१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मिश्रका नाममा भौतिक संरचना बनाइने

काठमाडौं – प्रथम गणतन्त्रवादी कवि युद्धप्रसाद मिश्रको प्रतिष्ठानको नाममा सार्वजनिक जग्गा खोजी गरी त्यसमा भौतिक संरचना निर्माण गर्न पहल गरिने भएको छ। उनको एक सय ११ औं जन्मदिन आयोजित कार्यक्रममा नेकपाका स्थायी कमिटि सदस्य एवं पूर्व मन्त्री केशव बडालले हाल भैरहेको संरचनालाई बचाउदै अर्को नयाँ भौतिक संरचना तयार गर्न सरकारसँग पहलकदमी गरिने बताएका हुन। उनले प्रतिष्ठानले हाल पुरस्कार वितरण तथा अन्य साहित्यिक कार्यक्रम गरिरहेको भएपनि उनकै नाममा आफ्नै जग्गाजमिन नहुँदा अप्ठ्यारो परेकाले त्यसका लागि सरकारलाई झक्झक्याउने जनाए।

कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष अनिल पौडेलले सरकारले दिएको रकमलाई अक्षय कोषका रूपमा राखेर त्यसबाट आएको ब्याजले पुरस्कार वितरण र अन्य कार्यक्रमहरू गरिरहेको बताए। उनले निकट भविष्यमै प्रतिष्ठानका गतिविधि र मिश्रका रचनालाई प्रविधिमुखी बनाइने बताए। कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष डा.फणिन्द्रप्रसाद निरौला, सचिवद्वय डा.बालचन्द्र मिश्र, डा.लेखप्रसाद निरौला, जयन्ता पोखरेलले आफ्ना धारणा राखेका थिए। कार्यक्रमलाई साहित्यिक बनाउन हरिप्रसाद सापकोटा, रत्नावली शर्मा र मिश्रका परिवारका सदस्यहरूले मिश्रका कविताहरू वाचन गरेका थिए।

विसं १९६४ पौष शुक्ल अष्टमीका दिन भक्तपुरको सोमलिङटारमा जन्मिएका मिश्रको विसं २०४७ फागुन ६ गते काठमाडौंमा निधन भएको थियो। मिश्र नेपाली कविता क्षेत्रका स्वच्छन्दतावादी–प्रगतिवादी धाराका कवि हुन। कुमारी चोक, राणा दरबार तथा वनजाँच अड्डामा जागिरे जिवन बिताएका उनी सुरुमा कांग्रेस र पछि कम्युनिष्ट राजनीतिमा आए। उनका ‘चरा (१९९४)’, ‘मुक्ति रामायण अरण्यकाण्ड (२०२७)’, ‘मुक्त सुदामा (२०२९)’, ‘बाढी (२०४०)’, ‘युद्धप्रसाद मिश्रका कविताहरू (२०४८)’ र ‘बेनबध’ आदि कृतिहरू छन्।

विसं २०१७ सालमा तत्कालीन राजा महेन्द्रबाट प्रजातन्त्र खोसिएपछि मिश्र बनारस गएका थिए। बनारसमा उनलाई माक्र्सवादी राजनीतिले आकर्षित गरेपछि उनका कवितामा प्रगतिवादी चिन्तन र कृतिहरूमा निमुखा वर्गप्रति गरिएका शोषण र उत्पीडनले प्राथमिता पाए। मिश्रले विसं २०४५ को ‘स्रष्टा पुरस्कार’, विसं २०४६को ‘कृष्णमणि साहित्य पुरस्कार’ प्राप्त गरेका थिए। उनको स्मृतिमा प्रतिष्ठानले पुरस्कार समेत स्थापना गरेको छ।

प्रकाशित: ३० पुस २०७५ ०४:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App