१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

आजबाट पुनः टिकट बुकिङ

काठमाडौं- उपत्यकाका टिकट काउन्टरमा बिहानैदेखि यात्रुको भिड लाग्छ। दसैंको लागि उपत्यका बाहिर जाने यात्रु दैनिक जसो काउन्टरमा पुग्ने गर्छन्। बिहानैदेखि काउन्टरमा पुगेर दिनभर बस्दा पनि टिकट भने पाउन सकेका छैनन्।

राजधानीको नयाँबसपार्क, सुन्धारा, कंलकी, कोटेश्वर, गौशाला, पुरानो बसपार्कस्थित टिकट काउन्टर सबै ठाउँमा उस्तै देखिन्छ। यात्रुको गुनासो समेत एउटै छ, 'बसको टिकटै पाइएन।'

नयाँ बसपार्कमा भेटिएका गुल्मीका धन अधिकारीले पनि टिकट नपाएको गुनासो गरे। अधिकारी टिकट पाउने आसमा ६ बजे बसपार्क पुगे पनि दिउँसोसम्म टिकट नपाएपछि निरास अनुहारमा टोलाइरहेका थिए। टिकट नपाएर अधिकारीजस्तै टोलाउने सर्वसाधारण बसपार्कमा प्रसस्त थिए। नयाँ बसपार्कमा मात्र नभएर अन्य टिकट काउन्टरमा पनि अवस्था उस्तै थियो।

गौशालामा भेटिएका राजु गैरे बुटवल जाने टिकट नपाएपछि निरास थिए। 'बिहानै आएको काउन्टरले टिकट छैन् भन्छ, दिन्छ कि भनेर कुरिरहेको छु,'  गैरेले सुनाए, 'बितेका वर्षमा पाउँदै नपाउने हुँदैनथ्यो।'

बिगतमा भन्दा यस वर्ष टिकट नपाएको गुनासो अत्यधिक आइरहेको प्रहरी सहायता कक्षमा बसेकाहरू बताउँछन्।

असोज ७ मा खुलेको टिकटको अग्रीम बुकिङ २२ गतेसम्मका लागि सकिइसकेको छ। सरकारले सिट क्षमताभन्दा बढी यात्रु हाल्न नपाउने नियम बनाएपछि यातायात व्यवसायीले बस नथपेकाले समस्या बढेको हो। दसैंमा सिट क्षमताभन्दा दोब्बर यात्रु बोकी जोखिमपूर्ण रुपमा बस गुडाउँदै आएका व्यवसायी सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाएपछि बस नथपेको बताउँदै आएका छन्। सरकारले एकतर्फी भाडा दिनुपर्ने तथा सिट क्षमताभन्दा बढी यात्रु हाल्न पाउनुपर्ने अडान व्यवसायीको छ।

दसैंभर उपत्यकाबाट करिब २५ लाख यात्रु बाहिरिन्छन्। अग्रीम बुकिङ सकिँदा आधा यात्रुले मात्रै टिकट पाएका छन्। टिकट नपाएको गुनासो आएसँगै सरकारले निजी विद्यालय, सेना, प्रहरीका गाडीबाट यात्रु पठाउने आइतबार निर्णय गरेको थियो। सरकारी निर्णयसँगै व्यवसायी लचिलो भएर गाडी थप्ने निर्णय गरेका छन्। यातायात व्यवस्था विभागका अनुसार बस थपेर भए पनि यात्रु गन्तव्यमा पुराउने प्रतिबद्धता व्यवसायीले जनाएका छन्। यसपछि विद्यालय तथा सेना र प्रहरीका गाडी नचलाउने विभागले बतायो।

विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठले सोमबारबाट टिकट लिन आउने सबै यात्रुले टिकट पाउने दाबी गरे। 'सोमबार सबै यात्रुले टिकट पाउँछन्,' उनले भने, 'व्यवसायीले प्रतिबद्धता जनाए अनुसार टिकट बाँडेनन् भने विद्यालय तथा सेना र प्रहरीका गाडी चलाएरै भए पनि घर जाने यात्रुलाई पुर्‍याउन सरकार तयार छ।' टिकट नपाएर कुनै यात्रु घर जान नरोकिने श्रेेष्ठको भनाइ छ।

प्रकाशित: १७ आश्विन २०७३ ०२:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App