१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पदाधिकारीकै निजी कलेज

काठमाडौं - कृषि तथा वन विश्वविद्यालयका पदाधिकारीको लगानी र संलग्नतामा निजी कलेज सञ्चालनमा रहेको पाइएको छ। पदाधिकारीले आफ्नो लगानीका कलेजमा बढी ध्यान दिने भएकाले विश्वविद्यालय विवादको भुमरीमा पर्नुका साथै शैक्षिक गतिविधि खस्कँदै गएको छ। जसको फाइदा तिनै पदाधिकारीका निजी कलेजहरुलाई भएको छ।

शिक्षक तथा विद्यार्थीले पदाधिकारीबाट भएका विभिन्न नीतिगत त्रुटि सच्याउन र विश्वविद्यालयलाई गुणस्तरीय बनाउन पटकपटक आन्दोलन गर्दै आएका छन् तर तिनै पदाधिकारी विश्वविद्यालयको हितभन्दा पनि आफूले सञ्चालन गरेका निजी कलेज उकास्ने ध्याउन्नमा छन्। पदाधिकारी मर्यादामा नबस्नुु, राजनीतिक दबाब र आर्थिक चलखेल बढ्दै जानुले विश्वविद्यालय तहसनहस हुने अवस्थामा पुगेको छ। विभिन्न विवादका कारण पछिल्लोपटक विश्वविद्यालय २ महिनादेखि ठप्पजस्तै छ।

नागरिकलाई प्राप्त जानकारीअनुसार विश्वविद्यालयका रजिस्ट्रार प्राध्यापक मनराज कोलाक्षपति काठमाडौं कलंकीमा रहेको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्सेस एन्ड टेक्नोलोजी (हिकास्ट) का संस्थापक सदस्य हुन्। हिकास्ट पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सन् २००० मा स्थापना भएको हो। कलेजको वेबसाइटअनुसार संस्थापक सदस्यमा रजिष्ट्रार कोलाक्षपतिको नाम २ नम्बरमा छ। यसैगरी सोही कलेजको संस्थापक सदस्यमा विश्वविद्यालयका अर्का पदाधिकारी पनि छन्। विश्वविद्यालयको अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक प्राध्यापक नवराज देवकोटा पनि हिकास्टका संस्थापक बोर्ड सदस्य हुन्। उनको नाम बोर्डमा ४ नम्बरमा छ। उनी २०६८ सालमा चितवनमा स्थापित नेपाल पोलिटेक्निक इनस्टिच्युट (एनपिआई) का पनि संस्थापक तथा सेयर होल्डर रहेको स्रोतको दाबी छ। विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल पनि एनपिआईको बोर्ड सदस्य हुन्। तर उपकुलपति भएपछि विवाद आउने भन्दै उनको नाम एनपिआई बोर्ड सदस्यबाट हटाइएको एनपिआई सम्बद्ध स्रोतले बतायो।

सरकारी सिध्याउने निजी कलेज पोस्ने गिरोह सक्रिय

विश्वविद्यालय जैविक प्रविधि केन्द्रका निर्देशक तथा विश्वविद्यालय सभा सदस्यसमेत रहेका सहप्राध्यापक ईश्वरीप्रसाद कडरियाका अनुसार कृषि तथा वन विज्ञान अध्ययन संस्थान त्रिभुवन विश्वविद्यालयअन्तर्गत हुँदा तत्कालीन शिक्षक तथा पदाधिकारीकै संलग्नतामा एनपिआई र हिकास्ट खुलेका हुन्। ‘ प्राध्यापक डा. डिल्लीराम बराल पनि हिकास्टका संस्थापकमध्ये एक हुन्। दुई वर्षअघि उहाँको डिनको पदावधि सकिएको हो। उहाँ अझै पनि हिकास्ट बोर्ड सदस्य हुनुहुन्छ,’ निर्देशक कडरियाले नागरिकसँग भने, ‘उहाँले त्यहींबेला निजी कलेजका लागि विभिन्न प्रोजेक्ट ल्याउने अनि डिन हुँदा पनि विश्वविद्यालयको स्रोतसाधन हिकास्टमा प्रयोग गर्नुहुन्थ्यो।’ उनले अगाडि थपे, ‘कृषि तथा वन विश्वविद्यालयका शिक्षक तथा पदाधिकारीकै निजी कलेज छन्। उहाँहरूले जागिर सरकारीमा खाएर पनि निजी कलेजमा ध्यान केन्द्रित गर्नुभयो।’ उनका अनुसार शिक्षक तथा पदाधिकारीले कृषि तथा वन विश्वविद्यालयलाई समय दिनुपर्नेमा निजी कलेजलाई च्यापेकै कारण विश्वविद्यालय धरासयी बन्दै गएको हो।हिकास्टका अध्यक्ष प्राध्यापक विनायक राजभण्डारी र सदस्य प्राध्यापक निरजनारायण जोशी पनि त्रिविकै प्राध्यापक हुन्। हाल पनि उराजभण्डारी र जोशी हिकास्टमा सम्बद्ध रहेको जानकारी कडरियाले दिए।

