठा, अफिसलाई न्यानो बनाउन र पानी तताउन विभिन्न विद्युतीय उपकरणको प्रयोग धेरै हुन्छ। जस्तो कि, हिटर, जिगरहरु, वाटर डिस्पेनसर, इलेक्ट्रिक हटपट, इलेक्ट्रिक ओभन, भ्याकुम फ्लेक्सहरुको प्रयोग धेरै हुन्छ। चिसोबाट बच्च यी सामान आश्यक छ तर यी सामानको प्रयोग गर्दा सुरक्षालाई ध्यानमा राखिएन भने दुर्घटनासमेत निम्त्याउन सक्छ। 

मुलुकमा वर्षेनी जाडोयाममा यी सामानको उचित प्रयोग गर्न नजान्दा कैयन् दुर्घटना भएका छन्। आगो लाग्ने, मान्छेको ज्यान समेत जाने गरेको पाइन्छ। घरलाई न्यानो बनाउँदै गर्दा सुरक्षित रहन पनि विशेष ध्यान दिनुपर्ने नेपाल प्रहरीका प्रवक्ता उत्तम सुवेदी बताउँछन्। विगतका अनुभवमा मुख्यतः तीन किसिमबाट यस्ता दुर्घटना हुने गरेको सुवेदीले बताए।  

पहिलो निसास्सिएर। बाहिर धेरै चिसो हुँदै गर्दा कतिपयले झ्यालढोका पूरै बन्द गरेर हिटर चलाउने गर्छन्। यसो गर्नु कोठा तातो बनाउनुभन्दा पनि काल नित्याउनु जस्तै हो। जुन प्रकारको हिटर बाल्दा पनि यसले कोठाभित्र रहेको अक्सिजन प्रयोग गर्छ र कोठाभित्र अक्सिजन कमी हुँदै जान्छ। यसले गर्दा कोठाभित्र रहेका व्यक्तिलाई अक्सिजन कमी हुँदा निसास्सिने समस्या हुन्छ। कतिपय ठाउँमा मान्छे सुतेको सुतै हुने गरेको सुवेदी बताउँछन्। 

यसका लागि समाधानको सामान्य उपाय छ, झ्याल वा ढोका खोलेर हावा आवत–जावत गर्न दिने। हिटर बालेर सुत्ने बानी छ भने झयाल, भेन्टिलेटर वा हावा आउने खुला ठाउँ हुन आवश्यक रहेको सुवेदीले बताए। निसास्सिने समस्या सहरमा मात्र नभएर पहाडमा पनि देखिन्छ। आगो बालेर सुत्ने र झ्याल ढोका बन्द गर्दा अक्सिजन कम भएर दुर्घटना भएका घटना पनि छन्।

हिटरलाई एकदुई घण्टा चलाउँदा खासै फरक पर्दैन तर निरन्तर रुपमा राति चलाउने हो भने यस विषयमा ध्यान दिनु आवश्यक छ। कचौरामा पानी राख्दा पनि राम्रो हुन्छ। दोस्रो, गुणस्तरीय विद्युतीय सामान प्रयोग नगर्नु। सहरबजारमा यस्ता घटना कमसल विद्युतीय सामान प्रयोग गरेर पनि भएका छन्। बजारमा उच्च स्तरका गुणस्तरीय सामानदेखि कमसल नक्कली सामान समेत उपलब्ध हुन्छन्। जानी नजानी वा सस्तो सामान प्रयोग गर्ने बाध्यताका कारणले दुर्घटना भएका छन्।

कमसल वा नक्कली सामान प्रयोग गर्दा विद्युत सट हुने, तार पग्लने, सामान आफैँ तातेर पड्किने जस्ता समस्या हुन्छन्। यसले गर्दा आगो लाग्ने सम्भावना हुन्छ।  सकेसम्म गुणस्तरीय सामान प्रयोग गर्न सुवेदी सुझाव दिन्छन्। यदि गुणस्तरीय सामान छैन भन्ने आफूलाई लाग्छ भने त्यस्ता सामान लगातार लामो समय प्रयोग नगर्न र चलाएर नसुत्न उनको आग्रह छ। ‘आफू नसुतुञ्जेल प्रयोग गर्ने र सुत्ने बेलामा बन्द गर्नुपर्छ,’ सुवेदीले भने। 

तेस्रो, ग्याससँग जोडिने जुनसुकै सामग्रीमा आगो लाग्ने समस्या। ग्यास सिलिन्डर प्रयोग गरेर खाना पकाउनेदेखि पानी तताउने, हिटर र गिजर चलाउने लगायतका काम हुन्छन्। यसरी ग्यासबाट चलाउने सामान प्रयोग गर्दा ग्यास लिक भएर आगो लाग्ने गरेको पाइन्छ। त्यस्तै, सिलिन्डर धेरै बेरसम्म तात्दा पड्कने समेत समस्या हुन्छ। ग्याससँग जोडिएको सामान प्रयोग गर्दा विशेष सावधानी अपनाउनुपर्ने सुवेदीले बताए। 

सबैभन्दा पहिले त ग्यास सिलिन्डर प्रयोग गर्ने सामानको दूरी सकेसम्म लामो हुनुपर्ने सुवेदीले बताए। ग्यास जोडेर प्रयोग गर्ने हिटर वा जुनसुकै सामान प्रयोग गर्दा ग्यास सिलिन्डर र सामानबीचमा लामो गुणस्तरीय पाइप राख्नुपर्छ। सकेसम्म ग्याससिलिन्डरलाई बाहिर राख्नुपर्छ। यसमा पनि सकेसम्म सबै सामान गुणस्तरीय प्रयोग गर्नुपर्छ।त्यसैगरी, बाथरुममा ग्यास जिगर अथवा इलेक्ट्रिक गिजर प्रयोग गर्दा विशेष ध्यान दिनुपर्छ। बाथरुममा सानो स्पेश हुने भएकाले धेरै अक्सिजन रहेको हँुदैन। यी सामान प्रयोग गर्दा अलिकति भेन्टिलेसन खुला हुन आवश्यक छ। इलेक्ट्रिक जिगर प्रयोग गर्दा पनि ध्यान दिनुपर्छ। यसमा करेन्ट धेरै हुन्छ। 

प्रकाशित: १ माघ २०७५ ०७:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App