१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

‘कमजोर नेतृत्वले सहर बिग्रियो’

सपनाको सहर/ नवीना लामा, प्रतिनिधिसभा सांसद

‘खुला ठाउँ भवनले भरिभराउ भएका छन्। हामीले अब सहरको भविष्य सोच्न जरुरी छ। सहरको भविष्य सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन भनेर बुझ्न जरुरी छ।’

तपाईँको विचारमा सहर भनेको के हो ?
सहर गुजुप्प र घना वस्ती भएको व्यवस्थित ठाउँ हो। त्यहाँ मानिसका आधारभूत आवश्यकताहरूले पूर्णता पाएका हुन्छन्। सहरको पूर्वाधार, अन्य सेवा सुविधा र अवसर समान किसिमको हुन्छ। सहर समावेशी हुन्छ। नीति नियमले सहरी इलाकालाई बाधेको हुन्छ। शिक्षा, स्वास्थ्य, यातायात, खानेपानी, फोहर व्यवस्थापन, सडक लगायत पक्षलाई व्यवस्थित पारिएको हुन्छ। तर, यी कुरा हामीले कल्पना मात्रै गर्न सक्छौं। हामीकहाँ सहरी सुशासनको जहाँबाट अभ्यास गर्नुपर्ने थियो त्यहाँबाट भएको पाइन्न। सामान्य खालका आधारभूत सुविधा समेत हामीले पाएका छैनौं। नेतृत्वले सन्तुलित ढंगले विकासका काम गरेको छैन। भागबण्डा र आफन्तको लागि राजनीति गर्ने प्रचलन बढेको छ। यो प्रवृति झन् हावी भएर जाने देखिन्छ। यसलाई रोकियो भने मात्रै सहरको विकास होला।

घुकेकामध्ये मनपर्ने सहर कुन हो ?
बेलायत र अमेरिकाका सहर राम्रो लाग्यो। त्यहाँका सहर आधुनिक र निकै व्यवस्थित छन्।

नेपालभित्र मनपर्ने सहर ?
नेपालभित्र मनपर्ने सहर पोखरा हो। पोखरा ज्यादै सुन्दर छ। यो ठाउँ कुनै भौतिक निर्माणले सुन्दर भएको होइन, प्रकृतिले नै पोखरालाई सजाएको हो। फेवाताल, गुफा, माछापुच्छ्रे लगायत रमणीय ठाउँले धेरैको ध्यान पोखरामा तान्छ। यहाँबाट हरियाली प्रकृति र सेतो हिमाल देख्न पाइन्छ।

तपाईँको बुझाईमा काठमाडौं कस्तो सहर हो ?
काठमाडौं संसारमै फरक पहिचान र इतिहास बोकेको जीवन्त सहर हो। यहाँको मौसम र अन्य प्राकृतिक पक्षलाई हेर्दा यो एउटा स्वर्गकै टुक्रा हो भन्ने लाग्छ। तर, पछिल्लो समय मानवीय तवरले जे जति काम गरिए ती सबै प्रकृति सुहाउँदो भएन। सोचेर, योजना बनाएर, अध्ययन गरेर निस्वार्थ ढंगले काठमाडौंलाई सपार्नतिर लाग्ने हो भने हामी यसैलाई देखाएर पनि नेपाल चिनाउन सक्छौं।

कुन–कुन देश पुग्नुभएको छ ?
साउथ अफ्रिका, कोरिया, भारत, अमेरिका, बेलायत धेरै देशका सहर घुमेँ। विदेशका सहर घुम्दा हामी जसलाई सहर मानेका छौं, ती सहर नै होइनन् जस्तो लाग्यो। किनभने हाम्रो देशका सहर सहरजस्तै छैनन्। सहरमा जनताले निकै सास्ती खेप्नुपरेको छ। विदेशका सहर सुविधायुक्त र व्यवस्थित छन्। सहरमा व्यवस्थित हिसाबले विकासका काम भएका छन्। हाम्राको त्यस्तै छैन, सबैतिर भद्रगोल मात्रै देखिन्छ।