ढकालले विगतमा आफू एनपिआई कलेजको संस्थापक सदस्य भए पनि उपकुलपति भएपछि त्यसको बोर्डबाट हटेको बताए। ‘हाम्रो विश्वविद्यालय ऐनमै विश्वविद्यालयका पदाधिकारी तथा शिक्षकहरु निजी कलेजको प्रमुख पदमा बस्न नमिल्ने व्यवस्था छ। यो पदाधिकारी तथा शिक्षकले बुफ्नुपर्छ,’ उपकुलपति ढकालले भने, ‘मैले उपकुलपति भएलगत्तै एनपिआई कलेज बोर्डबाट मेरो नाम हटाउन लगाएँ। मैले रजिष्ट्रार मनराज कोलाक्षपति र अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक नवराज देवकोटालाई पटकपटक सचेत गराउँदै आएको छु। विश्वविद्यालयका पदाधिकारीले विश्वविद्यायको नियमकानुन अनुसारै चल्नुपर्छ।’

विश्वविद्यालयसँग अनुमति नलिईकनै शिक्षकहरु निजी कलेजमा पठनपाठन पनि संलग्न रहेको पाइएको छ। विश्वविद्यालय प्रशासनका अनुसार विश्लविद्यालयको रामपुरस्थित कृषि क्याम्पसका शिक्षकहरु विशाल श्रेष्ठ, हिमाल लुइँटेल, सुमन ढकाल र उदीपप्रसाद सिग्देलले बिनाअनुमति एनपिआई कलेजमा पठनपाठन गराउँदै आएका छन्। डिन जयप्रकाश दत्तले विश्वविद्यालयको अनुमतिबेगर कुनै पनि शिक्षकले अन्य कलेजमा पढाउन नमिल्ने बताए। ‘अनुमतिबिना निजी कलेजमा पढाउने सरहरुलाई पटकपटक सचेत गराइरहेका छौं,’ उनले भने, ‘ तर उहाँहरु अझै नियमभित्र आउनुभएको छैन।’

निजी कलेजमा पदाधिकारीको सेयर
कृषि तथा वन विश्वविद्यालय कृषि संकायका सहायक डिन कल्याणी मिश्र, अनुसन्धान तथा प्रसार निर्देशनालयका निर्देशक नवराज देवकोटा, पशु विज्ञानका सहायक डिन मातृका जमरकटेल, पोस्ट ग्राजुएट संयोजक डा. भूमिनन्द देवकोटाको एनपिआई कलेजमा सेयर लगानी छ। उपकुलपति ढकालको पनि एनपिआईमा सेयर छ। ‘पदाधिकारी पदीय मर्यादामा नबस्नु, राजनीतिक दबाबमा पर्नु तथा पदाधिकारी र निजी कलेजबीचको आर्थिक चलखेलले विश्वविद्यालयलाई तहसनहस बनायो,’ कडरियाले भने, ‘निजी कलेज पोस्ने गिरोह सरकारी विश्वविद्यालय, कलेज सिध्याउने खेलमा लागेको छ।’

प्रकाशित: २९ पुस २०७५ ०१:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App