१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

प्रिन्सलाई दोहोरो उपाधि

काठमाडौं – नेपालका प्रिन्स दाहालले राष्ट्रपति कप जुनियर अन्तर्राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा शुक्रबार दोहोरो उपाधि जितेका छन्। मोरङको सहिद रंगशालाको कभर्डहलमा भएको ब्वाइज एकल यु–१५ र यु–१९ दुवैतर्फको फाइनलमा जित निकाल्दै प्रिन्सले दोहोरो उपाधि जितेका हुन्।

दुबई इन्टरनेसनल ब्याडमिन्टन सिरिजको विजेतासमेत रहेका प्रिन्सले पछिल्लो समय उत्कृष्ट लयमा छन्। मोरङ जिल्ला ब्याडमिन्टन संघको आयोजनामा भएको प्रतियोगिताको यु–१५ को फाइनलमा म्यानमारका ज लिन टुले चुनौती प्रस्तुत गरे पनि प्रिन्सले २–१ को सेटमा समाप्त पारेका थिए।

प्रिन्सले पहिलो सेट २१–१५ ले जिते पनि दोस्रो सेटमा टुले २१–१७ ले पुनरागमन गरेका थिए। तर, तेस्रो सेट २१–९ ले जित्दै प्रिन्सले उपाधि सुरक्षित गरेका थिए। प्रिन्सले यु–१९ तर्फ भने नेपालका प्रफुल महर्जनलाई २१–८, २१–१० ले सहजै हराउँदै प्रतियोगितामा दोहोरो उपाधि जित्न सफल भएका हुन्।

जितपछि खुसि व्यक्त गर्दै प्रिन्सले भने ‘ओलम्पिक खेल्ने मेरो ठूलो सपना छ। त्यसका लागि मिहिनत गर्नुपर्र्नेछ। कडा परिश्रम पनि गर्नेछु। साथै मलाई यहाँसम्म पुर्याउन सहयोग गर्ने प्रायोजक रमेश शेर्पा दाई धन्यवाद दिन चाहन्छु।

नेपालकै जेसिका गुरुङले पनि दोहोरो उपाधि जित्न सफल भइन्। जेसिकाले गल्र्स यु–१९ को सिंगल्स र डबल्स दुवैमा उपाधि जित्न सफल भएकी हुन्। जेसिकाले एकलको फाइनलमा नेपालकै रसिला महर्जनमाथि २४–२२ र २१–१४ को जित निकाल्दै पहिलो उपाधि जितेकी थिइन्। डबल्समा भने जेसिकाले रसिलासँगै मिलेर सीमा राजवंशी र निता लम्साललाई २१–१२ र २१–३ ले हराउँदै दोहोरो उपाधि हात पार्न सफल भएकी हुन्।

डबल्ससँगै रसिलाले सिंगल्समा पनि सफलता हात पार्दै दोहोरो उपाधि जितेकी हुन्। रसिलाले यु–१५ तर्फको फाइनलमा नेपालकै स्मृति राईलाई २१–७ र २१–३ ले हराउँदै दोहोरो उपाधि जितेका हुन्। यु–१९ उमेर समूहको ब्वाइज डबल्समा नेपालका प्रफुल र रुकेश महर्जनको जोडीले फाइनलमा म्यानमारका ज लिन टु र थु रेइनलाई ३–१ को सेटमा स्तब्ध बनाएका थिए। प्रफुल र रुकेसको जोडीले फाइनलमा लिन र रेइनको जोडीलाई १९–२१, २१–१७ र २१–१८ ले पराजित गरेका थिए।

प्रकाशित: २८ पुस २०७५ ००:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App