१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

खेलक्षेत्रमा प्रमको चासो, पदाधिकारीसँग कार्यविवरण माग

काठमाडौं– राष्ट्रिय खेलकुद परिषद्को संरक्षकसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली खेलकुदको समस्यालाई हल गर्ने किसिमको काम गर्न सरोकारवाला खेलपदाधिकारीलाई निर्देशन दिएका छन् ।

प्रधानमन्त्री ओलीले आफ्नै निवास बालुवाटारमा शनिबार युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष पीताम्बर तिम्सिना र सदस्यसचिव केशवकुमार विष्टलाई बोलाउँदै खेलकुद क्षेत्रमा पछिल्ला समय देखिएको समस्या समाधानप्रति ध्यान दिन निर्देशन गरेका हुन् ।

राखेपको सरंक्षकसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाली खेलकुदमा भएका प्रगति, समस्या र बेथितिबारे जानकारी लिएका थिए । खेलक्षेत्रका पछिल्ला गतिविधिबारे आफू पूर्णरूपमा जानकार रहेको बताउँदै आठौं राष्ट्रिय खेलकुद, संघबीचका विवाद र संघमा भएका अनियमितताका बारेमा छिट्टै रिपोर्ट पेस गर्न निर्देशन दिएका हुन् । राखेपका उपाध्यक्ष तिम्सिनाले  प्रधानमन्त्रीले एक्कासि बोलाउनुभएकाले रिपोर्टसहित प्रस्तुत हुन नसकेको बताउँदै मौखिक रूपमा जानकारी दिएको उल्लेख गरे ।

‘प्रमले आठौं राष्ट्रिय खेलकुद, नेपालमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र केही संघमा भएका समस्याका बारेमा चासो व्यक्त गर्नुभयो ।’ 

‘प्रधानमन्त्रीले एक्कासि बोलाउनुभयो । त्यसैले हामी रिपोर्टसहित प्रस्तुत हुन सकेनौं, उपाध्यक्ष तिम्सिनाले भने, ‘पछिल्ला समय खेलकुदमा भएको कार्यविवरणबारे जानकारी लिन खोज्नुभएको रहेछ । हामीले मौखिक रूपमा मात्र दियौं । तर, प्रधानमन्त्रीले हप्ता–दश दिनभित्र कागजी रूपमै कार्यविवरण प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।’

प्रधानमन्त्रीले ओलीले नेपालगन्जमा हुने आठौं राष्ट्रिय खेलकुदको तयारीबारे पनि चासो व्यक्त गरेका थिए । राखेपका उपाध्यक्ष तिम्सिनाले आठौं खेलकुदका बारेमा प्रधानमन्त्रीले चासो व्यक्त गर्नुभएको पुष्टि गर्दै भने ‘प्रधानमन्त्रीले आठौंको तयारी कहाँसम्म पुग्यो सोध्नु भएको हो । साथै संघमा भएका विवाद र अनियमितताका बारेमा जानकारी लिनु भएको थियो । ’ 

‘प्रधानमन्त्रीले खेल संघको विवादका क्रममा फुटबल संघका बारेमा पनि सोध्नुभयो,‘ सदस्यसचिवले एन्फाका वर्तमान अध्यक्ष कर्माछिरिङ पक्षलाई पत्र काटेको र जबाफ आएपछि आवश्यकताअनुरूप कारबाही प्रक्रिया अगाडि बढाउने बताउनुभएको थियो,’ राखेपका उपाध्यक्ष पीताम्बरले भने, ‘प्रमले खेलाडीको वृत्तिविकास, आठौंको पुनर्निर्माण,  खेलकुदको डिपिआरसहित १० दिनभित्र प्रस्तुत गर्न निर्देशन दिनुभएको छ ।’

एन्फाका चार जिल्लाका अध्यक्षले एन्फा निर्वाचनको क्रममा भ्रस्टाचार भएको दाबी गर्दै सार्वजनिक गरेको टेप रेकर्डबारे इंगित गर्दै राखेपका उपाध्यक्ष तिम्सिनाले भने, ‘प्रमुखले खेलकुद क्षेत्रमा भएको भ्रष्टाचारको बारे पनि लिखित रिपोर्ट माग्नुभएको छ । उहाँले हामीले हप्ता–दश दिनको समय दिनुभएको छ ।’

सदस्यसचिव विष्टले पनि प्रधानमन्त्रीले समग्र खेलकुद गतिविधिका बारेमा चासो व्यक्त गर्नु उत्प्रेरणाको माध्यम भएको बताउँदै आठौं राष्ट्रिय खेलकुद, नेपालमा तय भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) र केही संघमा भएका समस्याका बारेमा चासो व्यक्त गर्नुभएको उल्लेख गरेका थिए । 

‘उहाँले आठौं र साग तयारीबारे सोध्नुभयो । साथै बजेट अभावबारे चिन्ता नलिनु पनि भन्नुभएको छ,’ सदस्यसचिव विष्टले भने,‘बजेट अभावका कारण खेलकुदमा कुनै समस्या नपर्ने र प्रतियोगिता रोकिँदैन भन्नुभयो ।’ 

प्रकाशित: ३० पुस २०७५ ०३:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App