१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘माघी’मा थारू परिकार

हिन्दु समाजमा माघे संक्रान्तिलाई विशेष पर्वको रूपमा मनाउने प्रचलन छ। विभिन्न जातजातिअनुसार भिन्न तौरतरिकाले  माघ १ गते माघे संक्रान्तिलाई मनाउने गरेको पाइन्छ। माघ १ गते काठमाडौंका थारू समुदायहरू टुडिँखेलमा जम्मा भई नाचगान गरी विभिन्न परिकारहरू खाएर एकापसमा शुभकामना आदान–प्रदान गरेर मनाउँछन्। थारू जातिका भेषभूषामा सजिएर, विभिन्न थारू परिकारहरू खाई नयाँ वर्षको रूपमा मनाउँने माघी पर्वको बिशेषता थारू परिकारले समेत बढाएको पाइन्छ। पछिल्ला वर्षयता माघी महोत्सवमा थारू परिकार चाख्न कै लागि भए पनि अन्य समुदायका मानिसहरू जाने गरेको पाइन्छ।

थारू परिकारहरू चाख्न आउँने मात्र नभएर थारू संस्कृतिमा रमाउँनेको संख्या बढेको बताउँछन्  बडघर रेष्टुरेन्टका सञ्चालक मंगल चौधरी।  बर्दियादेखि अध्यनको लागि आएका मंंगल डिग्री पछि व्यापार गर्ने सोचमा थिए। व्यापार गर्ने क्रममा अन्योलमा रहेका मंगल सिताराम चौधरी –भिनाजुसँग मिलेर थारू रेष्टुरेन्ट सञ्चालन गर्न थालेका हुन्। किर्तीपुर पाँगास्थित बडघर रेष्टुरेन्ट सञ्चालनमा आएको ९ महिना भैसकेको छ। उनी भन्छन्, ‘बिशेष थारूका परिकारहरू हामी कहाँ पाइन्छ, माघीको समयमा मात्र नभएर हरेक समयमा थारू परिकारको बारेमा अन्य जातिले पनि थाहा पाउन्, सांस्कृतिक प्रचार होस् भन्ने उद्देश्यले बडघर रेष्टुरेन्ट सञ्चालन गरेका हाैँ।’ थारू समुदायको पहिचानलाई उजागर गर्नको लागि थारू समुदायको हस्तकला, संस्कृतिक संरक्षण र संवद्र्धन गर्नको लागि बडघर रेष्टुरेन्टमा मिनी म्युजियम राखिएको छ।

थारू भाषामा ‘बडघर’ शब्दको अर्थ अगुवा भन्ने बुझिन्छ, गाँउमा सबैले मान्यगन्ने मुखिया नै बर्गर  हो। थारू जातिको फरक स्वाद बोकेको एक मात्र रेष्टुरेन्ट रहेको उनले बताए। बडघरमा प्रत्येक महिनाको अन्तिम शनिबार ‘ठुम्रार साहित्यिक बखेरी’ कार्यक्रम सञ्चालन गर्ने उनी बताउँछन्। ‘हामी थारू समुदायको संस्कृतिक आदान–प्रदान, एक आपसमा अन्तरक्रिया, देशैभरिका थारू समुदायको जमघट गर्ने थलोको रूपमा बडघरमा साहित्यिक कार्यक्रम चलाउँदै आएका हौ,’ उनले भने।

माघी बिशेष थारू परिकारहरू
ढिक्री
ढिक्री थारू समुदायको परिकारहरू मध्य बिशेष परिकार मानिन्छ। चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर तयार पारिन्छ। ढिक्रीलाई मःम लाई जस्तै स्टिम गरेर बनाइन्छ। थारूको मौलिक परिकारको रूपमा ढिक्रीलाई थारूको बिशेष समारोहहरूमा अनिवार्य जस्तै राखिने चौधरी बताउँछन्। थारू समुदायले मान्ने पर्वहरू, बिवाह ब्रतबन्धलगायत शुभ कार्य तथा उत्सवहरूमा ढिक्रीको पुजा समेत गरेको पाइन्छ। ढिक्री बनाउनको लागि थारूका पौराणिक माटाको भाडा र ढकियाको प्रयोग गरिन्छ। सामान्यतया चामलको पिठोको मात्र प्रयोग गरेर बनाउँने ढिक्री हिजोआज चामलको पिठोमा विभिन्न ड्राई फुडको प्रयोग गरेर बनाउँने प्रचलनको सुरूवात भैसकेको पाइन्छ।

घोँगी
थारू समुदायको निकै लोकप्रिय खानाको परिकार हो, घोँगी। घोँगी जलचर जीव हो। घोँगी बिषेशगरी खेत, पोखरी, तलाउलगायत पानी जम्ने ठाउँमा पाइन्छ। रेष्टुरेन्टमा बनाइने घोँगीका परिकारहरू बिशेष तराईबाट नै मगाइने व्यापारी बताउँछन्। थारू समुदायमा पानीमा पाइने प्राणीहरूको निकै प्रयोग गरेको पाइन्छ। थारू समुदायमा घोँगीको परिकारको छुट्टै महत्व रहेको छ। घोँगीमा प्रयाप्त मात्रामा प्रोटिन हुने भएकाले बिभिन्न प्रकारका शारिरीक पिडाबाट राहत दिने मान्यता रहेको पाइन्छ। बडघर रेष्टुरेन्टमा ग्राहकले प्रायः घोँगी नै मगाउँने उनी मंगल चौधरी बताउँछन्। घोँगीलाई पकाउँने तरिका अन्य भन्दा निकै फरक रहेको उनले बताए। घोँगी बनाउँन निकै मेहेनत गर्नु पर्ने उनी बताउँछन्। उनी भन्छन्, ‘घोँगीलाई सफ गर्न समय लाग्छ, हिलोमा बस्ने भएकाले निकै ध्यानपूर्वक सफा गर्नुपर्छ, सफा गर्ने तरिका ठाँउ अनुसार फरक हुन्छ।’ सफा गरेको घोँगीलाई सुप र ग्रेभी गरि दुई तरिकाले पकाउन सकिन्छ। घोँगी पकाउँनेदेखि खाने तरिका समेत फरक छ। घोँगीको सुप र मासुबाट  शरिरलाई आवश्यक भिटामीन पाइन्छ। तयार भएको घोँगीलाई विस्तारै सासले तान्दै ‐चुसेर) खाइन्छ। प्रति प्लेट घोँगीको ६० रूपैया पर्ने मंगल बताउँछन्।

