१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

एनआरएनको ९ औं विश्व सम्मेलन आगामी अक्टोबरमा

काठमाडाैँ - गैर आवासीय नेपाली संघ (एनआरएन)को विश्व सम्मेलन आगामी अक्टोबरमा आयोजना हुन लागेको छ। संघको ९ औं विश्व सम्मेलन आगामी अक्टोबर १३ देखि १६ सम्म आयोजना हुने भएको हो।

संघको वार्षिक समिक्षा एवं आगामी रणनीति तय गर्न  शुक्रबार काठमाडौँमा आयोजित अन्तराष्ट्रिय समन्वय समितिको बैठकमा उक्त विश्व सम्मेलन आयोजनाको विषयमा निर्णय भएको संघका प्रवक्ता भूषण घिमिरे बताए। उनले भने,‘ बैठकले आगामी अक्टोबर १३ देखि १६ सम्म काठमाडौँमा विश्व सम्मेलन गर्ने निर्णय गरेको हो।’ उनका अनुसार बैठकमा सन् २०१८ मा संघले गरेका विविध कार्यक्रमको समिक्षा समेत गरिएको थियो। यसैबीच बैठकले बहुप्रतिक्षित गोरखाको लारपाकमा निर्माणाधिन एकीकृत वस्तीको निर्माण सम्पन्न गरी आगामी बैशाख १२ मा हस्तान्तरण गर्ने निर्णय समेत गरेको छ। त्यसैगरी जनकपूरको जानकी मन्दिरमा विद्युतीय उपकरण जडान गर्ने योजना अन्तिम चरणमा रहेकोबारे बैठकमा जानकारी गराइएको प्रवक्ता घिमिरेले बताए।

उनका अनुसार नेपालमा आर्थिक लगानीसँगै ज्ञान सीप र प्रविधि भित्र्याउने, उज्यालो नेपाल परियोजनालाई तीव्रता दिइने, नेपाल सरकारले आयोजना गर्ने लगानी सम्मेलनमा सहकार्य गर्ने, नेपालका हाइड्राेपावरमा लगानी गर्ने, एक सय मिलियन डलरको लगानी नेपालमा भित्र्याउने योजनालाई मूर्त रुप दिने, कृषिमा आधुनिकिकरण एवं बजारीकरणका लागि नेपाल सरकारसँग समन्वय गर्दै अघि बढ्ने लगायतका रणनीति तय गरिएको छ।  बैठकमा संघलाई आर्थिक रुपमा कसरी सबल बनाउने भन्ने सम्बन्धमा गहन रुपमा छलफल गरिएको थियो।  यस्तै गैरआवासीय अन्तराष्ट्रिय पत्रकारिता पुरस्कारका लागि छनोट कमिटी बनाउने निर्णय समेत बैठकले गरेको छ।

बैठकमा  विभिन्न संघका विभिन्न समितिहरुले आ आफ्नो वार्षीक कार्य प्रगति पेश गरेका थिए।  बैठकमा  अध्यक्ष भवन भट्ट, उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, कोषाध्यक्ष सपिला भण्डारी,  क्षेत्रिय संयोजक, उपसंयोजक, आइसीसी सदस्यहरु, सल्लाहकारहरु, अनररी काउन्सिल सदस्य लगायतको  प्रत्यक्ष र करिब सय जनाले अनलाइन मार्फत सहभागिता जनाएका थिए।

प्रकाशित: २८ पुस २०७५ ०४:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App