१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

उद्यमी बन्दै मकवानपुरका किशोरी


मकवानपुर - गाउँमा गठित किशोरी समूहलाई घुम्ती कोषका लागि रकम उपलब्ध गराइएपछि किशोरीहरु उत्साही भएका छन्। किशोरी समूहलाई घुम्ती कोषका लागि एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएपछि किशोरीहरु योजना निर्माणमा लागेका छन्।

पूर्वी मकवानपुरको बकैया गाउँपालिका–७ स्थित रक्षा उज्वल किशोरी समूहकी अध्यक्ष सृजना लामिछानेले आत्मबल बढेको बताइन्। ‘हामीलाई कार्यक्रम र तालिमले उत्साह थपेको थियो,’ उनले भनिन्, ‘घुम्ती कोषका लागि पाएको रकमले भविष्यका लागि काम गर्ने योजना बनाउँदै छौं।’ स्थानीय जनक माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत १४ वर्षिया ममता राईले समूहले बोल्न र हिंसाबाट जोगिन आत्मबल बढेको बताउँदै बचतसँगै ज्ञानसीप वृद्धि भएको बताइन्।

मकवानपुरमा मात्र होइन काभ्रेको बेथानचोक, सिन्धुलीको ज्यामिरे, नुवाकोटको कुवरी र ललितपुरको गिम्दीका किशोरी पनि स्वरोजगारमूलक काम गर्ने तयारी गर्दैछन्। पाँच जिल्लाका पाँच किशोरी समूहलाई घुम्ती कोषका लागि एक–एक लाख रुपैयाँ प्रदान गरिएपछि उत्साह छाएको रक्षा नेपालकी अध्यक्ष मेनुका थापाले बताइन्। ‘किशोरी समूहलाई बीऊ पुँजीका रुपमा दिएको एक लाखबाट एक वर्षमा १० लाख कमाउने अपेक्षा गरेका छौं,’ उनले भनिन्, ‘छोरी–चेलीलाई आत्मनिर्भर र सक्षम बनाउन उनीहरुलाई गाउँमै कमाउन सक्ने बनाउँछौं।’ सन् २०३० सम्म बालबिबाह र बालश्रममुक्त देश बनाउने सरकारको घोषणालाई किशोरी समूहको कार्यले टेवा दिने बताउँदै उनले समाजमा व्याप्त बालबिबाह, महिला बेचबिखन र हिंशा न्यूनीकरण गर्न किशोरी समूहले भूमिका खेल्ने बताइन्।

प्रत्येक समूहमा सामाजिक, आर्थिक रुपमा पछाडि परेका १३ देखि २२ वर्षसम्मका २५ किशोरी आबद्ध रहेको रक्षा नेपालका कार्यक्रम निर्देशक रत्नकाजी बज्राचार्यले बताए। उनका अनुसार किशोरी समूहमा पिछडिएको, आदिवासी जनजाति, दलित, गरिब, सिमान्तकृत, जोखिमयुक्त, शारिरीक रुपमा अपांग, एकल आमा वा बाबुको छोरीलाई प्राथमिकता दिइएको छ।

तीन वर्षे किशोरी कार्यक्रमको मुख्य उद्देश्य सबै किशोरीलाई उद्यमी बनाउने रहेको संस्थाले जनाएको छ। संस्थाका अनुसार हाल १५ किशोरीले ब्युटीपार्लर, १० किशोरीले सिलाइ र १२ किशोरीले कुखुरा, बाख्रापालन गरिरहेका छन् भने आर्थिक विपन्न किशोरीलाई कलेज तथा विद्यालय पढाउन सहयोग गरिरहेको छ। बकैया गाउँपालिका–७ का वडा सदस्य किशोर थापा मगर, स्थानीय जनक माध्यमिक विद्यालयका प्रधानाध्यापक धर्मप्रसाद दाहाल लगायतले घुम्ती कोषले किशोरीमा आत्मबल बढाउँदै लगेको बताए। किशोरीलाई सचेत र आत्मनिर्भर बनाउन स्थानीय तहले पनि सहयोगी भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए। यसैबीच, रक्षा उज्वल किशोरी समूहमा आबद्ध सबै २५ किशोरीलाई न्यानो कपडा पनि वितरण गरिएको छ।

प्रकाशित: २९ पुस २०७५ ०७:२९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App