गेटा (गंगटो)
थारू भाषामा गंगटोलाई गेटा भनिन्छ। गेटा (गंगटो)को खानाको परिकार थारू समुदायमा निकै नै प्रसिद्ध छ। गेटा (गंगटो) लाई पकाउने तरिका अन्य भन्दा फरक छ। गेटा (गंगटो)लाई संग्लै पकाइन्छ। थरीथरी थारू मरमसला राखेर बनाइएको गेटा (गंगटो) निकै आकर्षक देखिन्छ। गेटा (गंगटो) लाई फ्राइ तरिकाले बनाइएको बढी रूचाइने व्यापारी बताउँछन्। फ्राई र सुप दुवै तरिकाले पकाएर गेटा (गंगटो) अचार, चटनी संग खाने चलन छ। गेटा (गंगटो)मा लसुन र प्याजको मात्रा राख्नु पर्ने उनी बताउँछन्। सेतो रगत भएको जीव गेटा (गंगटो) हाम्रो शरिरको लागि निकै लाभदायी मानिन्छ।

बैरिक चटनी
बैरिक चटनी अर्थात जंगली बयरको चटनी। जंगली बयरबाट तयार पारिएको हुन्छ। थारूको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ। नुनिलो, अमीलो, गुलीयो र पिरोको मात्रा अलीक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ। ढिक्रीसंग खाइने परिकार मध्य बैरिक चटनी बिशेष हो। बैरिक चटनी बनाउँन पाकेर रातो भएको बयरको प्रयोग गरिन्छ। बयरबाट बनाइएको चटनी भएका कारण यो चिप्लो र गुलीयो हुन्छ। जंगली बयरलाई उमालेर विभिन्न मरमसला राखी बयरक चटनी तयार गरिन्छ।

मछ्छी (माछा)
थारू समुदायमा माछाको परिकारहरू निकै रूचाइन्छ। ठुला माछा देखी साना सिद्रा मान्छाको परिकारहरू प्रसिद्ध छन् थारू परिकारमा। हिले माछा अनई देखि सुकेको साना सिद्राहरूको थरीथरीको परिकार बनाइन्छ। माछाका परिकारहरूमा रगत बढाउँनेदेखि मेरूदण्ड र जोर्नी दुखेको ठीक पार्ने जन विश्वास रहेको पाइन्छ। माछाको झोल, ग्रेभी मात्र नभएर सुकाएर सुकुटिको बिभिन्न परिकारहरू पनि बनाएर खान सकिने व्यापारी बताउँछन्। माछाको चटनी, तरकारी, फ्राई गरि थरीथरीका परिकारहरूको निकै माग हुने उनी अनुभव सुनाउँछन्।

बंगुरको सेकुवा
थारू समुदायमा बंगुरको सेकुवा निकै लोकप्रिय छ। बंगुरबाट तयार पारिने अन्य परिकार भन्दा सेकुवालाई बिशेष मानिन्छ। सेकुवालाई बिशेष सितनको रूपमा खाने गरिन्छ। बंगुरको मासुलाई उमालेर खुर्सानी र मसला राखि तयार गरिएको सेकुवा निकै रूचाइएको पाइन्छ। डिप फ्राइड सेकुवासंग अन्य खानेकुरा खान सकिन्छ। बंगुर सेकुवा अन्य खानाको परिकार संग पनि खान मिल्ने व्यापारी बताउँछन्।

सुतही
सुतही एक प्रकारको पानीमा पाइने जीव हो। सुतहीको भित्री भाग खाइन्छ।  यसको बनावट अन्य जलचर भन्दा फरक हुन्छ। बाहिरी भाग भने निकै कडा हुन्छ। भित्री भाग लाई खानाको परिकारको रूपमा खाइने सुतही स्वास्थ्यको लागि निकै फाईदा हुने व्यापारी मंगल बताउँछन्। सुतही बनाउने तरिका पनि फरक रहेको छ। सुतहीलाई उसिनेर तयार गरिन्छ। सुतहीको मासु निकै स्वादिलो हुन्छ। ‘चिसो मौसममा सुतही खादा शरिरलाई न्यानो हुने उनी बताउँछन्।

घरैया मदिरा
घरैया दारू यानकी लोकल दारू माघीको समयमा निकै महत्व राख्ने व्यापारी बताउँछन्। छबुवा (छ्याङ), लोकल रक्सीलाई भोज भतेरमा अनिवार्य रूपमा प्रयोग गरिने चौधरी बताउँछन्। अनधी तथा लोकल चामलबाट तयार पारीने हुँदा चिसो मौसममा शरिरको लागि फाइदा हुने मान्यता रहेको उनले बताए। ‘शरिरको लागि जे कुरा पनि धेरै भयो भने हानीकारक नै हुन्छ, तसर्थ आफुलाई हानी नहुने गरी खानु स्वास्थ्यको लागि राम्रै मानिन्छ,’ उनले भने।

प्रकाशित: २७ पुस २०७५ ०४:५८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App