१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

पिंकाथन फागुनको दोस्रो साता

फाइल फाेटाे

काठमाडौं – पिंकाथन काठमाडौंको तेस्रो संस्करण फागुन दोस्रो साता हुने भएको छ। भारतको मुम्बईबाट २०१२ मा सुरु भएको पिंकाथन २०१७ बाट काठमाडौंमा पनि हुन थालेको थियो। लिजर पोर्टको आयोजनामा हुने प्रतियोगिता फागुन ११ मा हुने शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको थियो।

प्रतियोगिताको पहिलो संस्करण दशरथ रंगशालामा भएको थियो भने दोस्रो संस्करण महाराजगञ्जस्थित प्रहरी प्रशिक्षण केन्द्रमा भएको थियो। प्रतियोगिता यसपाली कहाँ गर्ने तय भइनसकेको पिंकाथनको नेपालका लागि फ्रेन्चाइज लिएको लिजर पोर्टका प्रमुख नमराज जोशीले बताए।

‘दशरथ रंगशाला पुनर्निर्माणका लागि भत्काइएको अवस्थामा छ। गत वर्ष हामीले प्रतियोगिता प्रहरी प्रशिक्षण केन्द्रमा गरे पनि यसपटक त्यहाँ पनि प्रतियोगिता संचालन हुने निश्चित छैन। हामीले काठमाडौं उपत्यकामै अरु एक–दुईवटा ठाउँ हेरिरहेका छौं,’ जोशीले पत्रकार सम्मेलनमा भने, ‘हामी एक–दुई दिनमै प्रतियोगिता स्थलको टुंगो लगाउनेछौं’।’

कार्यक्रम स्थलको टुंगो लागेपछि रुट नापेर सबै स्पर्धाको रुट पनि तय गरिने कार्यक्रममा जानकारी गराइयो। स्तन क्यान्सरबारे जनचेतना जगाउने उद्देश्यले हुन लागेको प्रतियोगिताअन्तर्गत ४ विधामा प्रतिस्पर्धा हुनेछ। महिलाको मात्र सहभागिता रहने पिंकाथनअन्तर्गत २१ किलोमिटर, १० किलोमिटर, ५ किलोमिटर र ३ किलोमिटरमा प्रतिस्पर्धा हुनेछ।

३ र ५ किलोमिटर प्रतिस्पर्धात्मक विधा होइनन्। १० र २१ किलोमिटरमा भने व्यवसायिक खेलाडीको सहभागिता रहनेछ। २१ किलोमिटरको हाफ म्याराथन विजेताले ५१ हजार, दोस्रो हुनेले ३१ हजार र तेस्रो हुनेले २१ हजार रुपैयाँ नगद पुरस्कार पाउनेछन्। १० किलोमिटरको विजेताले ३१ हजार रुपैयाँ पाउँदा उपविजेताले २१ तथा तेस्रो हुनेले ११ हजार रुपैयाँ पाउने जानकारी गराइयो।

यसपटक ५ किमीको विजेताले पनि ११ हजार नगद हात पार्नेछन्। ओलम्पियन रघु वन्तले राष्ट्रिय कीर्तिमानमा सुधार गर्ने प्रत्येक खेलाडीलाई सुधार गरेको प्रतिसेकेन्ड १ हजार रुपैयाँका दरले पुरस्कार दिने घोषणा गरेका छन्। पिंकाथन अभियानका मुख्य अभियन्ता भारतीय सुपरमोडल मिलिन्द सोमनले महिलालाई उनीहरूको स्वास्थ्यप्रति जागरूक गराउने उद्देश्यका साथ पिंकाथन सुरु गरिएको बताए।

‘महिलाहरूमा धेरै जिम्मेवारी हुन्छ। घर सम्हाल्नेदेखि लिएर जागिर खाने वा व्यवसाय गर्नेसम्मका सबै जिम्मेवारी लिने महिलाहरूले आफ्नो स्वास्थ्यप्रति भने खासै चासो राखेको पाइन्नँ,’ मिलिन्दले भने, ‘हामी महिलाहरूको जीवनशैली परिवर्तन भएको र आफ्नो स्वास्थप्रति सचेत भएको हेर्न चाहन्छौं।’

नेपालमा पिंकाथन भित्र्याउने जोशीले नेपालको अवस्थामा महिला जागरण थप आवश्यक रहेको प्रतिक्रिया दिए। ‘यस्तो कार्यक्रम गर्नु निकै चुनौतीपूर्ण थियो। तर अब काठमाडौं प्रतियोगिताका लागि पहिलो अन्तर्राष्ट्रिय गन्तव्य बनिसकेको छ,’ जोशीले भने, ‘यो एउटा दौड प्रतियोगिता मात्र होइन। यो प्रतियोगिताले समाजमा धेरै महत्वपूर्ण सन्देश प्रवाह गर्छ। पहिलो र दोस्रो संस्करणमा महिलाले जनाएको उल्लेख्य सहभागीताले हाम्रो हौसला बढेको छ। यसपटक ५ हजार महिला प्रतियोगितामा सहभागी हुने हामीले विश्वास लिएका छौ।’ प्रतियोगिताको पहिलो र दोस्रो संस्करणको २१ किलोमिटरको हाफ म्याराथनको उपाधि कान्छीमाया कोजुले जितेकी थिइन्।

प्रकाशित: २८ पुस २०७५ ००:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App