१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

दही पर्यटन

दुई वर्षअगाडि २०७३ पुसमा भक्तपुर घुम्न आएका चिनियाँ कम्युनिस्ट पार्टीका प्रचार विभाग प्रमुखलाई तत्कालीन नेपाल मजदुर किसान पार्टीका सभासद् प्रेम सुवालले सगुनको रूपमा दहीको कतारो दिँदै फेरि भक्तपुर भ्रमणमा आउन निम्तो दिए।

चिनियाले मात्र होइन, विश्वभरका पर्यटकले त्यो निम्तो स्वीकारेजस्तो देखिन्छ। आर्थिक वर्ष २०७३–७४ मा भक्तपुरमा एक लाख ८१ हजार पर्यटक आएकोमा आर्थिक वर्ष २०७४–७५ मा आउने पर्यटकको संख्या दुई लाख २७ हजार पुगेको छ। अझ २०७५ को आर्थिक वर्षको ५ महिनामा मात्र एक लाख १५ हजारभन्दा बढी पर्यटक भक्तपुर आइसकेको तथ्यांकले देखाउँछ।

भक्तपुरवासीले सगुन र शुभ संकेतको रूपमा लिने जुजु धौ लाई लिन्छन्। दही मन पराउने पर्यटकमा चिनियाँ पहिलो स्थानमा छन् भने भारतीय दोस्रोमा। आर्थिक वर्ष २०७४–७५ मा आएका दुई लाख पर्यटकमध्ये एक लाखको हाराहारीमा यी दुवै देशका रहेका छन्। भक्तपुरस्थित हाडा कोल्ड स्टोरका अनुज हाडा चिनियाँ पर्यटकले दही औधि मन पराउने बताउँछन्। पर्यटकले दही खाने मात्र नभएर त्यसको सेल्फी खिँच्ने र आफ्ना सोसल मिडियामा पोस्ट गर्ने गरेका छन्। जसका कारण दही खाने पर्यटकको संख्या बढ्दै गएको उनको बुझाई छ।

चीनमा दही राम्रो नहुने भएकाले उनीहरूले मन पराएको उनको बुझाइ छ। अध्ययन सिलसिलामा चीन रहँदा आफूले त्यहाँ दही बनाएको तर नेपालको जति मीठो नभएको उनले सुनाए। ‘दहीका लागि हावापानी पनि सुहाउँदो हुनुपर्दो रहेछ,’ उनले भने, ‘सायद भक्तपुरको हावापानी दही अनुकूल भएको हो कि ?’ विश्व प्रसिद्ध गाइड बुक लोनली प्लानेटमा पनि जुजु धौबारे उल्लेख छ।

‘यहाँको दहीबारे विश्वका विभिन्न भाषामा खबर प्रकाशित छन्,’ उनले भने, ‘यहाँ आएपछि मात्र होइन, आउनुअगावै धेरैले दहीबारे जानकारी लिइसकेको पाइएको छ।’ त्यसमा चिनिया बढी छन्। त्यस्तै भारतीय पर्यटक आफ्नै देशमा पनि दही रुचाउने तथा यहाँ आएर दही खादा थप उत्साहित  हुने गरेको व्यवसायी सुनाउँछन्। भक्तपुर घुम्न आएका विशिष्ट अतिथिलाई कतारोमा राखेको जुजु धौ उपहार समेत दिने गरिन्छ। यहाँका कला–संस्कृति र सम्पदासँगै जुजु धौको पनि चर्चा हुन्छ।

जुजु धौको इतिहास
संस्कृतविद् ओम धौमडेल लिच्छविकालदेखि नै जुजु धौै बन्न थालेको र मल्लकालमा लोकप्रिय भएको सुनाउँछन्। ‘जुजु धौै कसले राम्रो बनाउने भनेर प्रतिस्पर्धा समेत हुने गरेको पाइयो। कतिपयले त टोकरीमा समेत दही जमाउँथे भन्ने किंवदन्ती छ,’ उनले भने, ‘यसले दही कति बाक्लो भन्ने प्रमाणित गथ्र्यो।’ जन्मदेखि मृत्युसम्मका संस्कारमा चाहिने दही यहाँको सभ्यता र संस्कृतिसँग गाँसिएको दहीले पर्यटनमा पनि सहयोग पुर्‍याएकोमा उनी खुसी व्यक्त गर्छन्।

किन मिठो ?
भक्तपुर सूर्यविनायकस्थित अजिमा दही भण्डार सञ्चालक गणेशकुमार न्याखुसी दही बनाउने परम्परागत तरिका, यहाँको हावापानी र दूधको गुणस्तरमा सम्झौता नगरिएकाले जुजु धौै लोकप्रिय भएको बताउँछन्। दही बनाउने परम्परागत तरिका अझै कायम रहेको उनले सुनाए।

प्रकाशित: २८ पुस २०७५ ०२:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App