१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा. केसीको समर्थनमा र्‍याली

डा. गोविन्द केसीको समर्थनमा शनिबार इलाम सदरमुकाममा निकालिएको र्‍यालीपछि आयोजित कोणसभा। तस्बिर : भीम/नागरिक

इलाम - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका वरिष्ठ चिकित्सक डा. गोविन्द केसी अनसनमा बसेको चौथो दिनसम्म पनि सरकार र संसद्को ध्यानाकर्षण हुन सकेको छैन। चिकित्सा शिक्षामा सुधारलगायत माग राखेर १६औं पटक अनसन बसेका केसी र उनको अभियानका अभियन्तासँग सरकारका मन्त्री र संसद्का पदाधिकारी कसैले सम्पर्क गरेका छैनन्। केसीको मुख्य माग पूर्वसहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन जारी गर्नुपर्ने छ।

डा. केसीले माग पूरा नभएसम्म सत्याग्रहबाट पछि नहट्ने बताएका छन्। ‘माग सम्बोधन नभएसम्म म सत्याग्रहबाट डगमगाउने छैन,’ केसीलाई उद्धृत गर्दै उनको अभियानमा आबद्ध धर्म गौतमले भने। गौतमका अनुसार अहिलेसम्म सरकारी पक्षबाट डा. केसीको सत्याग्रहबारे सोधखोज भएको छैन। उनले भने, ‘सबै चुप छन्। संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेयता सरकार र संसदीय तहमा जे भइरहेको छ त्यसबारे डा. केसीले विभिन्न माध्यमबाट सूचना लिइरहनुभएको छ। उहाँलाई सत्याग्रह छाडेर वार्तामा आउन वा माग पूरा गर्ने सम्बन्धमा कसैले सम्पर्क गरेको छैन। माग पूरा हुने विश्वासका साथ सत्याग्रह जारी छ।’ पूर्वसहमतिविपरीत संसदीय समितिले चिकित्सा शिक्षा विधेयक पारित गरेपछि केसी अनसनमा बसेका हुन्।

सत्याग्रहको चौथो दिनसम्म आइपुग्दा डा. केसी निकै कमजोर देखिएको चिकित्सकले बताएका छन्। चिकित्सकका अनुसार शनिबार उनी उठेर बस्नसमेत सकेनन्। उनको शनिबार बिहान पनि स्वास्थ्य परीक्षण गरियो। स्वास्थ्य परीक्षण गर्ने चिकित्सक रामकृष्ण आचार्यका स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि डा. केसीलाई शनिबार मिडियाकर्मीलगायत अरू कसैसँग कुराकानी गर्न दिइएको छैन। ‘शुक्रबारसम्म डा.केसी विभिन्न व्यक्तिसँग कुराकानी गर्न सक्नुहुन्थ्यो,’ चिकित्सक आचार्यले भने, ‘तर आज (शनिबार) देखि उहाँलाई उठेर बस्न र बोल्नसमेत कठिन भएको छ।’

भुइँमा बसेका केसीलाई अहिले खाटमा राखिएको छ। केसीको रक्तचाप र रगतमा ग्लुकोजको मात्रा घट्दै गएको छ। ‘उहाँको रोगसँग लड्ने क्षमता कम भएको छ,’ आचार्यले भने, ‘ग्लुकोज घटेर शरीर शिथिल भएकै कारण उहाँ बोल्दासमेत पसिना आउन थालेको छ।’

केसीको अभियानमा समर्थन जनाउँदै शनिबार पनि इलामवासीले र्‍याली र कोणसभा गरे। केसीको सत्याग्रहस्थल फूलगाछीबाट चोकबजार, मालापथ भएर र्‍याली पुनः चोकबजार आई कोणसभामा परिणत भयोे। कोणसभामा पत्रकार केदार शर्माले डा. केसीले उठाएका माग पूरा गराउन नागरिक खबरदारी र दबाब आवश्यक रहेको बताए। ‘डा. केसीले स्वास्थ्य क्षेत्रको मात्र होइन देशका अन्य क्षेत्रको पनि बेथितिलाई पनि मुद्दा बनाउनुभएको छ,’ शर्माले भने, ‘सर्वसाधारणको हितका लागि भोकै बसेर अन्दोलन गर्ने डा.केसीको अभियानलाई सचेत व्यक्तिले साथ दिनुपर्छ।’

यसअघि १५औं अनसनका बेला साउन १० मा सरकारसँग भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक ल्याउनुपर्ने डा. केसीको माग छ। सहमतिविपरीत संसद्को शिक्षा तथा स्वास्थ्य समितिले विधेयक पारित गरेपछि बुधबारदेखि ६ बुँदे माग राखेर केसीले इलामको फूलगाछीस्थित निजी घरमा सत्याग्रह थालेका हुन्।

प्रकाशित: २९ पुस २०७५ ०२:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App