नेपालबाहिर विभिन्न देशका सहर घुम्दा मेरो देश पनि यस्तै भइदिए हुन्थ्यो भन्ने सोच आउँदैन ?
धेरै आउँछ। त्यहाँका सहर हेर्दा कठै मेरो ठाउँ यस्तो छ, हामीले त त्यति राम्रो ठाउँलाई चिन्न सकेनौं भन्ने लाग्छ। मैले पहिलोपटक भ्रमण गर्दा निकै अनौठो लाग्यो। म त्यो ठाउँमा पुगे भने मेरो देशलाई विदेशका सहर जस्तै बनाउन सक्छु भन्ने सोच छ।

कसरी विकास भएका रहेछन् त्यहाँका सहर ?
विदेशका सहर कानुनमा बाधिएका छन्। राज्य र सत्तामा हुनेले बलियो भूमिका निभाएका छन्। राज्यले ल्याएका नीति नियम र कानुन लागू भएको छ। कानुनको पालना नगर्नेलाई हदैसम्मको कारबाही हुन्छ। त्यहाँका सहरको बनावट शैली पनि आधुनिक किसिमको छ। धुवाँधुलो कतै देखिन्न। सहरमा बस्नेहरू चेतनशील छन्। कसैले पनि सहरमा फोहर गर्दैनन्। भौगोलिक र प्राकृतिकरूपमा हाम्रा सहर अरु देशका भन्दा धेरै राम्रा छन्। विकासको हिसाबले हामी पछि छौं।

हाम्रा सहर किन अव्यवस्थित भएका होलान् ?
नेताहरूले काम गरेनन्। सहरवासीमा जनचेतना भएन। सहरको विकासमा दुरदृष्टि राख्ने क्षमता भएका नेताहरूका आएनन्। सबैले आफ्नो दाउपेचमै काम गरे। काम थोरै चलखेल बढी भयो। सहरको विकास गर्ने अभिभारा बोकेका नेताहरू दुई नम्बरी काममा मात्रै लागे। नेता र सरकारी निकायका उच्च कर्मचारीहरू आफूलाई फाइदा हुनेका काममा मात्रै हात हाले। कसैले पनि सहरप्रति जिम्मेवार र जवाफदेही भएर काम गरेनन्। यद्यपि पछिल्लो समय उपत्यकाका केही सडकमा विकासको छनक देखिएको छ। तर, त्यो सन्तोषजनक छैन।

काठमाडौंमा के समस्या देख्नुभएको छ ?
काठमाडौं अनेकौं सम्भावना र अवसर बोकेको सहर हो। तर, यो सहरमा बस्नेहरूले सहरको सम्भावना खोजेनन्। उल्टै सहरको दोहन गर्नतिर लागे। आफ्नो स्वार्थका निम्ति सहरका सम्पदा मासिए, सहरको हरियाली हराएको छ। खुला ठाउँ भवनले भरिभराउ भएका छन्। हामीले अब सहरको भविष्य सोच्न जरुरी छ। सहरको भविष्य सुरक्षित भएन भने हाम्रो भविष्य पनि सुरक्षित हुँदैन भनेर बुझ्न जरुरी छ।

काठमाडौंको राम्रो लाग्ने पक्ष ?
यहाँको मौसम मनपर्छ। संसारमा कही पनि यस्तो हावापानी पाइँदैन। विदेशीहरू पनि नेपालको हावापानी वातावरण एकदमै सुन्दर मान्छन्। त्यससँगै काठमाडौं देशको केन्द्र हो यहाँ स्वभाविक रूपमै देशभरका मानिसको उपस्थिति पाइन्छ।

नराम्रो पक्ष ?
काठमाडौं समस्यै समस्याले ग्रस्त भएको सहर हो। पछिल्लो समय त झन् काठमाडौं उदेकलाग्दो छ। यहाँको प्रदूषण र सडकको अवस्थालाई सम्झँदा काठमाडौं सहर छाडेर अन्त कतै जाउँ भन्ने लाग्छ।
तर, नेपालका सबै सहर प्रदुषित हुँदै गएका छन्। प्रदूषण, ट्राफिक जाम, अव्यवस्थित सडकबाट यहाँ बस्ने धेरैजसो आजित छन्।

