१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

कृत्रिम खुट्टाले दिएको खुसी

काठमाडौं - तीन वर्षअघि सडक दुर्घटनामा एउटा खुट्टा गुमाएकी पाँच वर्षीया बालिकाले कृत्रिम खुट्टा पाइन्। खुट्टा पाएकी उनी राजधानीको नर्भिक अस्पतालको हाताभित्र यताउता हिँडिन्। आफ्नोब हिँडाइ देखेर उनी खुसी भइन्। उनीसँगै उनका आफन्तहरु पनि खुसी भए। उनलाई काठमाडौंको नर्भिक अस्पतालमा आयोजित एक कार्यक्रममा जयपुर फुट तथा लिम्वले निःशुल्क कृतिम खुट्टा प्रदान गरेको थियो।

भारतको जयपुरस्थित भगवान महाविर विकलांग सहायता समिति, नेपालको चौधरी फाउन्डेसनले कृतिम खुट्टा वितरण कार्यक्रम आयोजना गरेका हुन्। यसको लागि नेपालस्थित भारतीय दूतावास तथा नर्भिक इन्टरनेसनल अस्पतालले संयोजनकारी भूमिका खेलेको थियो।

आइतबार नर्भिक अस्पतालमा आयोजित कार्यक्रममा मनाङकी ७० वर्षीया धोर्जे छिरिङ शेर्पा लामाले पनि निःशुल्क रुपमा कृत्रिम खुट्टा पाइन्। डेढ वर्षअघि लड्न पुग्दा उनले एउटा खुट्टा गुमाएकी थिइन्। कृतिम खुट्टा पाउँदा शेर्पा निकै खुसी देखिइन्। उनले अस्पतालबाट कृतिम खुट्टा पाउने खबर पाएपछि अस्पतालमा आफ्नो नाम दर्ता गराएकी थिइन्। ‘यस्तो खुट्टा हुन्छ भन्ने थाहै थिएन। थाहा पाए पनि किन्ने सक्ने अवस्था थिएन,’ उनले सुनाइन्।

आइतबारै काभ्रेकी १५ वर्षीया सुमी थिङ तामाङले पहिलो पटक खुट्टा पाइन्। उनको सात वर्षअघि लडेरै एउटा खुट्टा गुमेको थियो। खुट्टाको अभावमा बैशाखी टेकेर स्कुल जाने गरेको तामाङले सुनाइन्। कृत्रिम खुट्टाको बारेमा जानकारी नभएको र किनेर प्रयोग गर्न नसक्ने स्थितिले सात वर्षसम्म बैशाखीको भरमा हिँडेको उनले सुनाइन्। पहिलो पटक कृत्रिम खुट्टा पाएपछि खुसी लागेको उनले सुनाइन्।

आइतबार तीन जनासहित एक समारोहबीच ५१ जनालाई निःशुल्क कृत्रिम खुट्टा वितरण गरिएको छ। चार वटा संस्थाको भूमिकामा समितिले देशभर ५ सय वटा कृत्रिम खुट्टा वितरण गर्ने योजना छ। केही समयमै नवलपरासीको नवलपुरमा पनि वितरण गर्ने कार्यक्रम छ। त्यस्तै देशका अन्य भागहरुमा वितरण गरिने नर्भिक अस्पतालले जनाएको छ। खुट्टा नापजाँचको लागि जयपुरबाटै प्राविधिक टोली नेपाल आएका छन्। प्रतिखुट्टा ५० देखि ७० हजार रुपैयाँ पर्ने भए पनि निःशुल्क वितरण गरिएका हुन्। प्राविधिक टोलीको खर्च भने चौधरी फाउन्डेसनले बेहोर्ने जनाइएको छ।

कार्यक्रमका प्रमुख अतिथि स्वास्थ्य तथा उपप्रधानमन्त्री उपेन्द्र यादवले समिति तथा सामाजिक संस्थाहरुले अपांगता भएका नेपाली जनताप्रति गरेको यो सहयोगप्रति प्रंशसा व्यक्त गरे। ‘नेपालमा भौगोलिक तथा अन्य कारणले दुर्घटना हुने कारण धेरै विकलांग छन्, सहयोगी सबैलाई धन्यवाद,’ उनले भने।

कार्यक्रममा बोल्दै भारतीय राजदूत मञ्जिव सिंह पुरीले भारतीय दूतावासले महात्मा गान्धीको १ सय ५० औं जन्मोत्सवको अवसरमा सो सहयोग गरेको बताए। भारत नेपालका अपांगता भएकाहरुका लागि सहयोग गर्न इच्छुक रहेको बताउँदै राजदूत पुरीले संस्थाहरुले वास्तविक उत्पीडितको लागि निःशुल्क वितरण गरिएका यी खुट्टा प्रविधिक हिसाबले समेत उचित रहेको बताए। ‘प्रयोग गर्न सजिलो छ र मर्मत गर्न पनि सजिलो छ,’ उनले भने। वक्ताहरुले कृत्रिम खुट्टाले अपांगता भएकाहरुलाई सामाजिक आत्मसम्मान, हिंड्नको लागि खुट्टा र कमाइ गर्नको लागि साथ मिल्ने बताए। कार्यक्रममा डिआर मेहेता, सतिष मेहताले सो सहयोग केवल मानवताको लागि रहेको जनाए।

प्रकाशित: ३० पुस २०७५ ०३:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App