१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

अस्ट्रेलियाको विजयी सुरुआत

सिड्नी –  जेई रिचर्डसनको उत्कृष्ट बलिङप्रेरित अस्ट्रेलियाले शनिबार पहिलो एकदिवसीय क्रिकेटमा भारतलाई ३४ रनले पराजित गरेको छ। ओपनर रोहित शर्माले शतक पूरा गरे पनि अस्ट्रेलियाले प्रस्तुत गरेको २ सय ८९ रनको लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय ५४ रन मात्र जोड्न सक्यो। विश्वकप विजेता अस्ट्रेलियाले २०१७ पछि खेलेको २० एकदिवसीय खेलमा यो मात्र चौथो जित हो।

जितसँगै अस्ट्रेलियाले ३ एकदिवसीय खेलको शृंखलामा १–० को अग्रता लिएको छ।यसअघि दुई ट्वान्टी–२० खेलको शृंखला १–१ को बराबरीमा सकिएको थियो। ४ टेस्टको शृंखला भने अस्ट्रेलियाले २–१ ले गुमाएको थियो। पहिलो ओभरको अन्तिम बलमा जसन बेरेन्डफले ओपनर शिखर धवनलाई एलबिडब्लुको शिकार बनाउँदै भारतलाई पहिलो झड्का दिएका थिए। धवनलाई गुमाएपछि दबाबमा आएको भारतले सम्हादिन नपाउँदै कप्तान विराट कोहली र अम्बती रायडुलाई पनि गुमायो। कोहली चौथो ओभरको तेस्रो बलमा रिचर्डसनले मार्कस स्टोनिसबाट क्याच थिए।

सोही ओभरको पाँचाैं बलमा रायडुलाई एलबिडब्लुको शिकार बनाएका थिए। ४ रनमा ३ विकेट गुमाएको स्थितीमा ब्याटिङ गर्न आएका शर्माले महेन्द्रसिंह धोनीसँग चौथो  विकेटका लागि १ सय ३८ रनको साझेदारी गर्दै भारतलाई जितको आशा दिलाएका थिए। शर्माले १ सय २९ बलमा १० चौका र ६ छक्का मद्दतमा १ सय ३३ रनको योगदान गरेका थिए।

धोनीले ९६ बलको सामना गर्दै ३ चौका र १ छक्का मद्दतमा ५१ रन जोडे । ३३ औं ओभरमा धोनी पवेलियन फर्किएपछि भारत पुनः एक पटक दबाबमा आएको थियो। शार्माले पाँचौं विकेटका लागि दिनेश कार्तिकसँग ३५ र छैटौं विकेटका लागि रविन्द्र जडेजासँग ३७ रनको साझेदारी गर्दै भारतको इनिङ अघि बढाउने संकेत गरेका थिए।

तर ४६औं ओभरको चौथो बलमा शर्मालाई स्टोनिसले ग्लेन म्याक्सवेलबाट क्याच गराएपछि खेल अस्ट्रेलियाको पक्षमा ढल्किएको थियो। त्यस्तै भुवनेश्वर कुमारले अविजित २९ रन बनाए पनि टोलीको हार भने टार्न सकेनन्। अस्ट्रेलियाका रिचर्डसनले ४ तथा स्टोनिस र बेरेन्डफले समान २ विकेट विकेट लिएका थिए।

यसअघि टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाले निर्धारित ५० ओभरमा ५ विकेट गुमाउँदै २ सय ८८ रनको योगफल तयार पारेको थियो। ओपनर तथा कप्तान एरोन फेन्चलाई ८ रन जोड्दा गुमाएको अस्ट्रेलियाले ४१ रन जोड्दा अर्का ओपनर एलेक्स क्रेलाई गुमाएको थियो।

तेस्रो विकेटका लागि उस्मान ख्वाजा र सन मार्सले ९२ रनको साझेदारी गर्दै अस्ट्रेलियाको इनिङ उकासेका थिए। ८१ बलको सामना गरेका ख्वाजाले ६ चौका मद्दतमा ५९ रनको योगदान गरे भने मार्सले ७० बलमा ४ चौका मद्दतमा ४ रन जोडे।

पिटर ह्यान्ड्सकम्ब र स्टोनिसले पाँचौं विकेटका लागि ६८ रनको साझेदारी गर्दै अस्ट्रेलियालाई सम्मानजनक स्कोरतर्फ अघि बढाएका थिए। ह्यान्ड्सकम्बले ६१ बलमा ६ चौका र २ छक्का मद्दतमा ७३ रन जोड्दा स्टोनिसले ४३ बलको सामना गर्दै २ चौका र २ छक्का मद्दतमा ४७ रनको योगदान गरे।

प्रकाशित: २९ पुस २०७५ ०४:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App