सहरवासीको बानी कस्तो लाग्छ ?
सहरवासीमा चेतना छैन। सबैले मनपरी गर्छन्। राज्यले पनि कडिकडाउन नियम ल्याएर सहर अव्यवस्थित हुनबाट रोक्न सकेको छैन। सहर सफा राख्नुपर्छ भन्ने धेरैमा सोच छ। अरु देश कहाँ पुगिसके हामी राजनीति खेलमै अड्किएका छौं।

सहरको मौलिकता जोगाउन के गर्नुपर्ला ?
सहरको मौलिकता बचाउन स्थानीय र राज्य दुवै एक भएर काम गर्नुपर्छ। सरकारले ठाउँठाउँमा रुख रोप्ने र पार्क निर्माण गर्नुपर्छ। त्यो बाहेक अरु अग्ला घरहरूलाई पनि व्यवस्थित गर्न जरुरी देखिन्छ। बाटो व्यवस्थित पार्नुपर्छ। सहरी क्षेत्र र कृषि क्षेत्र छुट्याउनुपर्छ।

तपार्इँ कस्तो सहरको कल्पना गर्नुहुन्छ ?
सहर भन्नेबित्तिकै आहा भन्ने सोच मनमा पैदा होस्। त्यहाँका सेवा सुविधा सम्झँदा मनै आकर्षित होस्। सहरको इलाका सुरक्षित र मौलिकता बोकेको हुन्छ। हरेक ठाउँ व्यवस्थित हुन्छन्। फराकिला सडक, एकैनासे घर, सबैतिर हरियाली सहरको स्वरूप नै हो। यी सबै थोक हाम्रा सहरमा पाइन्न। हामीले योजनाबद्धरूपमा काम थालेका हुन्थ्यौं भने सहर अझ राम्रो बन्न सक्थ्यो। अहिले जुन समस्या झेलिरहेका छौं ती समस्या झेल्न पर्दैनथ्यो।

विदेशका सहरको मौलिक र ऐतिहासिक पक्ष कस्तो लाग्यो ?
विदेशी सहरमा मौलिकता छैन। तर, आज भइरहेका कुराहरू त्यहाँ सुरक्षित राखिएको छ। जसका कारण सहरको छुट्टै पहिचान बनेको छ। ती देशमा फरकफरक शैली अपनाएका छन्। हाम्रो सहरमा जस्तो मौलिकता र इतिहास अरु देशका सहरमा पाइन्न। मौलिकता र ऐतिहासिक पाटोलाई हेर्दा अरु सहरभन्दा नेपाल धेरै अघि छ।

सरकारले कसरी काम गर्दा हाम्रा सहरका विदेशका सहरसँग तुलना गर्न योग्य होलान् ?
सरकारले सहरका सम्भावना खोज्नुपर्छ। हाम्रा सहरको इतिहास, चाडपर्व, मौलिकताको हिसाबले नेपालका सहर धेरै अगाडि नै पर्छन्। तर, आधुनिकताको हिसाबले अन्य देशका सहर धेरै छन्। सरकारले काम गर्ने हो र बनाउन चाहने हो भने काठमाडौं पनि विश्वको उत्कृष्ट सिटी बन्न सक्छ।

मन भएर पनि घुम्न नपाएको ठाउँ ?
मानिसका चाहना र आकांक्षा असीमित हुन्छन्। सोचेका सबै पूरा हुँदैनन्। मैले पनि धेरै ठाउँ घुम्ने, अनुभव गर्ने, सिक्ने र व्यवहारमा उतार्ने सोच राखेकी छु। नेपालकै रारा, मुगु, सुदूरपश्चिमका केही ठाउँ, पहाडी क्षेत्र घुम्न मन छ।

सहरको मनपर्ने खानेकुरा ?
काठमाडौंको त्यस्तो मौलिक र पुरानो खानेकुरा त्यति देखिन्न। यहाँको पुरानाको खाजा–खानामध्ये मनपर्ने नेवारी परिकार नै हो।
प्रस्तुति : शिवहरि घिमिरे

 

प्रकाशित: ३० पुस २०७५ ०६:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App