१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

चारधाम मध्येकाे एक रुरु क्षेत्रमा माघे संक्रान्तिकाे राैनक (फाेटाे फिचर)

गुल्मी– माघे संक्रान्ति मेला भर्न र स्नान गर्न पाल्पा, गुल्मी र स्याङ्जाको संगम स्थल रुरु क्षेत्रमा दर्शनार्थीको घुइँचो लागेको छ। ५ दिनसम्म लाग्ने मेलाको पहिलो दिन मगंलवार कालीगण्डकी नदीमा स्नान गर्न र यस क्षेत्रमा रहेको प्रमुख ऋषिकेशव मन्दिरमा पुजाआजा गर्नका लागि मानिसहरुको यस क्षेत्रमा विहानैदेखि घुइँचो लागेको हो। रुरु क्षेत्रमा रहेको कालिगण्डकी नदी तटमा नुहाउने र ऋषिकेशव मन्दिरमा पूजा गर्नाले पुण्य लाभ हुने जनविश्वासका साथै मेलाको रमाइलो हेर्न भिड लागेको हो।

नेपालका चारधाम मध्येकोे एक रुरु धाममा देशभित्र र मित्र राष्ट्र भारतबाट समेत दर्शनार्थी आएको ऋषिकेशव मन्दिर व्यवस्थापन समितिले जनाएको छ। रुरु क्षेत्रमा माघे संक्रान्ति मेलाको रौनक पाँच दिनसम्म रहन्छ। कालीगण्डकी नदीमा स्नान गर्नुका साथै यहाँ रहेका मठ मन्दिरमा पुजाआजा गर्न तथा मेला भर्नका लागि आसपासका ग्रामीण भेगबाट पैदल र सहरी क्षेत्र तथा टाढा–टाढाबाट सवारी साधन चढेर तीर्थालु रिडीमा आएका छन्। रिडी मेला विभिन्न स्थानबाट आएका व्यापारी तथा व्यवसायीहरुको व्यापार गर्ने एक अवसर पनि बनेको छ। 

माघ १, २ र ३ गते गरी तीन दिनसम्म चल्ने रिडी मेला पछिल्लो समय ५ दिनसम्म लाग्ने गरेको छ। माघे संक्रान्तिको अवसरमा व्यापार व्यवसाय गर्न पाल्पा, बाग्लुङ, रुकुम, रोल्पा, हुम्ला, जुम्ला, मुस्ताङलगायतका स्थानबाट परम्परागत एवं घरेलु सामग्री बिक्रीको लागि व्यावसायी यहाँ आउँछन्। उखुबाट उत्पादन हुने गुण, खुदो, भ्याली, बाँसका काङगियो, सुपो, डालो र काठका ठेकी बिक्री हुने उपयुक्त थलो बनेको छ रिडी मेला। साथै भारतको सुनौली गोरखपुरवाट समेत ब्यापारीहरु आफ्नो ब्यापार सामग्री लिएर रिडीमा आएका छन्। रोल्पा, हुम्ला, जुम्ला, रुकुम, सल्यान, प्युठान, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ लगायतका जिल्लाका व्यापारीका लागि रिडी मेला जाडो छल्ने बाहना हुन्छ र त्यस क्षेत्रको उत्पादन उनीजन्य वस्तु राडी, पाखी, कम्बल र जडीबुटी एवं वनजन्य उत्पादनको राम्रो बिक्री हुन्छ। मेलामा पछिल्लो समय साँस्कृतिक महोत्सवसगै कृषिजन्य उत्पादनहरु पनि प्रदर्शनीका लागि राख्न थालिएको छ। यसले जिल्लाका कृषकहरुको समेत मन तानेको छ। 

मेला ब्यवस्थापन र सुरक्षाका लागि सुरक्षा ब्यवस्था राम्रो मिलाइएको छ। प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले रिडी मेलामा मगंलवारदेखि ५ दिनसम्म लाग्ने मेलामा सुरक्षा ब्यवस्था बलियो बनाइएको बताए। ‘कालीगण्डकी नदी ठुलो भएकाले स्नान गर्दा कोही गण्डकीमा पर्न सक्ने भएकाले आपतकालीन उद्धारका लागि समेत सुरक्षाकर्मी खटिएका छन’, उनले भने। 

उनका अनुसार तीन जिल्लाको सगंम स्थल भएकाले गुल्मी, पाल्पा र स्याङ्गजा जिल्लाका सुरक्षाकर्मीहरु खटिएका छन्।

माघे_संक्रान्ति रुरु_क्षेत्र दर्शनार्थी