१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

खप्तड गोल्डकप : थ्री स्टार सेमिफाइनलमा

धनगढी - खेलको अन्तिम समयमा गोल गर्दै थ्री स्टार क्लब धनगढीमा जारी सुदूरपश्चिम खप्तड गोल्डकप प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ। सोमबार भएको खेलमा थ्री स्टारले च्यासल युवा क्लबलाई १–० ले पराजित गरेको हो। 

खेल सकिन तीन मिनेट समय बाँकी रहँदा थ्री स्टारका लागि रूपेश केसीले गोल गरे। खेललाई च्यासलले दबाबमा राखे पनि गोल गर्ने अवसर सदुपयोग गर्न नसक्दा नतिजा हात पार्न असफल भयो। ३ वटा धेरै राम्रा अवसर उसले चुकाएको थियो। खेलको अन्तिम ३ मिनेट बाँकी रहँदा थ्री स्टारले गोल गर्दै अन्तिम चारमा स्थान निश्चित गर्न सफल भएको हो। च्यासलका गोलरक्षक र डिफेन्डरको तालमेल नमिल्दा सजिलो प्रहार गोलमा परिणत भएको थियो।

 यसअघि खेलको सातौं मिनेटमा थ्री स्टारले पहिलो अवसर चुकाएको थियो। सुनील बलको पासमा फोडे फोफानाको प्रहारलाई च्यासलका गोलरक्षक दिनेश थापामगरले पन्च गरे। १९ औँ मिनेटमा च्यासलले गोल गर्ने राम्रो अवसर गुमायो। च्यासलका हेमन्त थापामगरको फ्रिकिक क्रसबारमा लागेर फर्कंदा च्यासलको अग्रता लिने मौका चुक्यो। २८औं मिनेटमा थ्री स्टारका सुनील बलले पेनाल्टी क्षेत्रबाहिरबाट गरेको प्रहार पोस्टको भित्री भागमा लाग्दै फर्किएर गोल हुन पाएन। ३९औं मिनेटमा थ्री स्टारका अनन्त तामाङले झन्डै २५ यार्ड टाढाबाट गरेको प्रहारले गोलरक्षकलाई कुनै समस्या दिएन। दुवै टोलीले पाएका अवसरलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

खेलको ५८औं मिनेटमा च्यासलले अग्रता लिने सुवर्ण अवसर गुमायो। अर्मान्डको प्रहार अनन्तले ब्लक गरेपछि आएको रिबाउन्डमा सन्तबहादुर गुरुङको प्रहारले पोस्टको दिशा लिन सकेन।  ८१औं मिनेटमा थ्री स्टारका रञ्जन विष्टको उत्कृष्ट भली प्रहार क्रसबारमा लागेर फर्किंदा अग्रता लिने अवसर गुम्यो। च्यासलका गोलरक्षक दिनेशले सुनील बलको क्रसमा रूपेशको हेडर बचाउने प्रयास गरे पनि आफ्नै डिफेन्डर बाधक बने।

खेलमा निर्णायक गोल गरेका थ्री स्टारका रूपेश केसी म्यान अफ दी म्याच बन्दै १० हजार रुपैयाँ प्राप्त गरे। विजयी टोली थ्री स्टारका प्रशिक्षक उज्ज्वल मानन्धरले खेलाडीले निकै मिहिनेत गरेका कारण जित हासिल गरेको बताए। ‘खेलाडीले निकै मिहिनेत गरेर खेलेकाले जित हात प-यो,’ उनले भने। थ्री स्टारले फाइनल प्रवेशका लागि बुधबार मेची नेत्रालय काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरसँग खेल्नेछ।

पराजित च्यासलका प्रशिक्षक राजु शाक्यले खेलाडीले राम्रो खेले पनि गोल गर्न नसकेको बताए। ‘खेलाडीले खेलअवधिभर राम्रै खेलेका हुन्, स्कोर निकाल्न सकिएन,’ उनले भने, ‘खेलको अन्तिममा गोलकिपर र डिफेन्डरको तालमेल नमिल्दा हार बेहोर्नुप-यो।’ मोफसलकै सर्वाधिक धनराशि पुरस्कार भएको प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ र उपविजेताले १० लाख प्राप्त गर्नेछन्। 

 

प्रकाशित: १ माघ २०७५ ०२:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App